धादिङका ५२ एम्बुलेन्स मापदण्ड विपरीत सञ्चालन

4.42k
Shares

धादिङ ।

सरकारले एम्बुलेन्स सञ्चालनको लागि मापदण्ड बनाएको छ । सरकारले कानुन बमोजिम बनाएको एम्बुलेन्स सञ्चालनको मापदण्ड पालना नगरेमा कानुन बमोजिम कारबाहीको व्यवस्था समेत गरेको भएपनि धादिङमा निर्बाध रुपमा यस किसिमका ५२ एम्बुलेन्स सञ्चालन भइरहेको छ ।

सरकारी मापदण्ड अनुसार सबै एम्बुलेन्समा अनिवार्य रुपमा जिपिएस जडान गर्नुपर्ने व्यवस्था छ । धादिङमा सञ्चालनमा रहेको रुबीभ्याली गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको एम्बुलेन्समा मात्र जिपिएस जडान गरी नवीकरण समेत गर्दै आएको छ ।

२ वर्ष अघि बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ४२ ओटा धादिङका एम्बुलेन्समा जिपिएस राखिएको थियो । हरेक वर्ष गर्ने नवीकरण एम्बुलेन्स सञ्चालक आफैँले गर्नु पर्ने हुन्छ तर निजी एम्बुलेन्स ल्याएर बाबुआमाको नाममा प्रतिष्ठान नाम राखेर सञ्चालन गरिएका र अन्य एम्बुलेन्स कसैले पनि जिपिएस राखेको जानकारी नभएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोया छत्कुलीले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति सदस्य सचिव रहने व्यवस्था छ ।

अब एम्बुलेन्स जिल्लामा “क” र “ख” वर्गकाे मात्र एम्बुलेन्स सञ्चालन गर्न पाइने मापदण्डमा उल्लेख भएपनि धादिङमा हाल एम्बुलेन्स व्यवस्थापन समितिको कार्यालयमा रहेको अभिलेख अनुसार ५२ ओटा एम्बुलेन्स हाल सञ्चालनमा आएर पनि ग वर्गमा रहेका छन् । हरेक वर्ष नवीकरण गर्नु पर्ने र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिबाट सिफारिस लिनुपर्ने भएपनि हालको तिन वर्षमा कुनै पनि एम्बुलेन्सहरू नवीकरण गर्न नआएको सचिवालयको जिम्मेवारी सम्हाल्नु भएका छत्कुलीको भनाइ छ ।

६८ ओटा एम्बुलेन्स अभिलेख रहेको धादिङ जिल्लामा ८ ओटा हाल सञ्चालनमा नरहेको, ८ ओटा एम्बुलेन्स ख वर्गको रहेको र ५२ ओटा एम्बुलेन्स ग वर्गमा दर्ता भएको र मापदण्ड अनुसार स्तरोन्नति गरी नवीकरण गर्नु पर्नेमा नगरेको पाइएको हो ।

स्वास्थ्य चौकी, धुनी बेसी नगर अस्पताल, गोगनपानी स्वास्थ्य चौकी, थाँक्रे ग्रामीण अस्पताल, रुबभ्यिाली ग्रामीण अस्पताल, धादिङ अस्पताल, अम्बे भरोसा अस्पताल, नेरेसो धादिङले सञ्चालन गरेको एम्बुलेन्स मात्र ख वर्गको छ । तर यि एम्बुलेन्सहरू समेत हरेक वर्ष नवीकरण गर्नु पर्नेमा धेरैजसोले नवीकरणको लागि जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिमा निवेदन समेत दिएका छैनन् ।

यसमध्ये धादिङ अस्पतालले सञ्चालन गरेको एम्बुलेन्स असार ५ गतेदेखि आफैँ बिरामी परेर बसेको छ । एम्बुलेन्स सञ्चालन नभएको असार ५ गते एम्बुलेन्स चालक फेरबदल गरेपछि बुझाबुझरत गर्दा बिग्रिएको अवस्थामा रहेको पाइएको र एम्बुलेन्स मर्मतका लागि कार्यालय प्रमुखले लेखा शाखालाई तोक लगाएको र बजेट खर्च पाउने अवस्था आएपछि व्यवस्थापन गर्ने धादिङ अस्पतालका सूचना अधिकारी डा. राम रिजालले बताए ।

धादिङ अस्पतालको मात्र होइन युनाइटेड सिमेन्ट उद्योगले सञ्चालन गरेको एम्बुलेन्स एक वर्षदेखि बिग्रेर बसेको छ ताल्ती स्वास्थ्य चौकीको एम्बुलेन्स ४ महिनादेखि सञ्चालन गर्न नसकिने गरी बिग्रेको छ ।

सरकारी मापदण्ड र नेपालको कानुन अनुसार सञ्चालनमा आउनु पर्ने मानिसको जीवनसँग सरोकार राख्ने एम्बुलेन्स व्यवस्थापनको काम जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले गर्ने र कानुन विपरीत सञ्चालित एम्बुलेन्सलाई कानुनी दायरामा ल्याएर सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र देव पाण्डेले बताए ।