भारतको केदारनाथ यात्रामा नेपालीहरुको जात्रा

1.3k
Shares

म भारतको चार धाम यात्रामा निस्किएको थिएँ । चार धाममध्ये केदारनाथ धाम मेरो लागि विशेष रहन गयो । किनकि मैले त्यहाँ नेपालीहरुको हातबाटै काम लिई आफ्नो यात्रा सफल गरेँ । नेपालीहरु मागेर खाँदैनन्, काम गरेर खान्छन्, त्यो पनि इमानदारिताका साथ । त्यो कुरा मैले केदारनाथमा देखेँ । केदारनाथमा जाँदा मलाई त नेपालको कुनै प्रसिद्ध धार्मिक यात्रामा गएको जस्तो लाग्यो ।

पहाडी बस्ती, ठ्याक्कै नेपालको जस्तो भौगोलिक अवस्था । त्यसमाथि त्यहाँ बस्ने भारतीयहरुको भेषभूषा, चालचलन, अनुहार, हाउभाउ ठ्याक्कै नेपालीको जस्तो लाग्यो । विवाहवारी पनि नेपालीसँग हुँदो रहेछ । मैले यात्राको दौरानमा चिसोबाट बच्न ज्याकेट किन्न गएको त होटल साहुजीले आफ्नी श्रीमती नेपाली हो भनी चिनाउनुभयो ।

केदारनाथमा बाटोभरि नेपालीहरु देखेँ । प्रायःको टाउको ढाका टोपीले सजिएको थियो । कोही घोडा चढाएर तीर्थयात्री लाने, कोही डोकोमा मान्छे राखेर, जसलाई बस्किट भन्दा रहेछन् । तीर्थयात्रीहरुलाई धन्य छ, नेपालीहरु त्यहाँसम्म गएर आफ्नो पसिना बगाएका छन् । हामी तीर्थयात्री भारी नबोकी जान त गाह्रो भएको ठाउँमा मान्छे बोकेर लानु भनेको चानचुने काम पक्कै होइन । कोही डोलीजस्तो बनाएर चारजनाले बोकेर लाने गर्दा रहेछन् । मान्छे ओसार्ने काममा मेरो हिसाबमा ८० प्रतिशत नेपाली नै थिए । उनीहरु ६ महिना केदारनाथमा काम गरेर बाँकी ६ महिना नेपालमा आफ्नो जन्मभूमिमा काम गर्ने रहेछन् ।

नेपालीहरु जहाँ भए पनि आफ्नो इमान–जमान बेच्दैनन् भन्ने आभास केदारनाथ यात्रामा म आफू स्वयंले अनुभव गर्न पाएँ । म र मेरी श्रीमती केदारनाथ यात्रामा २२ किलोमिटरमा ६ किलोमिटर चढ्नासाथ अगाडि बढ्न सकेनौं । त्यसपछि भारतीयहरुलाई भनेर दुईवटा घोडाको ५ हजार ५ सयमा बुक गरी लग्यौँ । तर हामीलाई धोका दिएर दुई घोडा हेर्न एकजना मान्छेको भरमा घोडाको यात्रा गर्न विवश बनाइयो । त्यो एकजनाले मेरो घोडा समातेको बेला श्रीमती चढेको घोडा कहिले फलामको बारमा त कहिले अरु घोडामा बस्ने मान्छेसँग ठक्कर खान पुग्थ्यो । हामीले गुनासो गरेपछि फेरि श्रीमतीको घोडा समात्न पुग्थ्यो । त्यस बेला मेरो खुट्टाले घरी फलामको बारमा घरी अर्को घोडासँग ठक्कर लाग्ने गथ्र्यो । यसरी एकजना मान्छेले दुईवटा घोडा नियन्त्रण गर्न गाह्रो भएकाले झन्डै दुर्घटनामा परेको । बीचबाटोमा नै रु. ५० दिई हामीले ती घोडालाई छोड्नुपर्‍यो । यसरी एउटा घोडालाई एकजना व्यक्ति अनिवार्य भएको ठाउँमा दुईवटा घोडाका लागि एकजना खटाएर हामीलाई धोका दिइयो । हामीले धेरैपल्ट भनेका पनि थियौँ तर मानेन । बेकारमा लठ्ठीको १०० र घोडा चढेकोमा ५० गरी थप १५० भारु तिर्नुपर्‍यो ।

त्यसपछि घोडा छोडेर पैदल नै आउनु भनेको होला भनी हिँडेर नै पुग्ने विचार गरी अगाडि हिँड्यौँ । हामी श्रीमान्–श्रीमती नै घोडा चढेर भगवान्कहाँ नजाओ भनेको होला भनी हिँडेका थियौँ तर बाटोमा जाजरकोट तथा जुम्लाका स्थायी बासिन्दा नेपालीले हामीलाई नेपालको भनेर चिनेपछि सहयोग गरे । तपाईंहरुलाई ५४०० मा दुईजना मान्छेसहित घोडा सवार व्यवस्था गरिदिने भने। उनीहरु अशिक्षित र बेरोजगार भएर भारतमा आई परिवार पाल्ने काम गरिरहेका रहेछन् । एक नेपालीले अर्को नेपालीलाई सहयोग अहिले नगरे कहिले गर्ने भने । तपाईंको घोडचढीले हाम्रो बालबच्चा तथा परिवारको कल्याण हुन्छ भनेपछि मेरो मन पनि पग्लेछ । अन्त्यमा पुनः घोडा चढेर हामी श्रीमान्–श्रीमती केदारनाथ पुग्न सफल भयौं ।

हामी सकुसल माथि केदारनाथमा पुग्यौँ । त्यो घोडा मिलाउने दाइ जुम्लाका स्थायी बासिन्दा रहेछन् । जुम्लाका सांसद आफ्नो नाता पनि पर्छन् भन्थे । उनको ज्यादै माया लाग्यो । उनी भन्थे– ‘आफ्नै देशमा रोजगार र शिक्षाको व्यवस्था गरिदिए हामी यहाँसम्म आउन पर्ने नै थिएन । हामी ६ महिना भारतमा र ६ महिना नेपालमा काम गर्छौं । नेपालमा बसेर परिवार पाल्न सक्ने अवस्था छैन । भारत आउन बाध्यताले आएको हो, रहरले होइन ।’

त्यस्तै हामीसँग आउने घोडा सवारका कुरा सुन्दा म त झन् स्तब्ध भएँ । भर्खरका १८ वर्षका थिए उनी । उनले भने, ‘देशमा रोजगार छैन । पठनपाठन गर्न पनि पाएइन । भारतमा आएर काम गरेँ तर भारतीयहरुले हामीलाई हेप्ने, पिट्ने गर्दछन् । कति साथीहरुलाई पिटेर मारेका छन् । कैयौँ बेपत्ता पारेर आजसम्म लास पाएको छैन । कहाँ न्याय माग्न जाने ? हामी त ज्यादै पीडित छौँ । घर जाऊ खान पुग्दैन, भारतमा ज्यानको भरोसा छैन ।’ उनको गुनासो सुनेर दिक्क लाग्यो ।
हामी फर्कने बेला बीचबाटोमा श्रीमतीलाई डोकोमा राखेर पठाएको थिएँ । तिनीहरु पनि नेपाली नै थिए । त्यही बेला मैले केही नपालीलाई किन तपाईंहरु भारतमा आई काम गरेको, अन्त विदेशमा गए हुन्छ नि भनेँ । होइन, अहिले नेपालमा काम छैन, ६ महिना भारतमा काम गर्ने अनि बाँकी ६ महिना नेपालमा काम गर्ने हो भने । विदेश जाँदा परिवारबाट छुट्टिएर बस्नुपर्ने हुन्छ । त्यसैले यहीँ ठीक छ भने ।

भारतको केदारनाथ यात्रामा नेपालीहरुको जात्रा देखेर मेरो मन कुँढियो । यी सबै कुरा विचार गर्दा यथाशीघ्र सरकारले देशभित्र नै रोजगारी सृजना गर्नुपर्छ । युवाहरुको विदेश पलायनलाई रोकेर देशको बदनाम हुनबाट बचाउन नितान्त ढिला भइसकेको छ। नेपाल सरकारको यसतर्फ ध्यान जाओस् ।

त्यस्तै अर्को एकजना नेपाली जो डोको बोक्ने थिए, उनलाई पनि किन तेस्रो देश नगएको भन्दा उनले पहिला साउदी अरबमा काम गरेर आएको बताए । उनले भने, ‘त्यहाँभन्दा यहीँ नै बढी आम्दानी छ । ६ महिना काम गर्‍यो, ६ महिना नेपालमा गएर बस्यो, हो यही पेसा ठीक छ ।’ आफ्नो बाध्यतालाई पनि खुशीले अँगालेको देखेर म त छक्क परेँ ।

हुन पनि होला, घोडा चढाएको नाफा ३,२०० र डोकोमा राखेको ८,००० देखि १२,००० सम्म लिन्थे, त्यो पनि समयअनुसार थपघट हुन्छ । जति माग बढ्यो त्यति लिन पाइयो। आजकल पनि केदारनाथमा नेपालीहरुले मान्छे बोकेर लगेको समाचार छ्यापछ्याप्ती देखिन्छ । फेरि मान्छेले मान्छे बोकेको बारे पनि डाँडापाखामा मान्छेले अचम्म मानेर हर्नेको घुइँचो छ, जसले गर्दा यूट्यबरहरुको कमाउने भाँडो पनि भएको छ।

यात्राको बेला नेपाली टोपी लगाउने रहर थियो तर केदारनाथमा नेपालीहरु ढाका टोपी लगाएर मान्छेको भारी बोकेको देखेर राष्ट्रिय टोपी थन्क्याएर चार धाम यात्रा गर्न बाध्य भएँ । भारतको केदारनाथ यात्रामा नेपालीहरुको जात्रा देखेर मेरो मन कुँढियो । यी सबै कुरा विचार गर्दा यथाशीघ्र सरकारले देशभित्र नै रोजगारी सृजना गर्नुपर्छ । युवाहरुको विदेश पलायनलाई रोकेर देशको बदनाम हुनबाट बचाउन नितान्त ढिला भइसकेको छ । नेपाल सरकारको यसतर्फ ध्यान जाओस् ।