शुभ संकेत देखाऊ


दिउँसोको संकेत बिहानीले गर्छ भनेजस्तै वर्तमान सरकारले आगामी दिनमा के कसरी काम गर्छ भन्ने कुराको संकेत वर्तमान सरकारका तत्कालका गतिविधिले नै प्रस्ट पार्छ। सरकार जुन रफ्तारमा जनताका जनजीविकाका सवाललाई स्थापित गर्ने गरी अगाडि बढ्नुपथ्र्यो त्यो रफ्तारमा खासै अघि बढ्न सकेको देखिँदैन।

यद्यपि सरकारको समीक्षा गर्न यसको हनिमुन समय (१ सय दिन) सम्म कुर्नुपर्छ। तैपनि सरकार गठन भएको झन्डै एक महिना पुग्नै लाग्दा सरकारका कामकारबाही उत्साजनक र आक्रामक बन्न सकेका छैनन्। अहिले बजारमा महँगीले सर्वसाधारण जनता आक्रान्त छन्। दुःखजिलो गरेर खानेलाई बिहान–बेलुकीको जोहो गर्न नै कठिन भइरहेको छ। सरकारी संयन्त्रले प्रभावकारी अनुगमन गर्न नसक्दा कालोबजारी मौलाइरहेको छ। नयाँ सरकारले मुलुकमा वास्तविक र जनताको सरकार रहेको अनुभूति आमजनतालाई दिलाउन सकेको छैन।

दुःखका साथ भन्नुपर्छ कि जनतालाई राहत दिने, सरकार भएको अनुभूति दिलाउने विषय शासकहरुको उच्च प्राथमिकतामा कहिल्यै पनि परेन । त्यसैले पनि होला, सर्वसाधारणले कहिल्यै पनि देशमा आफ्नो सरकार भएको अनुभूति गर्नै पाएका छैनन्। उल्टो सामान्य नागरिकहरु त मुलुकमा सरकार नै नभएको जस्तो अनुभूति गर्न विवश छन्। वर्तमान सरकारले आमजनताको यस्तो विवशता बुझ्ने कोशिश गर्ला कि नगर्ला ? त्यो त आगामी दिनमा उसले गर्ने काम र व्यवहारबाट प्रस्ट हुने नै छ। अहिले देशको अवस्था हेर्ने हो भने चारैतिर विकृति बढेको बढ्यै छ। बिरामी हुँदा सुलभ स्वास्थ्य सेवा र औषधि पाउनबाट आमनागरिक वञ्चित छन्। स्वास्थ्य सेवामा मौलाएको माफियातन्त्रले नागरिकहरु आक्रान्त त छँदै छन्, उपचार अभावमा अकाल मृत्युवरण गर्नसमेत बाध्य छन्।

यस्तै शिक्षा क्षेत्रसमेत माफियाको कब्जामा नै रहेको र सरकारी शिक्षा निकै कमजोर भएकाले आमनागरिक दुःखजिलो गरेरै भए पनि आफ्ना बालबच्चालाई बोर्डिङ स्कुलमा पढाउन बाध्य छन्। शिक्षा क्षेत्रमा वार्षिक अर्बौं रुपियाँ लगानी भए पनि त्यसको प्रतिफल आमनागरिकले पाउन सकेका छैनन् । जनताको करको सही सदुपयोगसमेत हुन सकिरहेको छैन। यस्तै मुलुकमा नयाँ उद्योगहरु स्थापना हुन सकेका छैनन्। भएका कैयौँ उद्योगहरु बन्द भएका छन्। त्यस्तै कैयौँ उद्योग अहिले खण्डहर अवस्थामा रहेको देख्दा पनि शासकहरुको मन कहिल्यै चसक्क हुँदैन।

सरकारी उद्योगहरुलाई बन्द गराएर केही व्यापारीलाई मात्रै पोस्ने काम विगतमा गरिएको थियो । विशेष गरी लोकतन्त्र आएपछि जनताको लागि राजनीति गर्छौं भन्ने नालायकहरुले नै सरकारी उद्योगलाई ध्वस्त पारेका हुन् । यसका कारण हामीकहाँ रोजगारी पनि खोसिएको छ भने उद्योगमा परनिर्भर हुनुपर्ने अवस्था बढेर गएको छ।

हामीकहाँ उत्पादन हुने वस्तुहरु पनि अहिले भारतलगायतका देशबाट आयात गर्नुपर्ने दुःखदायी अवस्था छ । निर्यातमा हामी निकै कमजोर छौँ । त्यसैले पनि व्यापार घाटा अत्यधिक चुलिँदै गइरहेको छ। जता हेर्‍यो त्यतै विकृति नै विकृति देखिन्छ। रोजगारीको अभावमा लाखौँ युवाहरु विदेशिने क्रम जारी छ। यस्ता तमाम खाले समस्या र जनताका जनजीविकाका सवालमा वर्तमान सरकार संवेदनशील भई त्यस्ता समस्या समाधान गर्ने किसिमले लाग्नुपर्छ । सरकारले शुरुवाती चरणमा नै जनहितका प्रभावकारी कार्यक्रम घोषणा गरी शुभ संकेत देखाउन ढिलाइ गर्नुहुँदैन ।