मैले जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ : प्रधानमन्त्री ओली

406
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार नसहने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार संघीय संसद्को राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको आफ्नो पुरानो प्रतिबद्धता यथावत् रहेको बताए । ‘मैले जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ, सहिनँ पनि, मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो’, ओलीले भने,
राजनीतिक रूपमा कसैले लाञ्छित गर्न खोज्नु र हिलो छ्याप्ने प्रयास गर्नु बेग्लै कुरा भए पनि आफू कुनै पनि भ्रष्टाचारका घटनामा संलग्न नरहेको ओलीले दाबी गरे । ‘म दाबाका साथ भन्छु यो धर्तीका अदालतमा मात्र होइन कि चित्रगुप्तका अगाडि पनि जवाफ दिन तयार छु’, ओलीले भने,

ओलीले आफूलाई कुनै आर्जन गर्नु नभएको प्रष्ट पार्नुभयो । ‘राज्यको सम्पत्ति, सार्वजनिक सम्पत्ति अपचलन गरेर आफ्नो बनाउनु छैन, त्यो मेरो नैतिकताले पनि दिँदैन, मलाई आवश्यक पनि छैन, त्यो मेरो सोच पनि होइन’, उनले भने ।

सामाजिक सञ्जालमा कसले कहाँ गाली गर्‍यो, कसले मुख छाड्यो त्यसको पछि लाग्न नसकिने ओलीले बताउनुभयो । मैले भ्रष्टाचार गरिनँ, गर्न कसैलाई इजाजत पनि दिएको छैन, कहिले कहिले मेरो बुताभन्दा बाहिर, मेरो जानकारी भन्दा बाहिर अरूले गरेका कुरा रोक्न नसकिएको होला तर गर्न दिएको होइन, म स्पष्ट गराउन चाहन्छु, फेरि पनि मेरो प्रतिबद्धता, दृढ प्रतिबद्धता छ– म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न, जो कोही होस्’ ओलीले भने ।

उनले भ्रष्टाचारको मामलामा कसैको अनुहार नहेरी कडा रूपमा अघि बढ्ने बताए । यो प्रचारबाजीको लागि नभएर स्थिति र अवस्थामा सुधार ल्याउनको लागि गरिएको प्रतिबद्धता भएको उनले प्रष्ट पारे । आफूले देशको लागि काम गर्न अहिलेको सरकारको नेतृत्व गरेको ओलीले बताए ।

नीतिबिना भएका कामलाई नीतिमा ल्याउन आवश्यक भएको बताउनुभयो । नीति नहुँदा पनि व्यवहार चल्ने भए पनि त्यसलाई क्रमशः कानुन बनाएर थिति विधिमा ल्याउनु पर्ने उनको धारणा छ ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक नियुक्ति नभएको पनि प्रष्ट पार्नुभयो । निजामती सेवामा स्वछ भनेर मानिएका मानिसहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आउने उनले बताए।

कसैलाई धित नमरेको हुन सक्ने भए पनि संसदीय सुनवाई समितिले राम्रो काम गरेको ओलीले बताए। कतिपय न्यायाधीश र संवैधानिक आयोगका सदस्य बन्न लागेका मानिसहरूलाई समेत सुनुवाइ समितिले रोकेको उनले उदाहरण दिए ।
ओलीले आफू हरेक सच्चिनु पर्ने र अरूलाई पनि सच्याउनु पर्ने बताए। आफ्नो लागि अलग कानुन र अरूको लागि अलग कानुनको कल्पना गर्न नहुने उनको धारणा छ ।