राजेन्द्र सुवेदी पुरस्कार भैरवबहादुर र दयारामलाई


काठमाडौं ।

साहित्यकार, शिक्षासेवी तथा समाजसेवी राजेन्द्र सुवेदीको ८२औँ जन्मजयन्तीमा राजेन्द्र सुवेदी स्मृति समाजले राजधानीमा एक विशेष कार्यक्रम आयोजना गरी कलाकर्मी र स्रष्टालाई पुरस्कृत गरेको छ।

समारोहमा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री झलनाथ खनालले नृत्यशास्त्री भैरवबहादुर थापालाई राजेन्द्र सुवेदी कला पुरस्कार र समालोचक प्रा.डा. दयाराम श्रेष्ठलाई राजेन्द्र सुवेदी साहित्य पुरस्कार हस्तानतरण गरे। समाजका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा सम्पन्न समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पुरस्कृतहरूलाई शुभकामना दिएका थिए भने प्रमुख अतिथि खनालले राज्यले गर्न नसकेको कार्य समाजले गरेको चर्चा गरे।

समाजका सदस्य डा. भागवत आचार्यद्वारा सञ्चालित कार्यक्रममा डा. सीता सुवेदीले स्वागत भाषण गरेकी थिइन्। कार्यक्रममा निम्वल स्कुल, टोखा र श्वेतसदन स्कुल सामाखुसीका विद्यार्थीले भैरवबहादुर थापाको सम्मानमा नृत्य प्रस्तुत गरेका थिए।