सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


काठमाडौं।

काठमाडौं, दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल भैंसी बजारस्थित सडकमा चाल्नाखेलबाट भैंसीबजारतर्फ जाँदै गरेको बा.१८ च ५३४४ नम्बरको डिआई गाडी शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार दोलखा गौरीशंकर गाउँपालिका घर भएकी ३५ वर्षीया निर्माला तामाङ र ३२ वर्षीया श्रीमाया तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनाको अल्का हस्पिटल ललितपुरमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-११ स्थित सडकमा मधेश प्र.०३-००१ क २५१९ नम्बरको पानी ट्याङकरले बा.२८ प ४८६७ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-२९ अनामनगर घट्टेकुलो बस्ने ६२ वर्षीया सरस्वती तुलाधारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको थापाथली स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-१० खोर्सानेस्थित सडकमा ना.१ क ६१६७ नम्बरको टिपरले प्र.१-०२-०४२ प ८१७२ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार केराबारी गाउँपालिका-९ बस्ने ६९ वर्षीय राम बहादुर मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । प्र.१-०२-००१ ख ९८८३ नम्बरको बसमा उक्त मोटरसाइकल ठोक्किएको र मोटरसाइकललाई उक्त टिपरले ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि बिराट टिचिङ अस्पताल पठाइएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई हाल फरार टिपर चालकको खोजी गरिरहेको छ ।

इलाम, माई नगरपालिका-२ गरूवा पुलस्थित सडकमा शुक्रबारेबाट सितलीतर्फ जाँदै गरेको ना.४८ प ८६३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार माई नगरपालिका-१० गजेनी भञ्ज्याङ बस्ने २६ वर्षीय दिनेश सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल विर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।