असुरक्षित आकाश


सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दुई हप्तामै बुधबार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाग्रस्त भएपछि नेपालको आकाश असुरक्षित भएको आभास हुन थालेको छ। बुधबार नुवाकोटको सूर्यचौरमा भएको दुर्घटनामा पाइलट अरुण मल्लसहति चार चिनिया नागरिकको मृत्यु भएको छ।

भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको हेलिकोप्टर ३ मिनेटपछि सम्पर्कविहीन भएको थियो। हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न हिजै तीन सदस्यीय आयोग गठन गरिएको छ। यसअघि साउन ९ गते सौर्य एयरलाइन्सको जहाज काठमाडौंबाट पोखराका लागि उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो।

चालक दलका सदस्यसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो। यसरी लगातार दुर्घटना हुँदा पनि सरकार गम्भीर हुन नसकेको आरोप लागेको छ । बुधबार भएको दुर्घटना नेपालको इतिहासमा १ सय १० औँ हो। यो तथ्य एभिएसन सेफ्टी रिपोर्टका अनुसार हो।

सबै दुर्घटनामा परी हालसम्म ९ सय ६५ जनाको मृत्यु भएको छ । तथ्याङ्कअनुसार नेपालमा पहिलोपटक सन् १९७९ मा लाङटाङमा हेलिकोप्टर दुर्घटना भएको थियो। यो तथ्याङ्कले के दखाउँछ भने नेपाली आकाश असुरक्षित बन्दै गएको छ। एकपछि अर्को हवाई दुर्घटनाले मुलुकको समग्र हवाई सुरक्षाबारे गम्भीर प्रश्न उठेको छ। हवाई दुर्घटना न्यूनीकरण गर्न विभिन्न चरणको छलफल नभएको भने होइन। ती छलफलले खासै प्रगति भएको छैन।

लगातार छलफल जारी रहेको सरकारी दाबी रहे तापनि एकपछि अर्को दुर्घटना भएपछि आकाश सुरक्षाको प्रश्न उठेको छ। सरकारले पछिल्लो दुर्घटनाको छानबिन गर्न उच्च स्तरीय समिति बनाएको छ। मन्त्रालयले छुट्टै अध्ययन थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक सातासम्म सबै कार्यक्रम स्थगित गरी हवाई सुरक्षाको बारेमा छलफल थाल्नुभएको छ।

मन्त्री पाण्डेले बिहीबार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको सूर्यचौरबाट अनुसन्धान शुरु गर्नुभएको छ। मन्त्रीको यो तदारुकतालाई सकारात्मकरुपमा लिन सकिन्छ। हुन त एकपछि अर्को हवाई दुर्घटनाले समग्रमा नेपालको नागरिक उड्डयन क्षमतामा समस्या छ भन्ने विषयमा सरकार गम्भीर हुनुपर्छ । पाइलटको लापरबाही हो वा हवाई संयन्त्रको ? भन्ने विषयमा गम्भीर छानबिन गर्नुपर्ने अवस्था छ। नेपालका सबै एयरलाइन्सको टेक्निकल अडिट, फाइनान्सियल अडिट र अपरेसनल अडिट सूक्ष्मरुपले गर्नुपर्ने देखिन्छ।

अन्तर्राष्ट्रिय चासोको रुपमा रहेको नेपालको हवाई सुरक्षा अवस्थाबारे बेलैमा चासो नदेखाए गम्भीर समस्या आउन सक्छ। युरोपियन युनियनले मात्र होइन, अन्य मुलुकले समेत नेपालमा उडान रोक्न सक्छ। त्यसैले नेपाली आकाशको उडान सुरक्षित बनाउन विमान सञ्चालक कम्पनीले विशेष चासो दिनुपर्छ। नागरिक उड्डयन प्राधिकरणले विशेष कदम चाल्नुपर्छ।