बौद्ध सिद्धाचार्य लिलाबजको आँगन पूजा सम्पन्न


काठमाडौं

श्रीखण्ड तरुमुल महाविहारले शनिबार यस महाविहार परिसरभित्र रहेको प्रख्यात बौद्ध सिद्धाचार्य लिलाबज्र बज्राचार्यको आँगन पूजा एवं महाविहारको गुठी घर पूजा सम्पन्न गरेको छ । सोही अवसरमा महाविहारले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्ने कूलपुत्र तथा कूलपुत्रीहरु अर्थात् आफ्ना सदस्यका छोराछोरीहरुलाई सम्मान गरेको छ ।

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले एसईई उत्तीर्ण आठ जनालाई सम्मान हस्तान्तरण गरेकी हुन् ।
काष्ठमण्डपको निर्माणमा विशेष योगदान दिएका बौद्ध सिद्धाचार्य लिलाबज्रले नै सातौं शताब्दीमा यो महाविहार स्थापना गरेको मानिन्छ । 

सोही अवसरमा महाविहारको १६ वर्षअघि २०६५सालमा निर्माण सम्पन्न तीन तले गुठी घर निर्माणमा १० हजार रुपियाँभन्दा बढी आर्थिक सहयोग गरेका २८ जना सदस्यका साथै गुठी घर निर्माणमा महत्वपूर्ण सहयोग गर्नेहरुलाई पनि सम्मान गरिएको थियो ।

महाविहार संरक्षण तथा संचालन समितिका अध्यक्ष ई. दिल्लीरत्न शाक्यले महाविहारले अबदेखि प्रत्येक वर्ष एसईई उत्तीर्ण गर्ने महाविहारका कूलपुत्र तथा कूलपुत्रीहरुलाई सम्मान गरिने कार्यलाई निरन्तरता दिने जानकारी दिए ।

यो महाविहारमा प्रत्येक शनिबार नामसंगीति तुतः पाठ गर्ने गरिन्छ ।