हेलिकप्टर दुर्घटना अपडेट: मृतक सबैकाे शव फेला

2.3k
Shares

काठमाडौं ।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ।

‘चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ,’ उनले सेतोपाटीसँग भने, ‘दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले अहिले पहिचान हुन सकेको छैन।’

मृत्यु भएकाहरूको पहिचान खुलिसकेको छैन। घटनास्थलतर्फ प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, प्रहरीहरू गएका छन् ।