हसिनाका छोराले भने, चुनाव घोषणा भएलगत्तै आमा बंगलादेश फर्कनु हुन्छ, भारतबाहिर जानुहुन्नु

1.7k
Shares

नयाँदिल्ली ।

शेख हसिनाका छोरा जोय वाजिदले आफ्नी आमा बंगलादेश फर्किने बताएका छन् । 

उनले नयाँ कार्यवाहक सरकारले निर्वाचन घोषणा गरे पछि आफुहरु बंगलादेश जाने बताएका हुन । 

टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार हसिनाले फेरि चुनाव लड्ने कि नगर्ने भन्ने कुरा उनको बयानबाट स्पष्ट भएको छैन । तर, उनको छोराका दावी छ, चुनावको घोषणा भए लगतै आमा हसिना स्वदेश फर्कने छिन् । 

बंगलादेशमा हिंसा भड्किएपछि गत अगस्ट ५ मा राजीनामा दिएर बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाले देश छाडेर भारतको शरण लिन पुगेकी थिइन् । यी घटनापछि पनि जनता र पार्टीलाई छाड्न नसक्ने जोयले बताएका छन ।  यसअघि जोयले एक अन्तर्वार्तामा आमा शेख हसिना बंगलादेश नफर्किने बताएका थिए ।

यस भनाइको सन्दर्भमा उनले भने, ‘हो, मैले भनेको थिएँ भन्ने कुरा सत्य हो तर देशभर हाम्रा नेता र कार्यकर्तामाथि आक्रमण भएपछि अहिले धेरै परिवर्तन भएको छ । अब हामी हाम्रा जनताको सुरक्षाको लागि सक्दो प्रयास गर्नेछौं। हामी तिनीहरूलाई एक्लै छोड्ने छैनौं ।’

हसिनाका छोरा पनि राजनीतिमा आउने

पूर्वप्रधानमन्त्रीका छोरा जोयले राजनीतिमा आउन तयार रहेको बताएका छन् । यसअघि जोयले आफू राजनीतिमा आउने मनसाय नभएको बताएका थिए ।

जोयले भने– ‘यो मेरी आमाको अन्तिम कार्यकाल थियो । उनले अर्को चुनाव लड्ने छैनन् । मलाई पनि राजनीतिमा आउने रहर थिएन । म अमेरिकामा बसेको थिएँ तर पछिल्ला दिनमा जे भयो, त्यसले देशको नेतृत्वमा शून्यता देखाउँछ। पार्टीका लागि राजनीतिमा लाग्नुपर्छ । यसका लागि म अग्रपंक्तिमा उभिने छु ।’

अवामी लिगले चुनावमा भाग लिएमा हामी पनि जित्न सक्छौँ भन्नेमा म विश्वस्त छु जोयले भने । अवामी लिग बंगलादेशको सबैभन्दा ठूलो र पुरानो पार्टी हो। हामीसँग सबैभन्दा ठूलो पार्टी कार्यकर्ता छ।

शेख हसिना भारतमै बस्ने, मोदीलाई धन्यवाद 

शेख हसिनाको कुनै पनि देशमा शरण लिने मनसाय नभएको जोयले दाबी गरे । उनले भने, ‘मेरी आमा भारतमा हुनुहुन्छ। अब ऊहाँ कतै जानु हुन्न् । अन्तरिम सरकारले नयाँ निर्वाचनका लागि हरियो संकेत दिने बित्तिकै मेरी आमा बंगलादेश जानु हुनेछ । यति छोटो समयमा मेरी आमाको ज्यान बचाउनु भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभारी छु।’

बंगलादेश हिंसामा पाकिस्तान-आईएसआई संलग्नः

जोयले पाकिस्तानले बंगलादेशमा अशान्ति भड्काएको आरोप लगाएका छन् । यस अराजकतामा पाकिस्तानको आईएसआईको हात रहेको देखाउने यस्ता प्रमाण भेटिएको उनले बताए । यो पूर्णतया योजनाबद्ध थियो।


सामाजिक सञ्जालमा अफवाह फैलाएपछि स्थिति तनावग्रस्त बनेको छ । सरकारले स्थिति नियन्त्रण गर्न खोजे पनि असफल भयो । आतंककारी संगठन वा विदेशी शक्तिले मात्रै उपलब्ध गराउन सक्ने हतियार भएकाले दंगालुहरूले प्रहरीमाथि बन्दुकसहित आक्रमण गरेको जोयले आरोप लगाएका छन् ।

बंगलादेशमा धेरै दिनको राजनीतिक उथलपुथलपछि बिहीबार राति अन्तरिम सरकार गठन भएको छ । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले अन्तरिम सरकारको प्रमुखको रुपमा शपथ लिएका छन् । सपथ ग्रहण समारोहमा बंगलादेशका लागि भारतीय उच्चायुक्त प्रणय वर्मा पनि उपस्थित रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।