जनदबाब थेग्न नसक्दा बंगलादेशकी प्रधानमन्त्री हसिना विदेश पलायन

448
Shares

काठमाडौं ।

आरक्षणको विरोधमा विद्यार्थीले देशव्यापी आन्दोलन चर्काएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारत पलायन भएकी छन्।

प्रधानमन्त्रीको सरकारी निवासबाट सैनिक हेलिकोप्टर चढेर भारतको कोलकाता पलायन भएकी शेख त्यहाँ पनि आफूलाई सुरक्षित महसुस गर्न नसकेपछि राजधानी नयाँदिल्लीतर्फ लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रधानमन्त्री शेख भागेर भारत पुगेपछि बंगालादेशका सेना प्रमुख जनरल वकार उज जमानले देश संकटतर्फ धकेलिएको र मुलुकलाई बचाइराख्न आफ्नो नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने घोषणा गर्नुभएको छ।

उहाँले आन्दोलनरत विपक्षी मोर्चासँग वार्तासमेत गर्नुभएको छ। उहाँले राष्ट्रपति मेहम्मद शहाबुद्दिनसँग भेटसमेत गर्नुभएको छ। बंगलादेशका संस्थापक बांगाबन्धु शिख मुजिबुर रहमानकी छोरी शेख विगत १६ वर्षदेखि एकछत्र रूपमा शासन गर्दै आउनुभएको थियो।

उहाँले बंगलादेश स्वतन्त्रताका लागि बलिदान दिने बंगालीका सन्तानका लागि सरकारी जागिरमा ३० प्रतिशत आरक्षण दिने घोषणा सरकारले गरेपछि केही साताअघिबाट सरकार विरोधी अभियान शुरू भएको थियो । त्यहाँको सर्वोच्च अदालतले सरकारको उक्त निर्णयलाई खारेज गर्ने घोषणा गरे पनि सरकारले भने उक्त निर्णयलाई गैरकानुनी भनेर ठहर गरेपछि आइतबारबाट पुनः आन्दोलन चर्किएको थियो ।

केही हप्ताअघि भएको आन्दोलनमा सरकारले दबाउँदा २ सयजना आन्दोलनकारीको ज्यान गएको थियो भने हजारौं भाइते भएका थिए । आइतबारबाट शुरू भएको आन्दोलनमा एकै दिन झन्डै १ सय आन्दोलनकारीको ज्यान गएपछि देशभर हिंसा भड्किएको थियो । अहिलेसम्म हिंसामा परेर ३ सय नागरिकले ज्यान गुमाएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

आन्दोलनकारी सोमबार ढाकास्थित प्रधानमन्त्री कार्यालय गण भवन र सरकारी निवासमा हजारौं आन्दोलनकारी प्रवेश गरी तोडफोड गर्न थालेपछि सेनाले समेत स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि जथाभाबी गोली हानिएको विपक्षीले आरोप लगाएका छन् । प्रधानमन्त्री निवास छिरेका आन्दोलनकारीले लुटपाट मच्चाउनुका साथै प्रधानमन्त्री निवासमा आगजनी गर्ने प्रयास गरेको दृश्य टेलिभिजनहरूले प्रसारण गरेका थिए ।

मुलुकको अवस्था नाजुक बन्दै गएपछि प्रधानमन्त्री शेख आफ्नी बहिनीलाई लिएर शुरूमा भारतको कोलकातातर्फ भागेकी थिइन् । प्रधानमन्त्री शेखले देश छोडेको खबर सार्वजनिक हुनासाथ आन्दोलनकारी आन्दोलनका कार्यक्रम रोकेर खुसियाली मनाउन सडकमा निस्किएका थिए । दशांै हजार बंगालादेशी नागरिक सडकमा निस्किएर विजयोत्सव मनाएका दृश्यहरू विभिन्न अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरूले प्रसारण गरेका छन् ।

सेनाले सम्बोधनमार्फत् आन्दोलनमा उत्रिएका नागरिकलाई शान्त रहन र नयाँ सरकार गठनमा सहयोग गर्न आग्रह गरेको भए पनि देशका विभिन्न ठाउँमा अझै हिंसात्मक घटना भइरहेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपीले जनाएको छ । यता, भागेर दिल्ली पुगेकी शेख दिल्लीमा बस्छिन् वा त्यहाँबाट पनि अर्को मुलुक जान्छिन् भन्ने अहिलेसम्म खुलेको छैन ।

सन् १९९६ मा पहिलोपल्ट प्रधानमन्त्री भएकी शेख २००९ देखि भने लगातार बंगलादेशको प्रधानमन्त्री हुँदै आएकी थिइन् । विपक्षीप्रति निकै आक्रामक ढंगले प्रस्तुत हँुदै आएकी शेख गत जनवरीमा भएको निर्वाचनमा बहुमत हासिल गरेपछि शेख ५ वर्षका लागि प्रधानमन्त्री छानिएकी थिइन् ।

तर, विपक्षीहरूले भने शेखमाथि विभिन्न आरोप लगाउँदै सत्ताबाट हटाउने घोषणा गरेका थिए । आफ्नो पछिल्लो कार्यकालमा देशका लागि बलिदानी दिनेहरूको सन्तानका लागि सरकारी जागिरमा ३० प्रतिशत कोटा सुरक्षित गर्ने घोषणा गरेपछि विपक्षीले यसलाई आन्दोलनको मसलाका रूपमा प्रयोग गरेका थिए । जसले सोमबार आएर मूर्त रूप लिएको छ । सेनाले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने भने पनि अहिलेसम्म कुनै सहमति भइसकेको छैन ।

नेपाली विद्यार्थी सुरक्षित
बंगलादेशमा हिंसा चर्किएपछि त्यहाँ पढ्न गएका नेपाली विद्यार्थीहरू केही स्वदेश फर्किएका थिए भने अधिकांश विद्यार्थी विभिन्न विश्वविद्यालयमा सुरक्षित रूपमा बसेको पाइएको छ । ढाकास्थित नेपाली दूतावासले बंगलादेशको सुरक्षा व्यवस्था नाजुक भएकाले कलेज हाताबाट बाहिर ननिस्कन आग्रह गरेको छ । दूतावासले अहिलेसम्म बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित रहेको बताएको छ ।

नेपाल–भारत सीमा नाकाका कडाइ
बंगलादेशका भड्किएको हिंसाका कारण त्यसको असर नेपालमा पर्न सक्ने आँकलन गर्दै सरकारले नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

पूर्वको काँकडभिट्टा नाकादेखि भैरहवाको सुनौली नाकासम्म सुरक्षा व्यवस्था मजबुत बनाएको बताएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सीमा नाकामा कडाइ गर्न निर्देशन दिनुका साथै बिदामा रहेका सुरक्षाकर्मीलाई तुरुन्तै काम फर्कन दुवै संगठनले निर्देशन दिएको छ ।

सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा खटिएको बीओपीमा अहिलेको संख्यामा केही जनशक्ति थप गरेर सुरक्षा निगरानी बढाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी मनोज न्यौपानेले जानकारी दिनुभयो । ‘बंगलादेशका आन्दोलनकारीले सरकार समर्थक नेता कार्यकर्ता तथा सर्वसाधारण नागरिकमाथि धावा बोल्न सक्ने र त्यसबाट उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाएका छौं’ –नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

दक्षिण एसियामा एकपछि अर्का शासक भाग्दै

कोरोना संक्रमणपछि विश्वमा आर्थिक मन्दी चरम रूपमा फैलियो। सरकारले जनतालाई सोचेजस्तो सेवासुविधा दिन नसकेपछि जनता भड्किए। त्यसको असर सरकारमा पर्‍यो। दक्षिण एसियाली मुलुक श्रीलंकामा बेरोजगारको संख्या बढ्दै गयो भने महँगीले सीमा नाघेपछि जनता आन्दोलनमा उत्रिए।

खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको चरम अभाव भएपछि जनताले त्यहाँको राष्ट्रपति भवनमा आक्रमण गरेपछि राष्ट्रपति गोटावाया राजापाक्षेले २०७९ असार २९ गते राजीनामा दिएर राष्ट्रपति भवनबाट भागेर ज्यान जोगाएका थिए। त्यस्तै, अर्का दक्षिण एसियाली मुलुक अफगानिस्तानका राष्ट्रपति असरफ घानी २०७८ साउन ३१ मा देश छोडेर अमेरिका पलायन भएका थिए।

अमेरिकाको आडभरोसामा शासन सत्ता चलाउँदै आएका घानीमाथि तालिवानले धावा बोलेपछि देश छोडेर अमेरिका पलायन भएका थिए। अहिले त्यहाँ तालिवानले शासन गरिरहेको छ।