शेयर बजारमा इन्साइडर ट्रेडिङको खतरा


पछिल्लो एक महिनामा नेपालको शेयर बजारमा आएको उच्च वृद्धिसँगै इन्साइडर ट्रेडिङको चर्चा निकै हुने गरेको छ । यस चर्चाले संसद्मा समेत प्रवेश पाइसकेको छ । संसद्को अर्थ समितिमा सांसदहरुले शेयर बजारमा इन्साइडर ट्रेडिङ भइरहेको र कमजोर वित्तीय अवस्था भएका कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको उनीहरुको भनाइ छ।

घटनाक्रमले पनि इन्साइडर ट्रेडिङ भइरहेको संकेत गरिरहेको छ । नियामक निकायले छानबिन नगरेसम्म यसबारे यकिनसाथ भन्न सकिँदैन । तर इन्साइडर ट्रेडिङ शेयर बजारका निम्ति घातक प्रवृत्ति हो । कुनै कम्पनीको भित्री महत्वपूर्ण जानकारी (वित्तीय नतिजा, मर्जर वा अधिग्रहण, उत्पादनको शुरुवात आदि) सार्वजनिकरूपमा उपलब्ध नहुँदै त्यसको फाइदा उठाएर कम्पनीको शेयर किनबेचलाई इन्साइडर ट्रेडिङ भनिन्छ । कुनै कम्पनीको इन्साइडर ट्रेडिङ भइरहेका बेला शेयर मूल्य बढाउने, कारोबार र मागमा वृद्धि गराउने गरिन्छ । कम्पनीको शेयर मूल्य बढाएर साधारण लगानीकर्तालाई महँगोमा बेच्ने कार्य हुन्छ । यो कार्य गैरकानुनी हो । तथापि, विश्वव्यापीरूपमा शेयर बजारमा यस्तो कार्य हुँदै आएको छ ।

नेपालजस्तो भर्खर शेयर बजारको विकास हुने क्रममा रहेको देशमा इन्साइडर ट्रेडिङबाट सर्वसाधारणलाई जोगाउनुपर्ने हुन्छ । शेयर बजारप्रति जनताको कम जानकारी रहेको, न्यून आर्थिक अवस्था भएका लगानीकर्ता र थोरै व्यक्तिले मात्रै शेयर बजारमा लगानी गरिरहेको पृष्ठभूमिमा शेयर बजारको निष्पक्षता र विश्वसनीयताका लागि इन्साइडर ट्रेडिङले आंशका जन्माउनेछ । साथै लगानीकर्ताको मस्तिष्कमा नकारात्मकताले जरो गाड्नेछ ।

शेयर बजारका ठूला खेलाडीले इन्साइडर ट्रेडिङ गर्दा साधारण लगानीकर्ताले सही मूल्यांकन गर्न सक्दैनन् र उनीहरूको लगानी जोखिममा पर्छ । यसले बजारको विश्वास र विश्वसनीयतामा नकारात्मक प्रभाव पार्छ। साथै लगानीकर्ताको मनोबल पनि घटाउँछ। कुनै कम्पनीको शेयर मूल्यमा अनपेक्षित उतार–चढाव आउँदा, बजारमा अस्थिरता बढ्दा समग्र अर्थतन्त्रका लागि हानिकारक हुन सक्छ।

इन्साइडर ट्रेडिङ गैरकानुनी भएको कारण यसमा संलग्न व्यक्तिले कानुनी कारबाहीको सामना गर्नुपर्छ। साथै यसले कम्पनीको प्रतिष्ठामा समेत गम्भीर असर पुर्‍याउन सक्छ। इन्साइडर ट्रेडिङले साधारण लगानीकर्तालाई अन्याय गर्छ, जसले नजानेर वा जानकारीको कमीका कारण गलत निर्णय लिन सक्छन् । यसले दीर्घकालीन रूपमा बजारबाट साधारण लगानीकर्तालाई बाहिर धकेल्न सक्छ ।

नेपालमा पनि इन्साइडर ट्रेडिङको खतरा बढी छ । किनकि पर्याप्त कानुन र नियमन हुन सकिरहेको छैन । नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डले यसलाई नियन्त्रण गर्न विभिन्न नियमहरू लागू गरेका छन् । तर यसबारे पूर्ण जानकारी र निगरानीको अभाव छ । नियन्त्रण गर्न नियमनकारी निकायहरूले कडा कानुनी उपायहरू अवलम्बन गर्नुपर्छ । साथै अनियमित गतिविधिको पहिचान गर्न निरन्तर निगरानी आवश्यक छ।

इन्साइडर ट्रेडिङको जोखिम र यसको कानुनी परिणामबारे साधारण लगानीकर्तालाई सचेत गराउनुपर्छ र संलग्न हुनबाट जोगिन वित्तीय चेतना जाउनुपर्र्छ। आधुनिक प्रविधिको प्रयोग गरी व्यापारको विश्लेषण र निगरानीलाई प्रभावकारी बनाउन प्रोत्साहित गर्दा अनियमित गतिविधिहरू पहिचान गर्न अनि छिटो कारबाही गर्न मद्दत पुर्‍याउँछ। इन्साइडर ट्रेडिङले देशको अर्थतन्त्र र बजारको विश्वसनीयतामा असर पु¥याउनेतर्फ सचेत रहँदै यसको नियन्त्रणमा जोड दिनु आवश्यक छ।