बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु


एजेन्सी ।

बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वर नाथको मन्दिरमा अचानक भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना महिला समेत रहेका छन्। यो दुर्घटनामा ३५ श्रद्धालु घाइते भएका छन्।

हाल जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको छ र मृतकको सङ्ख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न भक्तजनको भीड लाग्ने गर्दछ। भागदौड राति भएको हो। दुर्घटनाको जानकारी दिँदै घाइतेहरूलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

जेहानाबादका प्रहरी निरीक्षकले ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् जबकि ३५ जनाभन्दा बढी घाइते भएको बताइएको छ । घाइतेहरूको स्थानीय मखदुमपुर र सदर अस्पतालमा उपचार भइरहेको छ । भागदौडमा आफ्नी एक महिला आफन्तको मृत्यु भएको एक व्यक्तिले बताएका छन् ।

‘प्रशासनको लापरबाहीका कारण यस्तो भएको हो । त्यहाँ उपस्थित मानिसहरूले मलाई भने कि प्रशासनले सुरक्षाको लागि राष्ट्रिय क्याडेट कोरका मानिसहरूलाई तैनाथ गरेको थियो र उनीहरूले भक्तहरूमाथि लाठीहरू प्रयोग गरे। जसका कारण मानिसहरू दौडन थालेका थिए भने केही लडेका थिए। यो नितान्त प्रशासनको दोष हो’ उनले भने।

साउनको समयमा यस मन्दिरमा भक्तजनको ठुलो भीड हुन्छ। यहाँ टाढा टाढाबाट मानिसहरू आउँछन्। आज साउनको सोमबार यहाँ धेरै मानिस पूजा गर्न आएका थिए र यो दुर्घटना भएको हो।