नयाँ पुस्ताले किन समाचार पढ्नु पर्छ ?

224
Shares

सोसियल मिडियाको दबदबा बढिरहेको वर्तमान युगका युवा पुस्ता अर्थात् जेन जीहरू सूचना सामग्रीका लागि परम्परागत मिडियाप्रति त्यति झुकाव राख्दैनन् । यसले गर्दा उनीहरूमध्ये धेरैले बोल्ने, लेख्ने क्षमता र शब्द भण्डार वृद्धिको महत्वपूर्ण अवसर गुमाइरहेका हुन्छन् ।

जसले नियमित रूपमा पत्रपत्रिका वा अनलाइन माध्यमका समाचार सामग्रीहरू पढ्ने गर्छन् उनीहरूको भाषा ज्ञान र शिल्पमा विकास भएको पाइन्छ । तर, त्यसका लागि स्तरीय सञ्चार माध्यम छान्न भने जरुरी छ ।

भाषा कौशलको विकास
सञ्चार माध्यममा राजनीति, कला, साहित्य, खेलकुद, कानुन, अर्थ, स्वास्थ्य, मनोरञ्जनलगायत विविध क्षेत्रका जानकारीका साथै ती क्षेत्रका प्राविधिक शब्दहरूको प्रयोगसमेत हुने भएकोले यसले जानकारी मात्र होइन विविध क्षेत्रमा प्रयोग हुने शब्दहरूको ज्ञान र तिनीहरूलाई प्रयोग गरेर लेख्न, बोल्न सक्ने क्षमताको पनि विकास गर्छ । समाचार पढ्ने बानीले भाषा र बौद्धिक विकासमा सहयोग पुग्नेमात्र नभई यसले समाजसँगको सम्पर्क पनि मजबुत बनाउँछ । साथै, लेखन र भाषा कौशलमा सुधार हुन्छ । समाचार सामग्रीहरूमा विभिन्न शैलीमा लेखिएका समाचार, लेखहरू पढ्दा शब्दभण्डार बढ्छ र भाषा प्रयोग गर्ने क्षमता वृद्धि हुन्छ । यसले भविष्यमा प्रभावकारी लेखन र संवादमा सहायता पुग्छ ।

आलोचनात्मक सोचको विकास

समाचार पढ्ने बानीले युवा पुस्तालाई देशविदेशमा के हुँदैछ भन्ने थाहा पाउन मद्दत गर्दछ । ज्ञानको सीमा विस्तार गर्छ र बौद्धिक स्तरमा बृहत् सुधार आउँछ । यसका साथै समाचार पढ्ने बानीले कसैको होमा हो मिलाउनेभन्दा पनि आलोचनात्मक सोचको विकास हुन्छ । विचार निर्माणमा सहयोग पुग्छ । समाचार सामग्रीहरूमा विभिन्न दृष्टिकोणहरू प्रस्तुत हुने भएकोले आफूले प्राप्त गरेका जानकारीको विश्लेषण गर्ने क्षमताको विकास हुन्छ । सही र गलतको छुट्याउन, तर्कसंगत निर्णय गर्न र समाजमा बौद्धिक योगदान पुर्‍याउनसमेत सक्षम बनाउँछ ।

सचेतना र जिम्मेवारीपन
नियमित समाचार पढ्नाले समाजिक सचेतना बढाउँछ । समाजमा भइरहेको असमानता, अन्याय, पर्यावरणीय समस्याहरू, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक स्थितिहरूका विषयमा जानकारी प्राप्त हुन्छ । यसले समाजप्रति सजग र जिम्मेवार बन्न पनि प्रेरित गर्छ ।

नेतृत्व गुणहरूको विकास
नियमित समाचार पढ्ने बानीले किशोरावस्थामा नै नेतृत्व गुणहरू विकास गर्न सहयोग पुग्छ । समाजका विभिन्न पक्षहरूको जानकारी राख्दा उनीहरूमा नेतृत्व गर्न सक्ने क्षमता विकसित हुन्छ । विभिन्न समस्याहरूको समाधान खोज्न र सामूहिक निर्णयहरू गर्न सक्षम बनाउँछ । साथै, भविष्यमा प्रभावकारी नेताहरूको रूपमा उभिन समेत मद्दत पुग्छ ।

आजको पुस्ता प्रायः इन्टरनेट र स्मार्ट फोनमा धेरै समय बिताउने भएकोले यसलाई रमाइलो र समय व्यतीत गर्ने साधनका रूपमा मात्र प्रयोग गर्नुभन्दा समाचार पढ्नमा प्रयोग गरियो भने, यसले प्रविधिको सकारात्मक प्रयोगमा सघाउँछ, प्रविधि प्रयोग गर्ने बानीलाई स्वस्थ बनाउँछ र समयको सदुपयोग पनि हुन्छ ।