भुटानी शरणार्थी मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने सम्बन्धमा छलफल


काठमाडौँ। 

पछिल्लो पटक नक्कली भुटानी शरणार्थी काण्डले निकै ठूलो तहल्का मच्चाएको भएता पनि सक्कली भुटानी शरणार्थीको मुद्दा भने सेलाएर गएको देखिन्छ । भुटानले लेखेटेका नेपाली भाषी भुटानी शरणार्थीहरुमध्ये १ लाख १३ हजार ३ सय ७ जनालाई तेस्रो देशमा पुनर्स्थापना गरिएपछि भुटानी शरणार्थीको मुद्दा सेलाएर गएको हो । 

सन् २००६ देखि २०१९ सम्ममा झापा र मोरङका सातवटा शरणार्थी शिविरमा रहेका ती शरणार्थीहरुलाई अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका ८ देशमा पुनर्स्थापना गरिएको थियो । सन् २०१६ को डिसेम्बरबाट तेस्रो देश पुनर्स्थापना कार्यक्रम बन्द भएसँगै झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरेको दुईवटा शिविरमा खुम्चिएका ६ हजार ५ सय ७७ भन्दा बढी भुटानी शरणार्थीहरुको व्यवस्थापन अन्यौलता परेको हो ।

यसै सिलसिलामा शुक्रबार काठमाडौंमा भेला भएको बुद्धिजिवीहरुको बैठकले भुटानी शरणार्थी मुद्धालाई अन्तराष्ट्रियकरण गर्ने विषयमा छलफल गरेको छ । बैठकले भुटानी शरणार्थीको विषयमा भारतको भूमिका सुरुदेखि नै रहेकोले यसको समाधानका लागि नेपाल–भारत–भुटान त्रिपक्षीय वार्ताको लागि पहल गर्ने र भारतले चासो नदेखाए यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने निष्कर्ष अघि सारेको छ ।

उक्त बैठकमा भुटानी शाही सेनाका उच्च अधिकृत रहीसकेका भुटानी शरणार्थी एन बी गिरीले भुटानी शरणार्थीको न्यायका लागि संयुक्त राष्ट्रको महासभामा आवाज उठाउनुपर्ने आवश्यक्ता औँल्याए । उनले भारतको सहयोगविना यो समस्या समाधान नहुने टिप्पणी गर्दै भुटानी शरणार्थीको न्यायका लागि राष्ट्रसंघीय महासभामार्फत यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गराउन बुद्धिजिवीहरुसँग सहयोगको अपिल गर्दै भने –“ हामी भुटानी शरणार्थीहरुले आफ्नै देशमा फर्केर सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्ने हाम्रो मानवअधिकारको रक्षाका लागि नेपाल सरकारले पनि आवाज उठाइदियोस् भन्ने हाम्रो चाहना हो ।” उनले भुटानले अहिले पनि जेल जीवन काटेका राजबन्दीहरुलाई भारत छाड्ने र भारतले नेपाल ल्याएर छाड्ने क्रम जारी रहेको जानकारी दिंदै भने –“ अहिले थोरै संख्यामा भित्रिएका छन् तर शरणार्थी थपिने क्रम पूर्ण रुपमा रोकिएको भने छैन । ”   उनले शिविरमा रहेका भुटानी शरणार्थीको जन्मदर्ता, मृत्युदर्ता हुन नसकेको र पारिवारिक मिलनका लागि उनीहरुले ट्राभल डकुमेन्ट समेत पाउन नसकेको जिकिर गर्दै भने –“ हामीलाई न्याय चाहियो । ” 

एन बी गिरीले भुटानी शरणार्थीहरुको बेदना, अत्याचारविरुद्धको आक्रोश र न्यायको माग गर्दै लेखेका जनरव फिराद पुस्तक पनि हालै बजारमा आएको छ । उक्त पुस्तकमा भुटानको बारेमा महत्त्वपूर्ण जानकारीका साथै नेपाली भाषी भुटानीमाथि भएका अत्याचारहरुलाई सप्रमाण दस्तावेज गरिएको छ ।
बैठकमा बुद्धिजिवी एवं कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले भुटानी शरणार्थीप्रति हाम्रो दायित्व बाँकी नै रहेको जिकिर गर्दै भने –“नेपालमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फर्काउने, यही बसोबास गराउने वा तेस्रो देशमा पुनर्वास गराउने, त्यसका लागि हामीले त्रिपक्षीय वार्ताको प्रस्ताव राख्नैपर्छ । भारत र भुटान मानेन भने अब त ८ देशमा भुटानी शरणार्थी छन्, उनीहरुको माध्यमबाट पनि यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । ”

सन् १९९० देखि नै तत्कालीन भुटानी सरकारले साम्प्रदायिक भावनाबाट ग्रसित भई राज्यसत्तालगायत जोङ्खा समुदायहरुबाट नेपाली मूलका भुटानी नागरिकलाई शारीरिक, मानसिक एवं भौतिक आक्रमण गरी भुटानबाट लखेट्ने काम शुरु भएको हो । त्यसरी लखेटिएका लाखौंको संख्यामा भुटानीहरु भारतको बाटो हुँदै नेपालमा शरण लिन आएपछि नेपाल सरकारले झापाको बेलडाँगी, गोलधाप, खुदुनाबारी, तिमाई र मोरङको शनिश्चरे पथरीमा अस्थायी शिविर खडा गरी उनीहरुको व्यवस्थापन गर्दै आएको थियो ।