वैज्ञानिक जर्नल प्लस बायोलोजीमा प्रकाशित रिपोर्ट अनुसार विश्वका ३५०० बाघ जोगाउन वार्षिक आठ करोड डलर लाग्छ । प्रति वर्ष एउटा बाघ जङ्गलमा जोगाउन २३ हजार डलर लाग्छ। त्यस हिसाबले नेपालमा भएका करिब ३५५ बाघ जोगाउन ८१ लाख ६५ हजार डलर लाग्छ।
अर्थात् हाम्रो एउटा बाघ जोगाउन कम्तीमा पनि ३१ लाख रुपियाँ लाग्ने रहेछ । त्यस बाहेक स्थानीय तहमा भएका प्रचार र प्रयासको हिसाब गर्ने हो भने कति होला ? एउटा बाघ आफ्नो पुर्खौली थलोमा पस्यो । कसैलाई आक्रमण गर्यो ।आक्कलझुक्कल र भई परि अवस्थामा आक्रमण गर्ने बाहेक बाघले मान्छे मार्दैन, बाघको मान्छे आहारा पनि होइन । एक पटक झुक्किएर वा भई परि अवस्थामा गाउँ, खेतबारीमा भेटिँदैमा मान्छे खोज्न आएको पनि भन्न मिल्दैन। त्यसरी भेटिएका बाघलाई नरभक्षी भनिहाल्न पनि हुन्न । अहिले भेटिएको बाघ जङ्गलमा छोडिदिने प्रयास निकै सकारात्मक हो।
वैज्ञानिक तथ्यले के भन्छ भने विश्वका ७० प्रतिशत जङ्गली बाघहरू आफ्नो हालको दायराको ६ प्रतिशतमा मात्र रहेकाले यी साइटहरूलाई प्रजातिका लागि पहिलो प्राथमिकताको रूपमा सुरक्षित गर्ने प्रयासमा ध्यान केन्द्रित गर्नुपर्छ। अर्को मनन गर्नुपर्ने र योजना बनाउनुपर्ने तथ्य के हो भने विगतमा, अत्यधिक महत्त्वाकाङ्क्षी र जटिल संरक्षण प्रयासहरूले आधारभूत कुराहरू गर्न असफल भए र बाघ राम्रोसित जोगिएनन् ।
अर्थात् हाम्रो संरक्षण प्रयासमा खोट छन्। बाघ जोगाउन तिनको वासस्थानको दायरा बढाउनुपर्छ र तिनले खाने जीवको संरक्षण नीति एकैसाथ लैजानुपर्छ । अर्थात्, बाघ जोगाउने हरिण, म्रिग, जरायो आदि मार्ने नितिले बाघ जोगिन्न । वा बाघको आहारा जोगाउने नीति नबने तिनले खाने चिज हुन्न र बाघ जोगिन्नन् । विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको सङ्ख्या रहेको अनुमान थियो।
त्यो सङ्ख्या सन् २०१० मा घटेर ३२०० मा सीमित भएको थियो । सन् २०२२ मा ४५०० पुगेको विश्व वन्यजन्तु कोषको तथ्याङ्क छ। यो तथ्याङ्क हेर्दा हामी मान्छे पो विनाशकारी, हिंस्रक भन्ने सिद्ध हुन्न ? भनिहालौँ, मानव हितको रक्षा हुनुपर्छ । तर एकातिर एउटा बाघ जोगाउन ३१ लाख प्रत्येक वर्ष पनि खर्च गर्ने र अर्कोतिर बाघको वासस्थान नजोगाउने, आहारा नजोगाउने, उसको बस्ने थलोमा गएकासित उसले प्रतिकार गर्दा नरभक्षी भनेर समात्ने र खोरमा थुन्ने, खेतबारीमा भेटिँदा पनि समातेर खोरमा थुन्ने । यो हाम्रो नीतिमा दोकलापन, कमजोरी र खोट छैन त ?
प्रतिक्रिया