मिडियाले समाजमा रहेका गलत कुरालाई बाहिर ल्याउनुपर्छ : पूर्वमन्त्री चौधरी


सुनसरी । 

पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य भगवती चौधरीले सञ्चारमाध्यमले समाजमा रहेका गलत कुरालाई बाहिर ल्याउनुपर्ने बताएकी छन् । 

सुनसरीस्थित बराह क्षेत्र मिडिया प्रा.ली.को चौथो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन् । सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद चौधरीले सूचना तथा प्रविधिको कारणले आज विश्व एउटै गाउँ जस्तो बनेको बताउँदै त्यसलाई सही रूपमा प्रयोग गर्न सक्नुपर्ने बताइन् । 

उनले सूचना प्रविधिको प्रयोग गरेर कतिपय व्यक्तिहरूले अस्वस्थ प्रतिस्पर्धा समेत गर्ने गरेको भन्दै त्यस्ता कुरालाई भने निरुत्साहित गर्नुपर्ने बताइन् । ‘कतिपय मान्छेहरू अस्वस्थ प्रतिस्पर्धामा गइरहेका छन् । जसका कारण राम्रा काम गर्नेहरू ओझेलमा पनि परेका छन्’, उनले भनिन्, ‘मिडियाले राम्रो कुरालाई उजागर गर्ने र बेथितिलाई बाहिर ल्याएर गलत काम गर्ने व्यक्तिलाई कठघरामा ल्याउने काम गर्नुपर्छ ।गलत काम गर्नेलाई सजाय दिलाउन सक्ने सम्मको काम तपाईँहरूको मिडियाले गर्न सक्छ ।’

बेथितिलाई बाहिर ल्याएर राम्रा कुराको प्रोत्साहन गर्नेगरी काम गर्न उनले आग्रह गरिन् । २०४९/५० मा ६ महिना आफूले पनि रेडियो नेपालमा काम गरेको स्मरण गर्दै उनले मिडियाका विषयमा आफूलाई पनि केही कुरा जानकारी रहेको बताइन् ।

‘यसमा राम्रो कुराहरू पनि छन् । केही चुनौतीहरू पनि छन् । ती चुनौतीलाई पार गर्दै गयौँ भने पक्कै पनि हामी सफल हुनेछौँ’, उनले भनिन् ।

अर्को प्रसङ्गमा पूर्वमन्त्री चौधरीले मन्त्रीहरू अस्थायी हुने भएकाले कतिपय कामहरू चाहेर पनि गर्न सक्ने अवस्था नरहने बताइन् । ‘हामी राजनीतिकर्मीहरू सांसद हुन्छौ । कहिलेकाहीँ मन्त्री बन्ने अवसर पनि आउँछ । तर त्यो स्थायी नहुने रहेछ । १/२ महिना मात्रै काम गर्ने पनि हुन्छ’, पूर्वमन्त्री चौधरीले भनिन्, ‘तर स्थानीय सरकार पाँच वर्षका लागि स्थायी सरकार हो । तर, यसमा हामीले काम गर्न सकिन्छ ।’ 

उनले सबै निकायले पनि सबै मिडिया बाँच्ने हिसाबले सहयोग गर्न आवश्यक रहेको समेत बताइन् । ‘मिडिया हरेक ठाउँमा चाहिन्छ । त्यसकारण हामीले व्यावसायिक रूपमा काम गर्न सकिन्छ । हामीले हाम्रो तर्फबाट पनि पहल गर्न सक्छौँ’,  उनले भनिन् , ‘तर समय सन्दर्भ अनुसार मिडियाले पनि आफूलाई परिवर्तन ल्याउन आवश्यक छ । मिडिया सर्भाइभ हुनेगरी काम गर्न आवश्यक रहेको पूर्वमन्त्री चौधरीले बताए ।

यसैगरी अर्को प्रसङ्गमा उनले पौराणिक थारु समुदायको सीपलाई व्यवसायीकरण गर्न सकेमा आत्मनिर्भर बन्न सकिने बताए । ‘पौराणिक लोप हुँदै गएका चीजहरूलाई ढकी, मोनीलाई पनि हामीले अगाडि बढाउन सक्छौँ । यसले यही केही गर्न सकिन्छ भन्ने सन्देश पनि समाजमा दिन सकिन्छ ।’