मानसिक समस्यासँग जुध्न प्रेरित गर्ने पुस्तक

टर्टल्स अल द वे डाउन

140
Shares


अमेरिकी लेखक जोन ग्रिनद्वारा लेखिएको टर्टल्स अल द वे डाउन (Turtles All the Way Down) १६ वर्षिया किशोरीको मानसिक स्वास्थ्यमा आधारित रोमान्टिक उपन्यास हो । सन् २०१७ मा न्युयोर्क टाइम्स बेस्ट सेलिङ सूचिमा परेको यो उपन्यास २०२४ मा आइपुग्दा चलचित्रमा समेत रुपान्त्रित भइसकेको छ ।

मानसिक स्वास्थ्य ‌ओसिडी र एन्जाइटी (Obsessive-Compulsive Disorder/OCD and anxiety) ले ग्रस्त किशोरीको कथामा आधारित यो उपन्यासले मानसिक रोगका मुद्दाहरूलाई संवेदनशील तरिकाले उठाएको छ । यस उपन्यासकी मुख्य पात्र किशोरी एजाको बाल्यकाल बाबु आमासँग असाध्य रमाइलोसँग वितिरहेकोमा उसको बुवाको अचानक मृत्यु हुन्छ र उ चिन्तामा पर्छे । १६ वर्षमा हाइस्कुलमा हुँदा उ मानसिक समस्या ओसिडी र एन्जाइटीबाट ग्रस्त भएको अवस्थाबाट कथा अघि बढ्छ ।

ओसिडि भनेको कुनै व्यक्तिमा पटक पटक आइरहने एउटा यस्तो सोच हो जसले उसको दैनिक जीवन र व्यवहारलाई प्रभावित पारिरहेको हुन्छ । कसैलाई कहीं छोयो भने रोग सर्छ भन्ने त्रास हुन्छ । कसैलाई हात धोइरहन मन लाग्छ । कोही मनमनै मन्त्र पढेको पढ्यै गर्ने, कोही कसैको नाम दोहोर्‍याइरहने समस्याबाट ग्रस्त भएका हुन्छन् । यो सोच र व्यवहार गलत हो भन्ने उसलाई थाहा हुन्छ र आफैँ नियन्त्रण गर्न खोज्छ तर सक्तैन । बरु आफूले गरेको सोचेको कुरा अरुले थाहा नपाइदिउन भनेर प्रयास गरिरहेको हुन्छ । उपचार गर्न पनि उति इच्छुक हुँदैन ।

यस उपन्यासमा किशोरी पात्र एजामार्फत यही समस्यालाई साह्रै रोमाञ्चक तरिकाले प्रस्तुत गरिएको छ । एजाको मनमा जताततै ब्याक्टेरिया भएको र त्यो आफ्नो शरीरमा सरेर संक्रमित हुने विचार अनियन्त्रित रुपमा दोहोरिएर आइरहन्छन् जसलाई उ चाहेर पनि रोक्न सक्दिन।

एजा र उसकी मिल्ने साथी डेजीले एक अर्बपति रसोल म्यान पिकेट हराएको खबर सुन्छन्। पिकेटको खोजीको लागि ठूलो इनाम घोषणा गरिएको हुन्छ। पिकेटको छोरा डेविस एजाको पुरानो साथी हो। डेजीको आग्रहमा एजा र डेजी पिकेटको खोजी गर्न थाल्छन् । यस क्रममा नदिमा सानो डुङ्गा चलाउँदै जंगलतिर जाँदा एजाको साथी डेजीले शहरभित्र हरियाली विचको त्यस

नदीको यात्रालाई अमेरिकनहरुको सपनाको रुपमा लिन्छे तर एजा आधा नदी पिसावले भरिएको र जताततै ब्याक्टेरिया भएकोले आफूलाई संक्रमण हुने खतरा महसुस गर्छे । स्कुलको क्यान्टिनमा खान जाँदा पनि बर्गरलगायत खानामा ब्याक्टेरिया भएको र सवैले संक्रमित खाना खाइरहेको अनुभव गर्छे र हात धुन अचानक बाथरुममा पस्छे ।

पछि उसको पुरानो र एकदमै धनी साथी डेविस ब्वाई फ्रेन्ड बन्छ र आफ्ने प्राइभेट जेटमा घुमाउन लान्छ । तर एजालाई उसँग किस गर्न मन भएर पनि ब्याक्टेरिया सर्छ भनेर डराउँछे । उसले आफ्नो शरीर र सोचलाई नियन्त्रण गर्न प्रयास गर्छे तर सक्तिन । यतिसम्म कि ब्वाइफ्रेण्डले किस गरेपछि उ जहाजको बाथरुममा पसेर हात धुन्छे र पेटका ब्याक्टेरिया मार्न झोल साबुन खान्छे ।

डाक्टरले यसरी जताजतै ब्याक्टेरिया देख्नु र संक्रमणको भान पर्नु गलत सोच हो र नियमित औषधि नखाएको परिणाम भने पनि उ नियमित औषधि खान सक्दिन । उसको मनमा द्वन्दात्मक सोचहरु मडारिइरहेका हुन्छन् । एजाले आफैंसँगको संघर्षमा विजय प्राप्त गर्न र आफ्नो जीवनलाई सन्तुलनमा राख्न कडा मेहनत गरिरहेको पाइन्छ । साथी डेजी ब्वाइफ्रेन्ड डेविस, डाक्टर र आमाको सुझाव तथा सहयोगले एजाको जीवनमा पछि केही सकारात्मक परिवर्तन आउन थाल्छ ।

यो पुस्तक एवं चलचित्रका घटना क्रमले पाठकलाई एजाको दृष्टिकोणबाट जीवनका विभिन्न आयामहरू बुझ्न मद्दत गर्छ। पाठकलाई भावनात्मक र मानसिक स्वास्थ्यका मुद्दाहरूको बारेमा सोच्न बाध्य पार्छ। मानसिक स्वास्थ्यका मुद्दाहरूलाई खुलस्त रूपमा चर्चा गर्न र तिनलाई संवेदनशीलताका साथ स्वीकार गर्न तथा त्यस विरुद्ध जुध्न प्रोत्साहित गर्छ । मानसिक स्वास्थ्यका समस्याहरूलाई नजरअन्दाज नगरी समयमै उपचार गर्न र त्यसका लागि परिवार र मित्रहरुबाट सहयोग लिन तथा आफ्नो कमजोर पक्षहरूलाई स्वीकार गरेर तिनसँग जुध्नका लागि यो पुस्तक सहयोगी हुने देखिन्छ ।


२४ खण्डमा लेखिएको चार अमेरिकी डलर पर्ने यो पुस्तक अनलाइनमा पीडीएफमा पढ्न सकिन्छ भने प्राइम भिडियोमा फिल्म हेर्न सकिन्छ ।