बंगलादेशमा हिंसा : प्रहरी र कलाकारको हत्या

2.6k
Shares

काठमाडौं ।

बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिग र यसका सहयोगी दलका कम्तीमा २९ नेता र उनका परिवारका सदस्यको शव भेटिएको छ । यसमा अवामी लिगका २० नेता रहेको मिडिया रिपोर्टमा बताइएको छ । 

त्यस्तै ढाका ट्रिब्यूनका अनुसार अहिलेसम्म कम्तिमा ५० जना प्रहरी मारिएका छन्। ढाकाबाहेक देशका अधिकांश प्रहरी चौकी जलाइएको छ भने प्रहरीले चौकी छोडेर भागेका छन् ।

सबै प्रहरी ज्यान जोगाउन डराएर भागेका छन् । अवामी लिगसँग आवद्ध धेरै वरिष्ठ प्रहरी अधिकारी आफन्तसँग लुकेर बसेको मिडिया रिपोर्टमा बताइएको छ ।

देशभरका चार सयभन्दा बढी प्रहरी चौकीमा आक्रमण, तोडफोड, आगजनी र लुटपाटका घटना भएको रिपोर्टमा उल्लेख छ । बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनका कारण पछिल्लो १५ दिनमा अर्बौको नोक्सान भएको छ । 

बंगलादेशको जोशोरस्थित अवामी लिगका नेताको आलिशान होटलमा आगजनी गरिएको छ । यसमा २९ जना जिउँदै जलेका थिए । जसमा इन्डोनेसियाका एक व्यक्ति पनि परेका छन् ।

ढाकाको धानमण्डीमा चर्चित बंगाली गायक राहुल आनन्दको १४० वर्ष पुरानो घरमा आगजनी भएको छ । जलाउनुअघि उनको घर पनि लुटिएको थियो ।

आनन्द, उनकी श्रीमती र छोरा आक्रमणबाट बच्न सफल भएको बताइएको छ । आगलागीबाट राहुलको घरमा राखिएका ३ हजार वाद्ययन्त्र जलेर नष्ट भएका छन् ।

त्यस्तै बंगलादेशी अभिनेता शान्तो खान र उनका निर्माता बुबा सलीम खानलाई भीडले कुटपिट गरी हत्या गरेको छ । सलिम हसिनाको पार्टी अवामी लिगसँग आवद्ध थिए । उनले हसिनाका बुबा मुजीब-उर-रहमानमा आधारित फिल्म निर्माण गरेका थिए । ढाका ट्रिब्यूनको रिपोर्टका अनुसार उनी सोमबार घरबाट भागिरहेका थिए । उनलाई फरक्काबाद बजारमा भीडले घेरेको थियो । त्यसपछि उनीहरूले गोली चलाएर आफूलाई बचाए तर पछि घेरिए । शान्तो खानले ‘बाबुजान’, ‘तुंगीपारा मिया भाइ’ र ‘बिक्सोभ’ जस्ता बंगाली फिल्ममा काम गरेका थिए । उनीमाथि सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलिरहेको थियो ।

बंगलादेशमा मङ्गलबार अवामी लिगका नेता र उनीहरुका परिवारका कम्तीमा २९ जनाको शव फेला परेको छ । यसमा अवामी लिगका २० नेता पनि छन् ।

अवामी लिग सम्बद्ध पूर्व काउन्सिलर मोहम्मद शाह आलमको अशोकतलामा रहेको तीन तले घरमा आतङ्ककारीहरूले आगजनी गरेका थिए जसमा ६ जनाको मृत्यु भएको थियो । त्यस्तै नेटोर–२ का सांसद शफिकुल इस्लाम शिमुलको घरमा भीडले आक्रमण गरी आगजनी गरेको छ । जसमा ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै लालमोनिरहटमा अवामी लिगका नेता सुमन खानको घरमा मानिसहरूले आगजनी गरेका छन् । उनको घरबाट ६ जनाको शव भेटिएको थियो । अवामी लिगको सहयोगी जुबा लिगका नेता मुस्फिकुर रहिमको शव सोनागाजी उपजिल्लाको पुलमुनि फेला परेको छ । उनी युवा लिगमा सचिव पदमा थिए । फेनी जिल्लामा अर्का युवा नेता बादशाह मियाँको शव बिहान फेला परेको छ ।

यसैबीच नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेकी शेख हसिना अहिले भारतमा रहेकी छन् । अमेरिकाले उनको भिसा अस्वीकृत गरेको बताइएको छ भने उनले बेलायतमा शरण मागेको र यसको प्रक्रिया चलिरहेको बताइएको छ ।