नेपाली राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भई ७५ वर्षमा हिड्दै छ । २००६ सालमा भाद्र ३० गते केन्द्रीय नेतृत्व, विधान र घोषणा पत्रको सार्वजनिक गर्दै नेकपाको स्थापना (नेपालमा कम्युनिष्ट पार्टीको संक्षिप्त इतिहास क. पुष्पलाल, पुष्पलाल स्मृति प्रतिष्ठान) भएको थियो । यसको गतिविधि भने त्यो भन्दा अगाडिदेखिनै चलिरहेको थियो ।
माक्र्सवादी शिविरका साहित्य, राजनीति तथा दर्शनको अध्ययन गर्नेहरूले राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिक लगायतका घटनाक्रमका बारेमा प्रतिक्रिया दिने, गतिविध गर्ने आदि कार्यहरू हुने गरेका थिए । त्यस मध्ये नेपालमा कम्युनिष्ट पार्टीको आवश्यकता र यसका अवधारणा सहित पहिलो पर्चा बैशाख १० गते तयार गरेर १२ गते प्रकाशन (उही) भएको थियो ।
आज पार्टी स्थापना दिवसकै सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीहरूमा विवादहरू सिर्जना भएका छन् । कसैले भाद्र ३०, २००६ मान्दछन् । कसैले बैशाख १०, २००६ मान्दछन् र कसैले दुबै मान्दैनन् ।
के गर्न भनेर कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो, के का लागि आन्दोलन शुरु गरिएको थियो ? नहुनु पर्ने के के भइरहेका छन् हुनु पर्ने के के भइरहेका छैनन् भन्ने बारेमा खासै बहस छैन । विचारधारात्मक बहस त लगभग मरेकै छ, पार्टी स्थापना जस्ता विषयहरूमा समेत बखेडा निकालेर कम्युनिष्ट आन्दोलन र आदर्शमाथि नै प्राहार गर्ने काम भएको छ ।
संक्षिप्त समीक्षा
कम्युनिष्ट पार्टी भनेको श्रमजीवी सर्वहारा किसान मजदुर वर्गीय पार्टी हो । जसले समाजमा चलिआएका सबै प्रकारका शोषण उत्पीडन र विभेदको अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समाज निर्माण गर्न नयाँ जनवादी क्रान्तिमार्फत सर्वहारा वर्गीय अधिनायकत्व भएको राज्यव्यवस्था स्थापना गर्दछ । र समाजवाद वैज्ञानिक साम्यवादी समाज निर्माणको आधारको विकास गर्दछ । नेपालमा कम्युनिष्ट पार्टीको स्थापनाको समयमा जहानिया राणा शासन थियो ।
राणा शासन आन्तरकि र बाह्य अन्तरविरोधका कारण अगाडि बढ्न नसक्ने अवस्थामा थियो । भारतीय शाषक वर्गलाई नेपाललाई (सुगौली सन्धी गर्ने इष्ट इण्डिया कम्पनि हटेपछि) आफ्नो अधिनस्त गर्न वा कठपुतली बनाउन सहमत हुनेहरू चाहिएको थियो । चीनीया प्रभाव रोक्नका लागि प्रयोग हुनसक्ने शक्ति चाहिएको थियो । अर्थात कम्युनिष्ट विरोधीहरू चाहिएको थियो । र कम्युनिष्ट विचार र पार्टी भित्रै रहेका अवसरवादीहरू चाहिएको थियो । ता कि उनीहरूको लैलै मा लैलै होस । सन् १९५० को नेपाल भारत मैत्री नामक सम्झौता यसैको उपज थियो । त्यस्तै भयो । जुनकुरा विस्तारित हुँदै आज एमसीसी सम्झौतासम्म पुगेको छ । कम्युनिष्ट पार्टी स्थापना गरेको अर्ध सामन्ती अर्ध औपनिवेशिक उत्पादन सम्बन्ध र त्यसमा आधारित व्यवस्थाको समुल नष्ट गरेर नयाँ जनवादी गणतन्त्र नेपालको स्थापना गर्न थियो । तर यसको ठीक विपरित भएको छ । सम्झौता परस्तहरूका कारण आज नेपालमा सामन्ती दलाल तथा नोकरशाही पूँजीवादी किसिमको उत्पादन सम्बन्ध र त्यसमा आधारित संसदवादी व्यवस्था कायम भएको छ । र देशलाई आजसम्म आइपुग्दा नव सामन्ती नव औपनिवेशिक हुँदै एमसीसी सम्झौता पछि उपनिवेशको अवस्थामा नेपाललाई पुराइएको छ । उग्र बामपन्थी भड्कावबाट संसदवादी संशोधनवादमा कम्युनिष्ट आन्दोलनलाई विसर्जन गरिएको छ ।
कम्युनिष्ट पार्टीको विचारधारात्मक प्रस्तावना
कम्युनिष्ट पार्टीको दार्शनिक प्रस्तावनामा जीवन र जगतलाई हेर्ने सन्दर्भमा द्वन्द्वात्मक भौतिकवाद हो । मानव समाजको इतिहासलाई हेर्ने सन्दर्भमा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद हो जसलाई मानव समाजको इतिहास भनेको वर्ग संघर्षको इतिहास (आदिम साम्यवादी युग बाहेक) भनिएको छ । अब बन्ने समाज वैज्ञानिक साम्यवादी समाज बन्छ र यो समाज बन्नका लागि विभिन्न चरणबाट गुज्रनु पर्छ । आदिम साम्यवादी, दास, सामन्ती, पूँजीवादी, समाजवादी हुँदै वैज्ञानिक साम्यवादी । आजको विश्व व्यवस्थाको संघर्षको मुल प्रवृत्ति भनेको साम्राज्यवाद विरुद्ध समाजवाद स्थापनाको संघर्ष नै हो ।
वर्तमान व्यवस्था
वर्तमान विश्व व्यवस्थामा जी २० मा रहेका देशहरू पूँजीवादी चरित्र पहिलो र सामन्तवादी (अध्यात्मवाद) दोश्रो चरित्रका देशहरू हुन । जसलाई विकशित देशहरू भनिएको छ । अति विकसित भनिएको अमेरिकाका चरित्र पनि त्यही हो । विकासशिल देशहरू पूँजीवादसंग सामन्तवाद वा सामन्तवादसंग पूँजीवाद सम्झौता गरेर वा जोल्ठिएर अगाडि बढ्दै गरेको देखिन्छ । विकासउन्मुख देशहरूमा सामन्तवादले पूँजीवादसंग सम्झौता गरेर सामन्ती दलाल व्यवस्था कायम गरेर आफ्नो खाइजीवीका धानेको छ । यस्तो देशहरूमा तेश्रो विश्वका देशहरू पर्दछन् । जसमा नेपाल पनि पर्दछ । यो अवस्था बदल्न नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो ।
के गर्ने भनिएको थियो, के भयो ?
नेपाल एक अर्ध सामन्ती अर्ध औपनिवेशिक उत्पादन सम्बन्धमा आधारित शोषण उत्पीडन भएको मुलुक भएकाले यो सम्बन्धको अन्त्य गर्न नयाँ जनवादी क्रान्ति गर्नु पर्दछ भनिएको थियो । जसले समाजमा रहेका सबै प्रकारका शोषण उत्पीडन र विभेद, सामन्ती प्रतिक्रियावादी, भारतीय एकाधिकार पूँजीवाद र एङ्लो अमेरिकन साम्रज्यवाद को अन्त्य गर्दै समतामा आधारित गतिशिल प्रगतिशील सम्बन्धको स्थापना र विकास गर्ने हुन्थ्यो ।
तर यसको ठीक विपरित पार्टीको पहिलो सम्मेलन पछि जस्लाई उखेलेर क्रान्तिद्वारा फ्याक्नु पर्छ भनिएको थियो त्यहिसंग सम्झौता गरेर नेपालको कम्युनिष्ट आन्लोलन ओरालोको यात्रामा गयो । आज यहाँसम्म आइपुग्दा विसर्जनको अवस्थामा पुग्यो । यसरी वर्तमानमा संसदवादी व्यवस्था चलिरहेको छ । जो सामन्त, दलाल तथा नोकरशाही पूँजीवादीहरुको कठपुतलीको रुपमा रहेको छ ।
के गर्ने ?
आधुनिक चिन्तन परम्पराको शुरुआत नै जनतालाई कसरी सुखी, खुसी र समृद्धशाली गराउन सकिन्छ भन्ने विषयबाट भएको थियो । राजनीतिक पार्टीहरू त्यसैको उपजमात्र हुन । जनताका लागि काम गर्न नसक्ने पार्टीहरू भनेको उही पुराना शोषक सामन्ती वा पूँजीवादी नै ठहर्दछन् । नेपालका केही कम्युनिष्टहरू पनि यस्तै भए । सत्तामा पुग्नका लागि जेजसरी पनि जनहितमा काम गरेपनि सत्तामा पुगेपछि उही सामन्तको हितमा उही पूँजीपतिको हितमा काम गरेको देखिन्छ । यसका माध्यमबाट केही मात्रात्मक परिवर्तन भए तापनि गुणात्मक परिवर्तनको तगारो बनेर उभिएका छन् । यो तगारो सिद्धान्तनिष्ट बहस छलफलबाट हल गर्न सकिन्छ नभए अर्को विकल्प त छदैछ । छलफलको मुल विषय भनेको कम्तिमा ‘नीति प्रधानता¬’ का बारेमा हुनु पर्दछ । ‘नेता प्रधानता’ ले देश, जनता र पार्टी सबै विसर्जनमा पुराएको अवस्था हो । नव तानाशाहा अबको समाजको आवश्यकता हैन, नीतिमा नव निर्माता हो, नव रूपान्तरण कर्ता हो र नव पुनर्गठन कर्ता हो ।
के कम्युनिष्ट पार्टी नाम राख्दैमा कम्युनिष्ट हुन्छ ?
पटक्कै हुँदैन । कामले हुन्छ । आचरणले हुन्छ । सिद्धान्त र दृष्टिकोणले हुन्छ । त्यसमा आधारित नीति तथा कार्यक्रमले हुन्छ । कम्युनिष्ट विचारधारा भनेको सबै प्रकारका शोषण उत्पीडन र विभेदको अन्त्य गर्ने विचारधारा हो । यही अनुसार उसले काम गरिरहेको हुन्छ । यही काम नै उसको आचरण अर्थात जीवन संस्कृति बनेको हुन्छ । यो हरेक मानिसको नसानसामा हुन्छ । यसैमा आधारित सिद्धान्त तथा दृष्टिकोणको आलोकमा गरिने वर्ग विश्लेषण र बन्ने संघर्षका कार्यक्रम र त्यसले दिने नतिजाबाट को कम्युनिष्ट हो वा हैन भन्ने निर्धारण गर्न सकिन्छ । अझ ठोस रुपमा भन्दा कम्युनिष्ट भनेको द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणलाई अनुसरण र प्रयोग गरी अगाडि बढ्नेहरू हुन ।
के संसदवादी कम्युनिष्ट पार्टीहरू कम्युनिष्ट हैनन् ?
हैनन् । वर्ग संघर्षलाई छोडेका कम्युनिष्ट पार्टीहरू कम्युनष्टि पार्टी हैनन् । द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण छोडेका पार्टीहरू कम्युनिष्ट पार्टी हुन सक्दैन । संसदवादी व्यवस्थाको अन्त्यका लागि जनवादी गणतन्त्र स्थापनाका लागि संघर्षरत पार्टी आजको सापेक्षमा कम्युनिष्ट पार्टी हुन । समाज विकासको अवधारणा मा वर्ग संघर्षको अनिवार्यतालाई स्वीकारिएको हुन्छ । भोटबाट शक्ति बनाउने नीति वर्ग समन्वयको नीति सिद्धान्त भएकाले यो नीति लिनेहरू संसदवादी हुन र उनीहरूलाई कम्युनिष्ट भन्न सकिदैन ।
के नेपालमा कम्युनिष्ट वा कम्युनिष्ट पार्टी छ त ?
नेपालमा कम्युनिष्टहरू छन् । असंगठित छन् । विभाजित छन् । विभिन्न भ्रमजालमा फसेका फसाइएका छन् । परिस्थितिजन्य कम्युनिष्टहरू छन् । साँचो अर्थका कम्युनिष्ट र कम्युनिष्ट पार्टीहरू ससाना गुट उपगुटमा अल्झिएका छन् । झिनामसिना मतभेद बोकेर संघर्ष भने गरिरहेका छन् । तर यसले यही तरिकाले शक्ति आर्जन गर्न भने सक्दैन । बरु भ्रमदिन तयार गरिएका वा भएका सम्झौतावादीहरू दुई किसिमबाट शक्तिमा पुगेको देखिन्छ । एउटा प्रवृत्ति भनेको उग्र बामपन्थी दुस्साहसवादबाट दक्षिणपन्थी संशोधनवाद तर्फ (माले हुँदै एमाले) र अर्को प्रवृत्ति उग्र बामपन्थी दुस्साहसवाद संशोधनवाद (माओवादी) हुँदै आत्मसमर्पणवादमा विसर्जन भए ।
के एउटै देशमा धेरै कम्युनिष्ट पार्टी हुन सक्छन् ?
राजनीतिमा जतिवटा कम्युनिष्ट पार्टीहरू पनि हुन सक्दछन् । तिनीहरूको मुख्य कार्यक्रम भनेको शोषित उत्पीडित वर्ग समुदायलाई उनीहरूको मुक्ति यात्राबाट अलग्याउनका लागि हुन्छ । जस्तो नेपालमा धेरै सिंग पुच्छर जोडिएका वा नजोडिएका कम्युनिष्ट नामधारी पार्टीहरू छन् । कतिपय नामधारी कम्युनिष्ट पार्टीहरूले त सरकारको धेरै पटक नै नेतृत्व गरिपनि सके । तर जनता वा शोषित उत्पीडित वर्ग समुदायका समस्याहरू समाधान भए त ? राष्ट्रियताका, जनजीवीकाका र जनतन्त्रका कुनै समस्या समाधान भए त ? भएका छैनन् । बरु थपिएका छन् । जीवनयापन झन कष्टकर बनिरहेको छ । यहाँ के निष्कर्ष निकाल्न सकिन्छ भने कम्युनिष्ट विरोधीहरूले फुटाउ र राज गर भन्ने सिद्धान्तको प्रयोग गरेकोमा सफल भएका छन् । केही कम्युनिष्ट पार्टीहरू कम्युनिष्ट आदर्श अनुरुप नै देखिन्छन् । तर विसर्जनको डढेलोले खरानी भएकाहरूबाट बचेका केही फिलिङ्गाहरू पनि अस्तित्व रक्षाको संकटबाट गुज्रि रहेका छन् । यसले गर्दा उनीहरू नै अस्तित्ववादी लघुताभासको सिकार हुन पुग्दा रहेछन् । आत्मगत वा मनोगत धारणा वा प्रयत्नले कम्युनिष्ट, कम्युनिष्ट आन्दोलन वा पार्टी नबन्दो रहेछ । यहाँ पनि उही अगाडिकै निष्कर्ष लागु हुन्छ । अर्थात नेपाली समाजको मुल चरित्र सामन्तवादी छ । अवसरवादी छ । निम्नमध्यम पूँजीवादी छ र उपभोक्तावादी छ । यसको समाधान गर्ने दृष्टिकोण भनेको कम्युनिष्ट दर्शन नै हो र त्यसमा आधारित पार्टी हो । सामन्ती दलाल नोकरशाही पूँजीवादसंग नेपाली शोषित उत्पीडित वर्ग समुदायको प्रधान अन्तरविरोध हो भने त्यसको अन्त्यका लागि यस्तो प्रकारको उत्पादन सम्बन्धको अन्त्य हुनु पर्दछ । त्यस्तो उत्पादन सम्बन्ध अन्त्यका लागि तयार हुँदै गरेको त्यही शोषित उत्पीडित उत्पादक शक्ति नै जनवादी क्रान्तिको नेतृत्वदायि शक्ति हुन सक्छ । हाल शोषित उत्पीडित वर्ग समुदायले नेतृत्व गरेको पार्टी नभएकाले नेपालमा एउटै कम्युनिष्ट पार्टी हुन नसकेको हो । यहाँ त स्वार्थ समुहरू, विचार समुहहरू र क्रान्तिको व्यवसाय चलाउनेहरूको प्रधानता भएकाले कम्युनिष्ट आन्दोलन र पार्टी विसर्जनमा पुगेको हो । आजको समयमा राम्रो कम्युनिष्ट पार्टी भनेको विचारमा आधारित, सिद्धान्तनिष्ट इमान्दार, प्रतिबद्ध, त्याग र निष्ठाले युक्त भएकालाई मान्नु पर्दछ । यिनीहरू पनि आकारमा साँघुरिदै गइरहेका छन् । अरुत नामका मात्र भए ।
नेपालका कम्युनिष्ट पार्टीहरू कोही संसदवादी गोलचक्करमा रमाइ रहेका छन् । कोही आधी संसदवाद आधी गैरसंसदवादी भएका छन् । कोही संसदवादको अन्त्यका लागि संसदवादीहरूसंग मिल्नुको विकल्प छैन भनिरहेका छन् । कोही संसदलाई नै क्रान्तिकारी संसद बनाउन सकिन्छ भनेर संसदवादी घेरैमा सीमित छन् । अस्तित्वको संकटमा रहेका तर संसदवादको अन्त्य गरेर नयाँ जनवाद ल्याउनु पर्छ भन्ने केही कम्युनिष्ट पार्टीहरू वीचमा नेपालको राजनीति चलिरहेको छ ।
राजनीतिक रुपमा वर्गीय पक्षधरहरू एक ठाउँमा आउनुको विकल्प छैन । संसदवादीहरूको र गैरसंसदवादीहरूको वीचमा विभाजन जरुरी छ । संसदवादीहरूको मुख्य योजना सदन देखि सदनसम्मको हो । गैर संसदवादीहरूको मुख्य योजना जनता देखि जनतासम्मको हुनु पर्दछ । यसो गर्नका लागि जनताका हातमा रहेको उत्पादनका साधनको प्रयोग संसदवादी वा पूँजीवादी शोषण उत्पीडनको अन्त्यका लागि कायम हुनेगरी संघर्षलाई अगाडि बढाउनु पर्दछ । यसको मतलब ‘विचारमा आधारित उत्पादन सम्बन्ध, उत्पादन सम्बन्धमा आधारित विचार’ मा आधारित कार्यक्रम, कार्यनीति र कार्यदिशाकासाथ अगाडि बढ्न सक्नु पर्दछ । यसो गर्दै गर्दा आफुले आफैंलाई वा अभियानकै रुपमा सिद्धान्तनिष्ठ रूपान्तरण हुनै पर्दछ । रूपान्तरणसंगै कम्युनिष्ट आन्दोलन र पार्टी पुनर्गठन गर्नु पर्दछ । यसरी अगाडि बढ्न सकियो भने अथवा यसरी अगाडि बढ्नुको विकल्प नभएकाले एउटै कम्युनिष्ट बनाउन सकिन्छ । यसका लागि सानातिना प्रयत्नहरूले सम्भव छैन । वस्तुगत परिस्थिति पनि रूपान्तरण सहित पुनर्गठनको चरणमा रहेको छ ।
सारमा भन्नु पर्दा नेपाल भारत चीनको परिवर्तनको पनि हिरक समय हो । भारत भन्दा कता हो कता चीनले धेरै प्रगति गरिसकेको छ । नेपाल भन्दा त भारतले प्रगति गरेको छ नै तर नेपाल भने दुबै गतिमान अर्थतन्त्रको साथमा भएर पनि मुर्झाएको छ । कम्युनिष्ट पार्टी र आन्दोलन धेरै चिरामा चिरिएको छ । राजनीति भनेको देश र जनताको प्रगति र समृद्धिका लागि गर्ने हो । तर यहाँ उल्टो भएको छ । कमसेकम सिद्धान्तको धेरै हिसा प्रयोग भएको चीनलाई हेरेर नेपालका कम्युनिष्ट हुँ भन्नेहरूले केही सोचे भने, केही गरे भने केही सिके भने कम्युनिष्ट पार्टी स्थापनाको हिरक वर्षले केही सार्थकता पाउला कि ? आत्मरतीबाट केही माथि उठ्ने हो कि ?
कम्युनिष्ट आदर्शलाई छोड्दा के भयो ? कम्युनिष्ट आदर्शलाई बोकौं के हुँदैन ? मनन गरौं । गलतलाई गलत भन्ने आँट गरौं । कमजोरीलाई सच्याऔं । सच्चाइलाई स्वीकार गरौं । दास मानसिकताबाट मुक्त होऔं । सगरमाथाको देशबाट उच्च शिर बनाई संसारलाई नयाँ सन्देश दिऔं । गर्न सक्ने सामर्थ हामीमा छ ।
(लेखक, नेपाल कम्युनिष्ट पार्टीको संगठन विभाग प्रमुख हुनुहुन्छ ।
प्रतिक्रिया