बङ्गलादेशका अन्तरिम सरकार प्रमुख युनुसले भ्रष्टाचार मुद्दामा पाए सफाइ


काठमाडौं ।

बङ्गलादेशका अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन्। बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले युनुसविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो।

अन्तरिम सरकार गठन हुनुभन्दा एक दिनअघि नै श्रम कानुन उल्लङ्घनसम्बन्धी मुद्दामा युनुसलाई सफाइ दिइएको थियो । त्यस्तै सरकारकी सल्लाहकार नूरजहाँ बेगम पनि भ्रष्टाचार मुद्दामा सफाइ पाएकी छन्। बङ्गलादेशी पत्रिका डेली स्टारका अनुसार भ्रष्टाचार विरोधी आयोगले ढाका अदालतमा दायर गरेको उजुरी फिर्ता लिएको हो। 

मोहम्मद युनुसलाई ग्रामीण टेलिकमको अध्यक्ष हुँदा श्रम कानुन उल्लङ्घन गरेको आरोप लागेको थियो । युनुस बाहेक, ग्रामीण टेलिकमका निर्देशक अशरफुल हसन, मोहम्मद शाहजहान र वर्तमान अन्तरिम सरकारका सदस्य नूरजहाँ बेगमलाई पनि श्रम कानुन उल्लङ्घन गरेको आरोप लागेको थियो। 

यसै वर्ष जनवरीमा यस प्रकरणका सबै अभियुक्तलाई ६ महिना कैद र २० हजार जरिवाना सुनाइएको थियो।त्यस्तै गत जुनमा युनुससहित अन्य १३ जनालाई ३० करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको थियो। यस मुद्दामा पनि युनुसले सफाइ पाएका छन् ।