रातो मच्छिन्द्रनाथको रोचक रथयात्रा

168
Shares

वर्षा र सहकालका देवता भनी सबैले मान्दै आएको रातो मच्छिन्द्रनाथको जात्रा हाल ललितपुरमा चलिरहेको छ । नेपालकै सबैभन्दा लामो जात्रा मच्छिन्द्रनाथको रथयात्रा हरेक वर्ष वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरी चौथीका दिन पुल्चोकबाट शुरु भई जाह्वलाखेलमा पुगेर भोटो देखाएपछि समाप्त हुन्छ । यो रथयात्रा करिब ३ महिना लामो हुन्छ। लगनखेलबाट जाह्वलाखेलमा लाने साइत जुराउँदा साइत घटबड भएमा जाह्वलाखेलमा लाने समय थपघट हुन जान्छ । कहिलेकाहीँ एक महिना नै ढिलो गरी लानुपर्ने हुन्छ । यसरी साइत जुर्ने समयले जात्राको निर्धारण गर्ने हुन्छ ।

समस्त प्राणीहरुमा समानरुपले करुणाभाव राख्ने भएकोले नै रातो मच्छिन्द्रनाथलाई करुणामय भन्ने गरिएको हो भनिन्छ । रातो मच्छिन्द्रनाथ सर्वसाधारण जनताको लागि मात्र नभएर राजा– महाराजाहरुका लागि पनि अत्यन्तै महत्वपूर्ण रही आएको कुराको प्रमाण पाटनको तःबहालस्थित करुणामय रातो मच्छिन्द्रनाथको मन्दिरभित्र रहेको श्रीनिवास मल्लको पालाको एउटा शिलालेखले प्रस्ट पार्दछ । उक्त शिलालेखमा उल्लेख भएअनुसार यो देवताको जात्रामा शोभा बढाउन राजा–महाराजाहरु जस्तोसुकै काम परे पनि सामेल हुनुपर्छ । सोही परम्पराअनुसार हालसम्म पनि मच्छिन्द्रनाथको महास्नानको जात्रामा होस् वा रथ तान्ने जात्रामा होस्, १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई झल्लर भएको छत्रले ओढाएर ल्याउनुपर्छ।

रातो मच्छिन्द्रनाथ सर्वसाधारण जनताको लागि मात्र नभएर राजा– महाराजाहरुका लागि पनि अत्यन्तै महत्वपूर्ण रही आएको कुराको प्रमाण पाटनको तःबहालस्थित करुणामय रातो मच्छिन्द्रनाथको मन्दिरभित्र रहेको श्रीनिवास मल्लको पालाको एउटा शिलालेखले प्रस्ट पार्दछ ।

पवित्र तीर्थस्थल बागमती नदीकिनारस्थित बुंगमती (कोदुवाः दह) को पौराणिक नाम अमरावतीपुर हो। यही अमरावतीपुर रातो मच्छिन्द्रनाथसँग सम्बन्धित रही आएको छ। आजभन्दा करिब १५३८ वर्षअघि अर्थात् कलिगत संवत् ३५८८ तथा विक्रम संवत् ५४४ मा उपत्यकामा १२ वर्षसम्म पानी नपरी हाहाकार मच्चिएको र अनिकाल परेकोले कृषकलाई प्रत्यक्ष प्रभाव परेको थियो । त्यसैले भक्तपुरका तत्कालीन राजा श्री नरेन्द्रदेव मल्लले ज्योतिषीसँग परामर्श लिए। जसअनुसार काठमाडौंको मृगस्थलीमा श्री गोरखनाथले नौ नागलाई कब्जामा लिई नागको आसन बनाएर ध्यानमा बस्नुभएकोले उहाँका गुरु श्री मच्छिन्द्रनाथलाई ल्याउनुपर्ने हुन्छ। यसरी मच्छिन्द्रनाथलाई ल्याएपछि श्री गोरखनाथ आफ्ना गुरु श्री मच्छिन्द्रनाथको दर्शन गर्न उठ्नुहुन्छ र नागहरु स्वतन्त्र हुनेछन्। त्यसपछि जलवृष्टि भई सहकाल आउन सक्छ भन्ने ज्योतिषीले सल्लाह दिए। त्यसैले राजा नरेन्द्रदेवले काठमाडौंका ख्यातिप्राप्त तान्त्रिक गुरु श्री बन्धुदत्त र ललितपुरका रथचक्र ललित ज्यापुलाई लिई श्री मच्छिन्द्रनाथलाई लिन जाने क्रममा बाटोमा कर्कोटक नागराजले अवरोध खडा गरे । यसरी अवरोध खडा गरी बस्ने कर्कोेटक नागराजलाई तान्त्रिक बन्धुदत्तले तान्त्रिक बलले वशमा लिए अनि सबैजना दक्षिण भारतको आसाम राज्यको कामारुकामाक्ष पर्वतमा प्रस्थान गरे।

श्री मच्छिन्द्रनाथ दक्षिण भारतको कामारुकामाक्ष पर्वतमा प्रसिद्ध राक्षसी राजा शशीकी रानी मायाको गर्भबाट १०८ औं कान्छा पुत्रका रुपमा जन्मिनुभएको हो । उहाँलाई सजिलै ल्याउन नसकिने देखिएकाले तान्त्रिक बन्धुदत्तले विभिन्न योगसिद्धि अपनाई बालक (लोकनाथ)लाई पुनः फर्काउने बचनबद्धता जाहेर गरे । राक्षस कुलको कान्छो पुत्र भएको र लोकनाथको जन्मपश्चात् कामारुकामाक्षका जनताले सुख प्राप्त गर्न पाएकाले राजा यक्षबाहेक कसैले पनि उनलाई पठाउन मानेनन् । अन्ततः तान्त्रिक बन्धुदत्तले प्राणवायुको साधना गरी बालकको भौतिक शरीरलाई त्यहीँ छाडेर हंश मात्र भमराको रुपमा कलशमा प्रवेश गराई ल्याउँदा कामारुकामक्षका तान्त्रिक साधकले थाहा पाए । त्यसपछि त्यहाँका जनतासहित आएर बीचबाटोमै हमला गरी कलश लुटेर लगे ।

त्यहाँबाट फर्केका तान्त्रिक बन्धुदत्तले कोदुवाल दह बुंगमतीमा बसी श्री अष्टमातृका देवीको साधना गरेर थप मद्दतका लागि बुंगमतीकै हयग्रीव भैरव (पछि मच्छिन्द्रनाथको रथको धःमा अगाडि बसेका), लुभुका श्वेतभैरव, टीकाभैरवका संहार भैरव, हरिसिद्धिका क्रोध भैरव र इखालखुका चन्द्र भैरव यी पाँच भैरवहरुलाई आह्वान गरी कटुवाल दहमा अष्टमातृकाले यक्ष राजा र यक्ष रानीलाई घेरा दिइराखे । राक्षसहरुसँग युद्ध गरी दलबलसहित भैरवहरुले बोकेर ल्याउँदा बुंगमतीको हालको मच्छिन्द्र बहालमा पुग्दा भैरवका बाहन कुकुरले भूस्पर्श गरी बुँ बुँ गरी कराएकाले प्रातःकालको संकेत पाई भैरवहरुले बोकेर ल्याएको कलश त्यहीँ बिसाई अलप भए। कुकुरहरुले भूस्पर्श गरी बुँ बुँ गरेर कराएकाले त्यस ठाउँको नाम बुंगमती रहन गएको हो भन्ने भनाइ पाइन्छ । त्यस बेला त्यहाँ मशानघाट थियो। अनि स्वर्गको अमरापुरीबाट सम्पूर्ण देवगणहरुले पुष्पवृष्टि गरी श्री लोकनाथ मच्छिन्द्रनाथलाई विराजमान गराएकाले यस स्थानको नाम अमरापुर रहन गएको तथ्य वंशावलीमा पाइन्छ।

श्री मच्छिन्द्रनाथलाई पाटनको विभिन्न टोलहरुमा रथयात्रा गर्ने चलन हालसम्म रही आएको पाइन्छ भने १२ वर्षमा एकपटक बुंगमतीबाट श्री मच्छिन्द्रनाथको रथ तानेर ल्याई पाटनका विभिन्न टोलहरुमा रथ परिक्रमा गराएर फेरि बुंगमतीमै फिर्ता लग्ने चलन पनि हालसम्म रही आएको छ।