जनताबाट खबरदारीको खाँचो


जसले जतिसुकै इन्कार गरे पनि राजनीति गर्नुको उद्देश्य सत्ता प्राप्ति नै हो। यो कुरा नेपालका राजनीतिक दलहरुले बढी नै बुझेका छन् । बुझेको मात्र होइन, व्यवहारमा यसको सफल अनुवाद गर्नमा पनि उत्तिकै माहिर छन्। प्राप्त सत्ता देश र जनताको हितमा अधिकतम प्रयोग गर्ने विषय भने सधैँ विस्मृतिमा पर्दै आएको देखिन्छ।

यसले गर्दा नेपाल र नेपालीका लागि हरेक सरकार ‘जुनसुकै जोगी आए पनि कानै चिरेका’ भनेझैँ भएको छ। भएको सरकार ढल्ने र नयाँ सरकार बन्ने विषय केवल सत्ताका आसेपासे, त्यसबाट फाइदा लिन पाउने र नपाउने समूह, सम्बन्धित दलका राजनीतिक कार्यकर्ताको सरोकार मात्र बन्न पुगेको छ।

राजनीति आमजनताको सरोकार हुनुपर्ने भनिए पनि राजनीतिक दलका नेता र कार्यकर्ताको क्रियाकलापले गर्दा आममानिसमा राजनीतिप्रति लगावको भावना बढेको देखिँदैन। जसलाई राजनीतिप्रति थोरबहुत चासो छ, तिनीहरु स्वयं वा तिनका व्यक्तिहरुको हितका प्रयोजनले गर्दा हो भन्नुलाई अतिशयोक्तिका रुपमा लिनु नपर्ला। राजनीतिप्रति वितृष्णा र अलगावको भावना उब्जनु देश र जनताको हितको सवालमा राम्रो होइन । तर यो नेपाली राजनीतिको तीतो यथार्थ बन्न पुगेको छ। यसमा तर्क गर्न सकिएला तर तथ्यलाई नजरअन्दाज भने पक्कै गर्न सकिन्न । नेपाली समाज यसै यथार्थतामा गुज्ररिरहेको छ।

नेपाली समाज राजनीतिक व्यवस्थाको हिसाबले जुनरुपमा परिर्वतन भयो, त्यही अनुपातमा यहाँको सामाजिक, सांस्कृतिक र आर्थिक ढाँचा परिवर्तन हुन सकेन। यसले गर्दा सर्वसाधारणले राजनीतिक परिवर्तनलाई आफ्नो दैनिक जीवनबाट अनुभूत नै गर्न सकेनन्। हो, आज नेपालमा हरेक व्यक्तिलाई लेख्ने, बोल्ने स्वतन्त्रता छ। यसलाई विगतका शासन व्यवस्थाको तुलनामा उपलब्धिका रुपमा लिनुपर्दछ। तर लामो समयको अन्तरालमा संविधानप्रदत्त स्वतन्त्रताको अभ्यास गर्र्दै मुलुकको शिक्षा, स्वास्थ्य, रोजगारीको पहुँच र सुशासनको सवालमा जुनरुपमा फड्को मानुपर्ने हो, त्योरुपमा फड्को मार्न नसकेको मात्र नभई म्ुलुकको हालत झन्–झन् विकराल बन्दै गएको छ।

यही निराशालाई भजाउँदै कसैले राजतन्त्रको वकालत गर्दै छन् भने कसैले संघीयता खारेज गर्ने पैरवी गर्दै आएका छन् । यता कुनै राजनीतिक दलले ठूला–ठूला सपना देखाएर त कुनैले दुई दलीय व्यवस्था ल्याउनुपर्ने, साना दललाई निमिट्यान्न पानुपर्ने कुरा गर्न थालेका छन् । कोही समाधानबेगरको गाली गर्ने प्रतिक्रियात्मक राजनीति गरिरहेका छन् । भुइँ तहका आममानिसका दृष्टिले देश र समाजलाई नियाल्दा देखिने दृष्टान्त यस्तै–यस्तै हुन् । यसले गर्दा आजका युवापुस्तालाई कसरी देश छाडौँजस्तो भएको छ।

नेपाल अरु मुलुकको विकास एवं प्रविधि सिकेर यहाँ विकास गर्ने भन्दा पनि खालि श्रम निर्यात गर्ने देश मात्र बनिरहेको छ। यस्ता समस्यालाई देश र जनताको हितको जिम्मेवारी लिएकाहरुले कहिलेसम्म टुलुटुल हेरिरहने ? यस किसिमको समस्यालाई नजरअन्दाज गरिरहेको हो भने मुलुक क्रमशः अर्कोे असन्तोष, विद्रोह वा दुर्घटनातर्फ उन्मुख भइरहेको त होइन ? भन्ने प्रश्न पनि बेलाबखत उठ्ने गरेको छ। यस्तै अवस्थाले मानिसलाई अपराधतर्फ डोर्‍याउने हो। यसो हुनुको सबैभन्दा मुख्य दोष राजनीतिक दलहरु नै हुन्।

तिनका अकर्मण्यता र स्वार्थको लडाइँले गर्दा यस्तो भएको हो। यसको समाधान जनताको निरन्तर खबरदारी र सचेत अभियानबेगर सम्भव छैन। अतः जतिसुकै कठिन भए पनि यो अवस्थाबाट पार लाग्न राजनीतिक दलहरुलाई निरन्तर खबरदारी गर्ने सचेत जनताको अहं भूमिका हो । यही नै हरेक समस्याको समाधानको पहिलो पाइलो हो।