शेयर बजार र जीडीपीको सम्बन्ध


यति बेला नेपालको शेयर बजार वृद्धिको लहर चलेको छ । नयाँ सरकार गठनको प्रक्रियासँगै शेयर बजारले सकारात्मक गति लिएको हो। असार महिनाको तेस्रो सातालाई आधार बनाउँदा पछिल्लो एक महिनाको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ सय अङ्कको हाराहारीमा वृद्धि हुँदा शेयर बजारका लगानीकर्ताको कुल सम्पत्ति करिब ११ खर्ब रुपियाँले बढेको देखिन्छ।

एक महिनाअघि करिब २ हजारको विन्दुमा रहेको शेयर बजार यति बेला २७ सयको विन्दुमा पुगेको छ भने ३२ खर्बको हाराहारीमा रहेको कुल बजार पुँजीकरण ४३ खर्ब रुपियाँको हाराहारीमा रहेको छ।

त्यस्तै दैनिक कारोबार पनि २० अर्ब रुपियाँको हाराहारीमा हुने गरेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) करिब ५७ खर्ब रुपियाँ रहेको अनुमान गरिएको छ । त्यसलाई आधार मान्ने हो भने जीडीपीको ८० प्रतिशतभन्दा माथि शेयर बजारको पुँजीकरण पुगिसकेको छ। नयाँ सरकारको गठन तथा नेपाल राष्ट्र बैंकको लचिलो मौद्रिक नीति आएसँगै शेयर बजारमा एकाएक रौनक देखिएको हो।

अर्थतन्त्रका अन्य सूचक सामान्य अवस्थामा रहँदा पनि सरकार परिवर्तनले शेयर बजारलाई निकै प्रभावित पारेको छ। पछिल्ला संकेतलाई विश्लेषण गर्दा शेयर बजार अझै वृद्धि हुने पनि देखिन्छ। जसले गर्दा शेयर बजार र जीडीपीबीचको सन्तुलन हुनु आवश्यक छ । विगतमा जीडीपीभन्दा बढी शेयर बजारको भ्यालु हुँदा बजारमा दबाब परेको थियो। शेयर बजार र जीडीपीबीचको सम्बन्ध जटिल र पारस्परिक छ।

दुवैले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्छन्। दुवै सूचकबीचको सम्बन्ध र तिनको अर्थतन्त्रमा पर्ने प्रभावलाई विश्लेषण गरेर लगानी गर्नुपर्ने हुन्छ । जब जीडीपी बढ्छ, अर्थ अर्थतन्त्रले राम्रो प्रदर्शन गर्दै छ भन्ने बुझ्नुपर्छ । यसले लगानीकर्तामा आत्मविश्वास बढाउँदा शेयर बजारमा सकारात्मक प्रभाव पर्न सक्छ । विश्वासले नै उपभोग र लगानीमा वृद्धि गराउने भएकाले जीडीपीमा त्यसले सकारात्मक प्रभाव पार्न सक्छ।

विदेशी लगानीकर्ताहरू जीडीपीको वृद्धि र स्थिरताको आधारमा कुनै देशको शेयर बजारमा लगानी गर्छन् । उच्च जीडीपी वृद्धि दरले विदेशी लगानी आकर्षित गर्छ, जसले शेयर बजारमा वृद्धि गराउँछ। जब शेयर बजारमा राम्रो प्रदर्शन हुन्छ, तब स्वदेशी लगानीकर्ताहरूको लगानी पनि वृद्धि हुन्छ, जसले व्यावसायिक विस्तार र उत्पादनमा सहयोग पु¥याउँछ र अन्ततः जीडीपीमा वृद्धि गराउँछ।

उच्च जीडीपीले उपभोक्ताको आय र उपभोग क्षमता वृद्धि गराउने भएकाले बजारमा माग बढी कम्पनीहरूको मुनाफा वृद्धि गराउँछ अनि शेयरको मूल्यमा वृद्धि गराउँछ । शेयर बजारको वृद्धिले उपभोक्ताको आत्मविश्वास बढाउँछ, जसले उनीहरूको खर्च गर्ने प्रवृत्ति बढाउँछ । यसले अर्थतन्त्रमा माग वृद्धि गराउँछ र जीडीपीमा सकारात्मक प्रभाव पार्छ ।

शेयर बजारमा ठूलो उतार–चढाव हुँदा भने अर्थतन्त्रमा अस्थिरता आउन सक्छ । यसले उपभोक्ताको आत्मविश्वासमा असर पार्न सक्छ र आर्थिक गतिविधि कमजोर हुन सक्छ। तर शेयर बजार वृद्धि हुँदा कम्पनीहरूले पुँजी जुटाउन र व्यापार विस्तार गर्न सक्छन्। यसले रोजगारी सिर्जना गर्छ र जीडीपीमा योगदान दिन्छ। शेयर बजारसँगै कारोबारमा वृद्धि हुँदा राजस्व संकलनमा पनि वृद्धि हुन्छ। स्वस्थ र स्थिर शेयर बजारले अर्थतन्त्रको विकासमा मद्दत गर्छ, उच्च जीडीपी वृद्धि दरले शेयर बजारलाई सुदृढ बनाउँछ।

यस सम्बन्धले समग्र राष्ट्रिय अर्थतन्त्रमा स्थिरता, वृद्धि र समृद्धि ल्याउँछ। तथापि, शेयर बजारको कतिसम्मको वृद्धिलाई देशको जीडीपीले धान्न सक्छ भन्ने कुरा पनि विश्लेषण गरिनुपर्छ। अर्थतन्त्रले धान्न नसक्ने गरी भएका वृद्धिले दुर्घटना निम्त्याउन सक्ने भएकाले नीति–निर्माताहरूले यी दुई सूचकलाई ध्यानमा राखेर सन्तुलित आर्थिक नीति ल्याउनुपर्छ।