सुशासन प्रत्याभूत भएमात्र दीगो विकास र सम्वृद्धिको आकांक्षा पूरा हुन्छ : राष्ट्रपति

42
Shares

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र सम्वृद्धिको आकांक्षा पूरा गर्ने सम्वैधानिक दायित्वलाई सबैले आत्मासात गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल जन–प्रशासन संघद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान अर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सुविधामा जनताको समान र सहज पहूँच सुनिश्चित गरी सुशासन प्रत्याभूति भएमात्र दिगो शान्ति, सुशासन, विकास र सम्वृद्धिको आकांक्षा पूरा हुने बताउनुभयो ।

राष्ट्रपति पौडेलले मुलुकमा विधिको शासन सञ्चालन गर्न, नागरिकहरूलाई दिइने सेवामा दक्षता ल्याउन, सरकारी कामकारवाहीमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको बढावा गरी सुशासन कायम गर्न प्राज्ञिक तथा पेशागत संस्थाहरूको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो । पौडेलले भन्नुभयो– ‘यी सबै कार्यमा तीनै तहका सरकारलाई सघाउ पु¥याउन तथा घच्घच्याउन नेपाल जन–प्रशासन संघ सँधै क्रियाशील रहोस् ।’

उहाँले पूर्व प्रशासकहरूमाथि राज्यको ठूलो लगानी रहेको भन्दै सकारात्मक मन, उर्वरशील मस्तिष्क, शीपयुक्त हातहरूका माध्यमबाट मुलुकको सम्वृद्धि र जनताको हितका निम्ति राष्ट्रको सच्चा पहरेदार भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘तपाईँहरूमाथि राज्यले ठूलो लगानी गरेको छ । जसको कारण तपाईंहरू क्षेत्रगत ज्ञान र सीपयुक्त विज्ञ पनि हो । तपाईँहरूलाई विश्वव्यापी अनुभव र राज्य प्रणाली सञ्चालनका नवीनतम् आयामहरूको बोध छ ।

यसर्थ, जीवनको उत्तरार्धमा राज्य प्रणालीबाट केही पाउँंछु भन्दा पनि मैले केही योगदान गर्नुपर्छ भन्ने भावना मनभित्र राख्नुभएको छ भन्ने विश्वास लिएको छु । यस्तो सकारात्मक मन, उर्वरशील मस्तिष्क, शीपयुक्त हातहरूका माध्यमबाट मुलुकको सम्वृद्धि र जनताको हितका निम्ति राष्ट्रको सच्चा पहरेदार भै काम गर्न म अपिल गर्दछु ।’

उहाँले ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमवहादुर मल्लको सम्मानमा हेमबहादुर मल्ल सम्मान स्थापना गरी शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने महानुभावहरूलाई सम्मानित गर्ने परम्परा स्थापना गरेर नेपाल जन–प्रशासन संघले महत्वपूर्ण काम गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । सोही समारोहमा यस वर्षको हेमबाहदुर मल्ल सम्मान कूटनीतिज्ञ र प्रशासनविद् डा.भेषबहादुर थापालाई अर्पण गरिएको छ ।