मानिसहरू जीवनमा सत्य के हो भनेर बुझ्न चाहन्छन्। तपाईँ रेलमा यात्रा गरिरहनुभएको बेलामा त्यहाँ भएको झ्यालबाट बाहिर हेर्नुहुन्छ । झ्याल त कतै गइरहेको हुन्छ भन्ने लाग्दैन। त्यो जहाँको त्यहीँ नै हुन्छ तर रुख–बिरुवा, कार, गाई, भैँसी, घर, छाप्रो ती सबै चीजहरू दौडिरहेका देखिन्छन् । यदि कसैको जन्म नै रेलभित्र भयो अनि त्यसैभित्र ऊ हुर्कियो भने उसले त केवल रेल चलिरहेको मात्र देखेको हुन्छ। यदि उसलाई सोधौँ– कुनचाहिँ चीज हिँडिरहेको छ र कुन चीज जहाँको त्यहीँ नै छ ? तब उसले के भन्ला ? झ्याल त हिँड्दैन– रुख हिँड्छ, घर हिँड्छ। किनकि उसले यस्तै नै देखेको छ।
मायाको एउटा अर्को प्रकृति के हो भने, त्यो बदलिरहन्छ। जे छ त्यो वास्तविक होइन। जे छैन त्यही देखिन्छ। अब तपाईँ कुन चीजमाथि विश्वास गर्नुहुन्छ ? सारा संसारले त एउटै चीजमाथि विश्वास गर्छ– पैसा कमाउनुभयो भने त्यसबाट तपाईँलाई आनन्द प्राप्त हुन्छ । यो तपाईँको रटाइ होइन भने त ठिक्कै छ तर संसारले यही कुरालाई रटिरहेको छ कि छैन ?
जुन पैसाका लागि तपाईँ यति धेरै मिहिनेत गर्नुहुन्छ यो दुनियाँले त्यही पैसा तपाईँबाट लिएर राखेको छ । त्यसबापत तपाईँलाई एउटा प्लास्टिकको कार्ड (क्रेडिट कार्ड) थमाएको छ । एउटा समय त कस्तो थियो भने, महिना दिनपछि, हप्तादिनपछि पैसा हात पथ्र्यो । त्यसलाई तपाईँले गन्न सक्नुहुन्थ्यो । गोजीमा राख्न सक्नुहुन्थ्यो, खर्च गर्न सक्नुहुन्थ्यो, बचाउन सक्नुहुन्थ्यो । अब सक्नुहुन्न । अहिले कहाँ हुन्छ ? तपाईँलाई थाहा नै हुँदैन । छ या छैन भनेर तपाईँले खर्च नगरुन्जेलसम्म त तपाईँलाई थाहा नै हुँदैन । एउटा समय त ‘हो अहिले छ, अहिले सकिएको छ’ भनेर हेर्न सकिन्थ्यो । क्रेडिट कार्डलाई जोखेर ‘यसमा पैसा छ कि छैन’ भनी तपाईँले अनुमान लाउन सक्नुहुन्न । दुनियाँले त कस्तो बनाए भने ‘कति खर्च गरिरहेका छौ भन्ने कुरालाई वास्ता नगर, खर्च गर तर जिन्दगीभरि ऋणको बोझ बोकिरहू ।’
व्यक्तिले ‘यो समय पनि जानेछ’ भन्ने कुरा बुझेपछि उसले यो जीवनको वास्तविक आनन्दलाई ग्रहण गर्न थाल्छ । सुख र दुःख भलै आओस् अनि जाओस्, उसलाई केही पनि असर पर्दैन । किनकि, व्यक्तिले आफ्ना सारा जिम्मेवारीलाई निर्वाह गरेर आफ्नो हृदयमा भएको शान्तिलाई अनुभव गर्न थालेपछि त्यो जीवन आनन्दले भरिभराउ हुन्छ । मानवजीवनको सफलताको आधार यही नै हो ।
तपाईँ कसको नोकरी गरिरहनुभएको छ ! आफ्नो ? यदि तपाईँ आफ्नो मालिक हुनुहुन्छ भने तपाईँलाई त केही प्राप्त हुँदैन । कतै पनि पाइँदैन । यदि यो संसारको जागिर खाइरहनुभएको छ भने, यदि केही पाइहालियो भने तब पनि केही हात लाग्नेछैन । जस्तो– सिकन्दरले भनेका थिए नि– ‘खाली हात आएको थिएँ, खाली हात नै गइरहेको छु ।’ यसर्थ कसको जागिर खाइरहेका छौँ ? कसको चिन्ता गर्छौँ ? आफ्नो ? यदि आफ्नो चिन्ता गरियो भने केही पनि पाइँदैन। न अहिले, न पछि अनि न त अवकाशपछि। यदि तपाईँ सतनामको चिन्ता गर्नुहुन्छ, उनको नोकरी गरिरहनुभएको छ भने त तपाईँसँग राख्ने पर्याप्त ठाउँ नै छैन जति तपाईँ पाइरहनुभएको छ । पाइनेछ होइन, पाइरहनुभएको छ। त्यसलाई तपाईँ बटुलेर राख्नै सक्नुहुन्न । तर, त्यसको अर्थात् त्यो मुद्रा (सिक्का) को एउटै पहिचान के छ भने ‘परमानन्द, आनन्द’। ‘परमानेन्ट र परमानन्द’ । अलि उस्तै–उस्तै सुनिन्छ । अनि, तिनै एक चीज अर्थात् परमानन्द नै परमानेन्ट (स्थायी) हुन्।
सनातन कालदेखि नै आचार्य (गुरु) र शिष्यको परम्परा रहँदै आएको छ । शिष्य जान्न चाहन्छ अनि गुरुसँग उसलाई स्पष्ट पार्न सक्ने क्षमता हुन्छ । गुरुको काम उसलाई केवल बताइदिनु र ज्ञान प्रदान गर्नु मात्रै होइन । अझ ज्ञान प्रदान गर्नका लागि ती व्यक्तिलाई तयार बनाउनु पनि हो । किनभने, मानिसले त ज्ञान के हो भन्ने कुरा नै बुझेको हुँदैन ।
मानिसहरू शान्तिका बारेमा कुरा गर्छन् । शान्ति सबैलाई चाहिएको छ तर शान्ति के हो भनेर कसैलाई थाहा छैन । हरेक परिवार, हरेक व्यक्ति आनन्दका साथ रहन चाहन्छ । आशीर्वाद दिन्छन् नि– आनन्द होस्, मङ्गल होस् ! मङ्गल के हो भन्ने कुरा मानिसलाई थाहा छैन । आनन्द के हो भनेर यसबारेमा पनि मानिसलाई थाहा छैन । हरेक व्यक्ति जो यहाँ (यस संसारमा) छ– ऊ छोराका रूपमा होइन, श्रीमान्का रूपमा होइन, बुबाका रूपमा होइन, दाजुभाइका रूपमा होइन, बहिनीका रूपमा होइन । केवल मानिसका रूपमा छ । मानिसका रूपमा ! यसर्थ जान्नुपर्ने अनि बुझ्नुपर्ने कुरा छ । यस जीवनमा बुझ्नुपर्ने कुरा के मात्र हो भने, रेलमा जसले यात्रा गरिरहेको छ उसले रुख, घर, गाई, भैँसी, साइकलमा चढेको मानिस कतै यताउता गइरहेको होइन, त्यो रेल नै गुडिरहेको छ भन्ने कुरा थाहा पाउनुपर्छ । त्यसकारण यी सबै चीजहरू बदलिनेछन् । एकदिन यी सबै चीजबीजहरू रहनेछैनन् ।
एउटा सानो कथा छ । एकपटक एकजना व्यक्ति एक सन्तकहाँ गए । उनले भने– ‘मेरो मन यताउता दौडिरहन्छ । मेरो टाउको पनि दुखिरहन्छ । मेरो त खुट्टामा पनि दुख्ने समस्या छ । मेरो ढाड पनि दुखिरहन्छ । मलाई केही पनि गर्न मन नै लाग्दैन ।’
सन्तले भने, ‘तिमी चिन्ता नगर यो समय पनि जानेछ ।’ केही समयपछि तिनै व्यक्तिले फेरि आएर भने– ‘तपाईँले भन्नुभएको सत्य रहेछ । अहिले मलाई ठीक छ । मेरो शिरको दुःखाइ पनि छैन, मेरो ढाड पनि दुखेको छैन । मेरो खुट्टामा पनि कुनै पीडा छैन । सबै कुरा राम्रो भएको छ ।’ सन्तले उनीतिर फर्केर फेरि भने– ‘तिमी चिन्ता नगर यो पनि बित्नेछ ।’
यो लघुकथाबाट पाइने शिक्षाका बारेमा बुझ्नुपर्ने कुरा छ । मानिसले चाहना राखेका हरेक चीज अस्थायी हुन् भन्ने कुरालाई उसले बुझेको हुँदैन । यो बदलिने कुरा हो । जस्ताको त्यस्तै रहँदैन । हामी यस कुरातर्पm ध्यान दिँदैनौँ । हामीलाई के सिकाइएको छ ? हामीलाई के भनिएको छ ? यस संसारमा हामीले बाल्यकालमा रहँदा बताइएको कुरालाई अँगाल्दै गयौँ । हामी हुर्कँदै गएपछि त्यही कुरालाई नै स्वीकार गर्दै अघि बढ्यौँ । तपाईँलाई कुन कुराले चिन्तित तुल्याउँछ ? परिवार भएका मानिसहरूलाई सोध्ने हो भने उनीहरूलाई कुन कुराको चिन्ता हुन्छ ? उनीहरूलाई आफ्नो परिवारको चिन्ता रहन्छ– ‘मेरो छोरो पढिरहेको छ कि छैन ?’ यदि तपाईँ जवान हुनुहुन्छ, अनि तपाईँले जागिर खानुभएको छ भने तपाईँमा कुन चीजको चिन्ता रहन्छ ? आफ्नो जागिरकै चिन्ता हुन्छ । यदि कोही बिरामी भयो भने उसलाई पनि कुन चीजको चिन्ता हुन्छ त– आफ्नो शरीरका बारेमा चिन्ता हुन्छ ।
सन्तहरूको भनाइ त के छ भने, तपाईँले यी विषयमा चिन्ता गर्नुहुँदैन । यसको कारण के हो भने, यी सबै कुरा बदलिन्छन् । एकदिन यी सारा कुराहरू रहँदैनन् । यसको चिन्ता नगर्नुहोस् । जबसम्म हामीले परिवर्तनशील चीजको प्रकृतिलाई बुझ्दैनौँ तबसम्म जुन चीज बदलिँदैन त्यसलाई हामीले कहिल्यै पनि बुझ्न सक्दैनौँ ।
जिन्दगीको रेलमार्गमा हरेक दिन दौडिरहेका लाखौँ रेलगाडीहरू, तिनमा हरेक दिन यात्रा गरिरहेका करोडौँ मानिसहरू अनि ती करोडौँ मानिसहरूको सुख र दुःखका कथाहरू छन् । यदि अहिले सुख छ र दुःख कहिल्यै आउने नै छैन भन्ने कुरालाई मान्ने हो भने शायद यसरी सोच्नु नै गलत हुन्छ होला । किनकि, आज यदि सुख छ भने दुःख अवश्य आउनेछ र दुःख छ भने सुख पनि अवश्य आउनेछ ।
सुख र दुःख त आउनेछन् । यसको सारांश यो वाक्यबाटै बुझिन्छ– ‘यो समय पनि जानेछ ।’ यदि सुख छ भने अहिल्यैदेखि दुःखबाट जोगिने तयारी गर्नुपर्छ । यदि दुःखी हुनुहुन्छ भने चिन्ता केका लागि ? दुःख त जानका लागि नै आएको हो । केवल यो कुरालाई बुझ्नु आवश्यक हुन्छ । यो बुझ्नु किन आवश्यक छ भने, शायद यो कुरा थाहा पाएर तपाईँलाई अचम्म लाग्छ होला । तर, मानिससँग केवल २५ हजार ५ सय ५० दिन मात्र हुन्छ । आज मानिसको औसत आयु ७० वर्षको न छ । अर्थात् २५ हजार ५ सय ५० दिन । यीमध्ये धेरै दिन त बितिसके । अब जति बाँकी छ, त्यसलाई सुख र दुःखको जाँतोभित्र किन पिँध्ने ? सुख र दुःखको चक्करबाट उम्किएर हरेक दिनको मूल्यलाई बुझ्नु आवश्यक छ । किनकि, २५ हजार ५ सय ५० दिनमध्ये एक दिन घटिरहेको छ । जुन कहिल्यै फर्केर आउँदैन । त्यसैले हरेक दिन त्यो उड्ने पुतली जसरी जीवन जिउनुपर्छ । जो केवल एक दिनका लागि बाँच्छ अनि आफ्नो लक्ष्य जुन प्रकाशतर्पm छ, त्यसबाट हट्दैन ।
मानिसको जिन्दगीको पनि एउटा लक्ष्य छ । त्यो लक्ष्य के हो भने, शान्तिमा रहेर यो जीवनलाई आनन्दित तरिकाले जिउनु । यसैका लागि उसले हरेक दिन मिहेनत गर्छ । तर, सुख र दुःखमा फसेर पछाडि पर्छ । कबीरदासजी पनि भन्छन्– ‘जाँतो घुमेको देखेर रोए उनी, दुई फक्लेटाका बीचमा सग्लो बचेन कोही पनि ।’
जाँतो हो यो संसार र त्यसमा पिँधिइरहेका छन् मानिस । दिन–रात अनि सुख–दुःखको चक्करमा फसेर पाएको अनमोल जीवनलाई खेर फालिरहेको छ । तर, मानिसले यसलाई याद गर्नुपर्छ– ‘यो समय पनि जानेछ ।’ अहिले समय आएको छ तर जानेछ ! यदि सुख छ भने त एकदमै राम्रो कुरा हो तर दुःख आउनेछ । त्यसका लागि पहिला नै तयार हुनु आवश्यक हुन्छ । त्यसैले भनिएको छ– ‘जाँतो–जाँतो सबैले भन्छन्, मानी भन्दैन कोही, जो मानीसँगै हुन्छ उसको रौँ पनि हल्लिँदैन केही ।’ अर्थात् यो संसाररूपी जाँतोबाट जोगिनका लागि हृदयमा भएको शान्तिको सहारा लिनुपर्छ ।
व्यक्तिले ‘यो समय पनि जानेछ’ भन्ने कुरा बुझेपछि उसले यो जीवनको वास्तविक आनन्दलाई ग्रहण गर्न थाल्छ । सुख र दुःख भलै आओस् अनि जाओस्, उसलाई केही पनि असर पर्दैन । किनकि, व्यक्तिले आफ्ना सारा जिम्मेवारीलाई निर्वाह गरेर आफ्नो हृदयमा भएको शान्तिलाई अनुभव गर्न थालेपछि त्यो जीवन आनन्दले भरिभराउ हुन्छ । मानवजीवनको सफलताको आधार यही नै हो ।
मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।
प्रतिक्रिया