बाजुराको धार्मिक पर्यटकीय स्थल बूढीनन्दाको महिमा

168
Shares

बाजुराको प्रसिद्ध शक्ति स्वरुपिणी बूढीनन्दा माताको यो वर्षको मेला यही श्रावणको अन्तिम सातादेखि शुरु हुँदै छ। प्रत्येक वर्ष भाद्र शुक्लपक्ष चर्तुुदशी तिथिका दिन लाग्ने उक्त मेला भर्न सुदूर र मध्यपश्चिमका सयौँ भक्त श्रद्धालुजन बूढीनन्दा जाने गर्दछन्। पुुण्यभूमि बूढीनन्दालाई धार्मिक दृष्टिकोणले रोजेको फल पाइने र पर्यटकीय दृष्टिकोणले भू–स्वर्गको एक टुक्राका रूपमा लिन सकिन्छ। समुद्री सतहबाट १६ हजार फिट उचाइमा अवस्थित बूढीनन्दा माताको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक मान्यता रहिआएको छ । हिमालय पर्वतमा अवस्थित अलौकिक देवी ‘बूढीनन्दा माताको’ दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

आस्था, भरोसा, शक्ति स्वरुपिणी देवी बूढीनन्दा माताको दर्शन गर्न यो वर्ष भाद्र ३ गते जनै पूर्णिमाको दिन जुरेको छ । तीर्थालुु भक्तजनहरु यात्राको क्रममा यो मंगल श्लोक गाउने अर्छन् :
वारिउदाकी खेतीबेती पारिउदाकी विनी ।
ऐले माई बूढीनन्दा क्याउ बर दिन्नी ।

यस श्लोक (माङ्गल) अनुसार १६ हजार फिट उचाइमा अवस्थित बूढीनन्दा माईको नेजारबाट तल हेर्दा वारिपट्टि खेतीपाती गरेझैँ समथर भूमि, पारिपट्टि हेर्दा बिनी (धौलीबगर) जो सानो खोला तर दूध बगेझैँ कलकल बगिरहेको धौलीबगर देखिन्छ । धर्तीको एक टुक्रा स्वर्गझैँ मनमोहक छ । त्यही धर्तीलाई स्वर्गको टुक्रा सम्झेर भक्तजन श्रद्धालुहरू माङ्गल भजन गाउँदै एकत्रित मनले बूढीनन्दा माताको दर्शन गर्न जान्छन् । यात्रा स्मरणमा सुन्दर २२ पाटन, धार्मिक एवं पर्यटकीय महत्वका साथै गोठालाले गरेका स्वागत र समग्रमा बूढीनन्दा माताको महिमामा वर्णन छ ।

एकत्रित मनले पवित्र देवभूमि बूढीनन्दा पुुगेपछि अविवाहितले वरवधुू पाउने, निःसन्तानले सन्तान, निर्धनीले धन र अशिक्षितले शिक्षा प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । शक्ति स्वरुपिणी आराध्य देवी बूढीनन्दा माताको मन्दिर बाजुराको बूढीनन्दा नगरपालिका वडा नं. ३ मा अवस्थित छ । बूढीनन्दा मन्दिर ४,५८१ मिटर उचाइमा पर्छ । सदरमुकाम मार्तडीदेखि करिब ५६ किलोमिटर दूरी छ । कोल्टीबाट करिब ३० किलोमिटर दूरी पर्छ । प्रत्यक वर्ष भाद्र शुक्लपक्ष त्रयोदशी तिथिदेखि बूढीनन्दा माताको दर्शन गर्न तीर्थालुु भक्तजन जाने गर्दछन् । यो वर्ष बूढीनन्दा नगरपालिकाले तीर्थालु भक्तजनका लागि निःशुल्क भोजनको व्यवस्था मिलाएको स्थानीय महेश कार्कीले बताए । श्रद्धालु भक्तजनलाई आवासका लागि छाप्रे पाटनमा धर्मशाला निर्माण गरिएकोले विगतमा झैँ बास बस्न पनि समस्या नहुने कार्कीले बताए ।

दुःखकष्ट गरी बूढीनन्दा माताको दर्शन गरे मागेको वर पाइन्छ भन्ने धार्मिक एवं सामाजिक मान्यता पनि छ । यस वर्षको धार्मिक तथा पर्यटकीय मेला पनि भाद्र ३ गते सम्पन्न हुनेछ । वर्षको एकपटक भाद्र शुक्लपक्षमा लाग्ने उक्त मेला भर्न बाजुरा, बझाङ, अछाम, डोटी, डडेलधुरा र कालीकोटलगायतका तीर्थालु भक्तजन जाने गर्दछन् । बूढीनन्दा माताको दर्शन गर्नाले भाकलअनुसार मागेको वर पूरा हुने विश्वास छ । एकत्रित मनले पवित्र देवभूमि बूढीनन्दा पुुगेपछि अविवाहितले वरवधूु पाउने, निःसन्तानले सन्तान, निर्धनीले धन र अशिक्षितले शिक्षा प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । भाकल पूरा भएकै कारण परापूर्वकालदेखि बूढीनन्दा माताको दर्शन गर्ने प्रचलन रहेको छ ।

सदरमुकाम मार्तडीबाट दुुई दिनको पैदल यात्रा र कोल्टीबाट एकदिन हिँडेर बूढीनन्दाको सिमकुरु पुुगिन्छ । सिमकुरुको समथर चौर, लटरमम फलेका स्याउ, जंगलका फाँट र माथि देखिने हिमचुचुराले मन लोभ्याउने गर्छ । कलकल बग्ने बूढीनन्दाको जल अनि बासुुधाराको स्नान–ध्यानले मन शान्त पार्न सकिन्छ । । त्यहाँको भूबनोट हेर्दा पहाडी उपत्यकाजस्तो लाग्छ । जहाँ वरिपरि डाँडैडाँडा र बीचमा बूढीनन्दा खोला कलकल बगरिरहेकी छिन् । चराचुरुङ्गी चिरबिर आवाजमा गीत गाइरहेका, माथि पाटनमा घोडा, भेडा लस्करै चरिरहेका दृश्यले मन प्रफुल्ल बनाउँछ । पारिपट्टि नौमूले धारा, जहाँ एकैसाथ नौ मूल कलकल बगिरहेको छ । नौ मूलमा स्नान–ध्यान गर्नाले पाप हरण हुन्छ, मन शान्ति हुन्छ, चर्मरोग निको हुने मान्यता छ ।
सिमकुरुको बासपछि भोलिपल्ट बिहान सबैरै उठेर सिमकुरुदेखि टोपी खस्ने उकालो चढ्दै अपराह्नतिर छाप्रे पाटन पुुग्न सकिन्छ।

मागल नाचगानसहित जंगलको उकालोमा रमाउँदै लादे भैँसी खर्कमा पुगेर खीर तथा अर्गानिक पुरी–तरकारी खान पाइन्छ । । गोठाला दाइहरुले दही, दूध, बुकीफूल र चुनले सजाएर राखेका परम्परागत खानाका परिकार अनि काठका ठेकी, दुन्याराले बाजुरेली संस्कार र सस्कृतिको झल्को दिन्छ । लादे छाप्रे पाटनसम्म सडक सञ्जाल जोडिएको भए बूढीनन्दाको महिमा अझै बढ्ने थियो ।

किंवदन्तीअनुसार बूढीनन्दा देवी कोल्टीको चौकीलेख छोडेर मृगको रूप धारण गरी छाप्रे ओढारमा बास बसेकी हुन् रे ! सोही मान्यताअनुसार तीर्थाटनमा गएका भक्तजनले एक रात छाप्रे ओढारमा बास बस्नै पर्ने धार्मिक मान्यता छ । त्यो स्थान कुण्डा क्षेत्रबाट आउने तीर्थालुहरूको संगमस्थल पनि हो । बेलुका सबै भक्तजनसँग भेटघाट, भलाकुसारी साटासाट हुन्छ। लगेको सातुसामाल सबैले बाँडेर खाने प्रचलनले एक–आपसमा मीत्रवत् भाव झल्किन्छ।

उता भगवान् भक्तिको आनन्द बेग्लै । भोलिपल्ट भक्तजनको लस्करसहित पाँणा पुजाराका (मुख्य मान्छे) साथमा लावालस्करसहित बुनिन्दा माताको जयजयकार गर्दै बूढीनन्दातर्फ लाग्नुपर्ने हुन्छ । पुुजारी र स्थानीय अगुवाभन्दा अघि हिँड्न पाइँदैन । जुत्ता–चप्पल त्यहीँ छाप्रे पाटन छोडर तीर्थयात्रा तय गर्नुपर्छ । अघि बढ्दै जाँदा निधारमा अक्षताझैँ टल्किने अदानचुली पाटनमा घोडा–भेडा चरिरहेको देख्दा प्रकृतिदेखि कसको पो मन नलोभिँदो हो र ! बूढीनन्दा क्षेत्रको २२ पाटन जहाँ घोडा–भेडा चरिचरन क्षेत्रका रूपमा लिइन्छ, अदानचुली पाटनबाट अत्यन्त मनोरम देखिन्छ । २२ पाटनलाई अनगिन्ती जडीबुुुटीको भण्डारका रूपमा पनि लिइन्छ । २२ पाटन अत्यन्त रमणीय र स्मरणयोग्य छ ।

हिमालका सयौँ डाँडा, नौपाखे, सातफेरे छिचोलेर चरीदह पुगिन्छ । माथि वर माग्ने डाँडामा बूढीनन्दा माताबाट चाहेको वर माग्न सांकेतिक वर मागिन्छ । तल चरीदह पुुगेर स्नान गर्नुपर्ने हुन्छ । पितृ श्राद्ध र मतवालाले जनै धारण गर्ने प्रचलन छ । अरु श्रद्धालुले स्नान गरी शुद्ध भएर मात्र बूढीनन्दाको यात्रा तय गर्नुपर्ने हुन्छ । बेलुकीको बास धौलीभ्राणमा हुने गरी दिउँसो चरीदहबाट प्रस्थान गर्नुपर्ने हुन्छ ।

शंखघण्ट फुक्दै साँझ धौलीभ्राणमा पुुगिन्छ । अद्भूत दैवीशक्ति रहेको धनभ्राण (ओढार) मा पुुग्न हाइअल्टिच्युटका कारण केही सकस पनि हुन सक्छ । आवश्यक औषधिमुलो र गुलियोपिरो बोकेर जानुपर्ने हुन्छ । करिब १५ हजार फिटमाथि अवस्थित उक्त ओढारमा सयौँ मानिस अटाउँदा देवीको अपार शक्ति महसुस हुन्छ । त्यहाँ पनि सबैले सबैलाई प्रसाद बाँड्ने प्रचलन छ । कसैको प्रसाद सकिएको भए पनि अरुबाट प्राप्त फलाहारले भोक–तिर्खा मेट्ने हुन्छ । त्यो राति मतवालाजतिको व्रतबन्ध गरिन्छ।

धौलीभ्राणको एक बासपछि भाद्र शुक्ल चतुदर्शीका बिहान बूढीनन्दा माताको दर्शन गर्न हिमपहिरो र चट्टान छिचोल्दै १६ हजार फिटमाथि बूढीनन्दा देवीको शरणमा पुुग्नुपर्छ । जहाँ रुखबिरुवा, बुट्यान केही छैन । छ त केवल हिमालका जर्जर चुचुरा, हिउँ र हत्केले बाटो । जहाँ पाणा पुजारा अघि–अघि र पछि–पछि भक्तजनहरू हुन्छन् । बूढीनन्दा माताको जयजयकार गर्दै अलौकिक संसार बूढीनन्दाको देवदह तालमा प्रवेश गर्नुपर्ने हुन्छ । जहाँ राक्षसी दह, देवदह, बूढीनन्दा ताललगायत चारवटा ताल छन् । बूढीनन्दा तालको परिक्रमा गर्न ३५ देखि ४५ मिनेट लाग्छ । तालको परिक्रमा गर्दा पाप हरण हुुने धार्मिक विश्वास रहेको छ ।

बूढीनन्दा कसरी प्रकट भइन् ?
जनप्रकाश मा.वि. कोल्टीका प्राचार्य तथा खोजकर्ता अनोजराज गिरी स्थानीय जानकारलाई उद्धृत गर्दै आफ्नो स्नातकोत्तरको शोधपत्रमा बूढीनन्दा भगवतीबारे उल्लेख गरेका छन् । उनका अनुसार कुनै समयमा कोल्टीको चौकी लेकमा भगवतीको पहिलो बास हुन्थ्यो । चौकी लेकमा देवीको बास हुँदै गर्दा पछिल्लो समयमा मान्छे गएर फोहोर गर्ने, गाईवस्तु छाडा छोड्ने गरेछन् । कुखुराको डाको सुनेर भगवती त्यहाँबाट विलय भएकी किंवदन्तीमा उनले उल्लेख गरेका छन् ।

स्थानीय शिक्षक डम्बर रोकायाका अनुसार भुलेनाबाट कुखुराको डाको सुनी लंकारी दहमा नुहाएर मृगको रूपमा भगवती भागिन् । नुरीवासी दाने र पल्लाने मृग देखेपछि सिकार गर्न मृगका पछि–पछि लागे । बेलुुकासम्म मृग नभेट्टाएपछि छाप्रे पाटनमा बास बसे । भोलिपल्ट बिहान मृग नभेटेपछि घर फर्किन थाल्दा नजिकै मृग फेरि भेटेको किंवदन्ती छ । छाप्रे पाटनबाट भागेको कस्तुरी लौरीविनायक पुुगेर विश्राम लिएको बताइन्छ । त्यसपछि सातपाखे, नौफेरे, वर माग्ने डाँडा, गाईगोठ हुँदै चरीदह पुगेको भनिन्छ । चरीदहमा स्नान गरी धौलीबगर हुंँदै बीच–बीचमा ढुंगा गडेको अहिले पनि देखिन्छ । जसले गर्दा मान्छे नहराओस् भन्ने मान्यता छ ।

बूढीनन्दा तालमा स्नान–ध्यानपछि तालको पश्चिमतिर फटकशिलामा सजाइएकी बूढीनन्दा माताको मूर्तिमा दर्शन गरिन्छ । बूढीनन्दा माताको दर्शन गरी फर्कने बेला ‘यो हिमालमा मलाई एक्लै नछोड्नू, म कसरी एक्ली बसुँला ?’ भन्ने माङ्गल सुनाउँदै आफ्नो गच्छेअनुसारको फूल, फलाहार, शंखघण्ट चढाएर फर्किने प्रचलन छ । परमधाम बूढीनन्दा स्वर्गतुल्य भूमि बूढीनन्दा क्षेत्रलाई धार्मिक एवं पर्यटकीय दृष्टिले विकास गर्न सके जिल्लाको पहिचान र आर्थिक समृद्धि ल्याउन कुनै आइतबार कुर्नुपर्दैन कि !
हियाइन शंकर दाज्यू क्याको खाना खाउँला ।
मुलुुकका फूलपाती नैवेद त्याई प पुर्‍याउँला ।
हियाइन शंकर दाज्यू एक्ली कसी रौंला ।
मुलुकका तेल घिय त्याई प पुर्‍याउँला ।
बस बैना नवदुुर्गा हियाइन शंकर ।
हियाइन शंकर दाज्यू रुखी कसरी रौंला ।
मुलुकका आल भेटी त्याई प पुुर्‍याउँला ।
मुलुकका तेल घिय त्याई प पुुर्‍याउँला ।
बस बैना नवदुुर्गा हियाइन शंकर ।
ओ हियाइन शंकर ।