सतीदेवीमा छोरीबेटीको व्यथा


काठमाडौं ।

पत्रकार, फिल्म लेखक तथा निर्देशक लक्ष्मण सुवेदीद्वारा निर्देशित फिल्म सतीदेवीको ट्रेलर हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। तीन मिनेटको ट्रेलरमा छोरीबेटीको कथा व्यथा छ।

ट्रेलरमा महिला सशक्तीकरण, पारिवारिक उल्झन, सामाजिक सोच तथा छोरीहरूले बाबुआमाको खुसीका लागि गर्ने त्याग प्रस्तुत गरिएको छ।

चार छोरी भएको एक परिवारको कथा पोखिएको ट्रेलरमा छोरा पाउने चाहनामा छोरीछोरी जन्मिएका अभिभावकले समाज, छरछिमेक, आफन्तबाटै पाउने अपहेलना, अवगाल तथा होच्याइ र हेलाको प्रसंग हृदयस्पर्शीरूपमा देखाइएको छ।

निर्देशक सुवेदीले सतीदेवी भिन्न र उत्कृष्ट फिल्म बनेको दाबी गर्दै महिलाको विषयमा समाजमा व्यप्त गलत सोच र भ्रम चिर्न प्रभावकारी सन्देश दिने बताए। अभिनेत्री मलिका महतले फिल्ममा आफ्नो सशक्त भूमिका रहेको जनाउँदै आफू यसअघि यतिको यथार्थ र मौलिक विषयमा प्रस्तुत हुन नपाएको बताइन्।

फिल्ममा मलिकासँगै सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनीषा सापकोटा, जयन्त रेग्मी, विमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, ईश्वरी सिंह, पवन केसी, जगदीश अधिकारी, बालकलाकारद्वय हर्षिका वली र मञ्जिला बानिया“लगायतले अभिनय गरेका छन्।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति तथा श्रीदेवी सुवेदीको निर्माणमा निर्मित फिल्ममा निर्देशक सुवेदीकै लेखन र गीत रहेको छ। आगामी भदौ ७ गते रिलिज हुने फिल्ममा दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, बाबु श्रेष्ठको छायांकन र तारा थापाको सम्पादन रहेको छ।