सरकारले जबरजस्ती करणी मुद्दा सम्बन्धी कानुन संशोधन गर्ने


काठमाडौँ ।

 मुख्यतयाः बलात्कारमा मुद्दामा किशोरहरु बालसुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था आए पछि सरकारले कानुन परिवर्तन गर्ने भएको छ । 

 १८ बर्ष नपुगी सहमतिमा भएका यौन सबन्ध पनि बलात्कारमा दरिने कानुनका कारण हजारौँ किशोर सुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था देखिए पछि सरकारले कानुन परिवर्तन गर्न लागेको हो । 

 
कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले जबरजस्ती करणीसँग सम्बन्धित ऐन संशोधन गर्ने जानकारी दिएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले जबरजस्ती करणी र बलात्कारसँग सम्बन्धित मुद्दाका आरोपित र दोषीहरु बालसुधार गृह र कारागारमा बढी रहेको बताए पछि सरकारले कानुन परिवर्तन गरेर जर्वजस्ती करणीको मुदालाइ बर्गिकरण गर्नु पर्नेमा जोड गरेका थिए ।

 
जवाफमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री चौरसियाले जबरजस्ती करणीसँग सम्बन्धित ऐन संशोधन गर्ने प्रतिवद्धता जनाएका हुन् ।  ‘मन मिलेर यौन सबन्ध गर्छन, भाग्छन अनि  फर्किएर समाजमा आएपछि परिवार र समाजको अवस्था हेरेर त्यसलाई बलात्कारको मुद्दामा लगिदिन्छन, अनि सुरु हुन्छ। 

 अदालतमा मुद्दा चलाउने र मन नपरेको खण्डमा फसाउने हुन्छ,’ उनले भने, ‘प्रमाण नभए पनि मुद्दा चलाउने र पछि छोड्ने जस्तो गरिएको छ । यसमा संसदीय समितिको पनि निर्देशन होस्, सरकारले पनि कानुन सुधार गर्न लागि पर्छ  । ’ 

 
१८ वर्ष उमेर नपुगी भएको यौन सम्बन्धलाई जबरजस्ती करणी मान्ने नेपालको प्रचलित ऐन छ । जसका कारण मुख्यतयाः हजारौँ किशोरहरु बिभिन्न सुधारगृह र कारागारमा बसिरहेका छन् ।  प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले विराटनगर, वीरगञ्ज र बाँकेका बालसुधार गृह र कारागारको स्थलगत अध्ययन गरे पछि सो निष्कर्ष निकालेको हो ।