रास्वपा सांसद कठायत र यात्रुबीच झगडा परेपछि उडान ‘डिले’


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विनिता कठायतका कारण काठमाडौँबाट सुर्खेत उड्न लागेको जहाज तीन घण्टा ढिलो भएको छ । बिहान सुर्खेत जान लागेको श्री एयरलाइन्सको जहाजमा माननीय र यात्रुबीच झगडा परेपछि उडान ‘डिले’ भएको हो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार श्री एयरको (उडान नम्बर एसएचए-१२१) जहाज बिहान ७ बजे उड्ने नियमित तालिका थियो । तर, सुर्खेतको मौसम खराब भएपछि साढे ८ बजे बल्ल बोर्डिङ शुरु भयो । त्यस हुनेक्रममा सांसद कठायत र अन्य यात्रुबीच केही विषयमा भनाभन भएको थियो । तर, सामान्य विषयलाई उनले ‘संसदमा उठाउने’ धम्की दिएपछि बादविवाद थप चर्कियो ।

यात्रुहरु लफडामा उत्रिएपछि चालक दलका सदस्य र एयरलाइन्सका कर्मचारीले एयरपोर्टमा खटिएका प्रहरी अधिकृतलाई फोन गरेर बोलाएका थिए । इन्स्पेक्टर नेतृत्वको प्रहरी टोली जहाजमा पुगेर दुवै पक्षको कुरा सुनी अवस्था सामान्य बनाएको र पुन: बोर्डिङ भै जहाज १० बजे सुर्खेत उडेको बताइएको छ ।