कामपामा पछि अनुमोदन गर्ने गरी मनपरी सरुवा, कार्यपालिकाको निर्णय नगरी कर्मचारी पदस्थापन

364
Shares

–प्रदेश लोकसेवाबाट आएका ७ को पदस्थापन, ६ को सरुवा
–सरुवा हुने विभागीय र महाशाखा प्रमुख मात्रै
–तल्लो तहका कर्मचारी पनि सरुवा गर्ने तयारी

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले कार्यपालिकाको निर्णयबेगर नवौं तहको कर्मचारी व्यवस्थापन गरेको छ । नवौं तहको कर्मचारी व्यवस्थापन गर्न कार्यपालिकाको निर्णय आवश्यक हुन्छ । कामपाले पछि अनुमोदन गर्ने गरी सरुवा गरेको हो । कामपामा हाल प्रदेश लोकसेवा आयोगबाट नवौं तहका ८ जना कर्मचारी हाजिर भएका छन् ।

हाजिर भएका सबैलाई हिजो विभाग र महाशाखाको जिम्मेवारी दिएको हो । जिम्मेवारीसँगै केही कर्मचारीले हिजै पदस्थापना गरेको स्रोतको भनाइ छ । नयाँ कर्मचारीको पदस्थापनासँगै कामपाले ७ विभागीय प्रमुखको सरुवा गरेको छ । प्रमुख प्रसासकीय अधिकृतले सरुवालाई व्यवस्थित गर्न आफू सरुवा हुन चाहेको विभाग र महाशाखाको नाम दिन उल्लेख गरेका थिए।

‘हामीलाई दरखास्त मागेर ठाउँ माग्न आग्रह भएका थियौं, हामीले मानेनौं’ –सरुवा भएका कर्मचारीले नेपाल समाचारपत्रसँग भने। टेन्डर मागेजस्तो विभाग माग्न नचाहनेलाई मेयरका सचिवालयले धमाधम सरुवा गरेको थियो। केही विभागीय प्रमुखलाई जानकारी नै नदिई सरुवा गरिएको स्रोतले जनाएको छ। प्रवक्ता नवीन मानन्धरले सरुवा नभई जिम्मेवारी हेरफेर गरेको जानकारी दिनुभयो। उहाँका अनुसार पदस्थापना भएका ८ जनाको विषयमा कार्यपालिकाको बैठकले पछि अनुमोदन गर्नेगरी सरुवा गरेको हो।

कामपाले पहिलो चरणमा प्रदेश लोकसेवा आयोगबाट पदस्थापन भएका ७ जनाको पोस्टिङ गरेको छ। स्रोतका अनुसार रामदत्त साहलाई खरिद इकाइ, समीक्षा निरौलालाई सामाजिक विकास विभाग, हरि साटामगरलाई न्याय प्रशासन महाशाखा, धनबहादुर बस्नेत अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय, दीपक केसीलाई जनस्वास्थ्य, जगदीश अर्याललाई विपद् व्यवस्थापन महाशाखा र हरिचन्द्र लामिछानेलाई सहरी व्यवस्थापन महाशाखामा पदस्थापन गरेको छ।

कामपाले कामपाका प्रशासन विभाग प्रमुखसहित महत्वपूर्ण विभाग प्रमुखको समेत सरुवा गरेको छ। सरुवा हुनेहरूमा प्रशासन विभाग प्रमुख दीपक अधिकारी, वातावरण व्यवस्थापन प्रमुख रविनमान प्रमुख, राजस्व विभाग प्रमुख ध्रुव काफ्ले, सहकारी विभाग प्रमुख बलराम त्रिपाठी र प्रशासन महाशाखा प्रमुख सरिता राई र प्रशासन विभाग प्रमुख नमराज ढकाल रहेका छन्।

कामपाले अधिकारीलाई राजस्व, श्रेष्ठलाई मनोहरा जग्गा एकीकरण आयोजना, काफ्लेलाई सहकारी, त्रिपाठीलाई हनुमानढोका दरबारक्षेत्र विकास कार्यक्रम कार्यालय, राईलाई वातावरण व्यवस्थापन प्रमुख र ढकाललाई प्रशासन विभागमा सरुवा गरेको छ।

सरुवा भएका सबैलाई हिजो सोमबार पत्र थम्याइएको छ। प्रवक्ता मानन्धरले अधिकांश विभागीय प्रमुखको सरुवा भएको जानकारी दिनुभयो। कामपाले अन्य कर्मचारीको सरुवा गर्ने तयारी गरेको छ। लामो समय एकै विभागमा काम गर्ने कर्मचारीलाई पहिलो चरणमा सरुवा गर्ने तयारी गरेको छ। मेयर बालेन्द्र साहको निर्देशनमा सबै विभागीय र महाशाखा प्रमुखको सरुवा गरेको हो।

यसैबीच जनस्वास्थ विभागमा एक कर्मचारीलाई करारमा जागिर खुवाउन लागेको आरोपमा कारबाही गरेका तत्कालीन जनस्वास्थ्य प्रमुख रामप्रसाद पौडेल र मेयर सचिवालयका अधिकृत भगवती भण्डारीलाई तलब व्यवस्थापन गरे पनि जिम्मेवारी दिएको छैन। दुई कर्मचारी बिहान कार्यालय आएपछि हाजिर गर्दै बरण्डामा बसेर फर्किन थालेका छन्। निर्दोष सावित भएका दुई कर्मचारीलाई जिम्मेवारी नदिएको कारण उनीहरू निराश भएका छन्।