किशोरावस्थाको संवेदनशीलतालाई बुझौं


विश्व स्वास्थ्य संगठनले १० देखि १९ वर्षको उमेर समूहका व्यक्तिलाई किशोरकिशोरीका रूपमा परिभाषित गरेको छ । यो उमेर समूहलाई अन्य उमेर समूहभन्दा बढी स्वस्थ मानिन्छ । तर, यो समूहमा अनपेक्षित रूपमा चोटपटक लाग्ने, हिंसा हुने, चाँडो गर्भवती हुने, यौन प्रसारित रोगको संक्रमण हुने, सुर्तीजन्य बस्तु, मदिरा र अन्य लागु औषधको दुव्र्यसन हुने जोखिम उच्च रहेको हुन्छ ।

त्यसकारणले अभिभावक र शिक्षक शिक्षिकाहरूले उनीहरूको यो संवेदनशिलतालाई बुझेर यससम्बन्धी ज्ञान दिने, छलफल गर्ने र आवश्यक पाठ्यसामग्रीमा उनीहरूको पहुँच वृद्धि गर्नुपर्छ । उनीहरू कुनै गलत बाटोमा लागेका छन् कि भन्नेबारेमा सजक हुनुपर्छ ।

किशोरावस्था जीवनको ज्यादै महत्वपूर्ण अवस्था हो । यस अवस्थामा उनीहरूमा विभिन्न किसिमका शारीरिक तथा मानसिक परिवर्तन हुन्छन् । उनीहरूले आफ्नो शरीरमा आउने थुप्रै किसिमका परिवर्तन र मनमा आउने अनेकौं किसिमका भावनाको सामना गर्नु परिरहेको हुन्छ । उनीहरूको शरीरमा हुने हर्मोन परिवर्तनबाट उनीहरूको मनोविज्ञानमा निरन्तर परिवर्तन आइरहेको हुन्छ ।

यस अवधिमा उनीहरूमा आफ्नो परिवार र साथीहरूसँगको भावनात्मक एवं संवेगात्मक सम्बन्धमा परिवर्तन आउँछ । उनीहरूले आफू प्रतिको सामाजिक हेराइ र अपेक्षामा परिवर्तन आएको अनुभूति गर्छन् । यसबेला उनीहरूमा शारीरिक र भावनात्मक परिवर्तनका कारण विपरीत लिंगीप्रति आकर्षण हुने तथा यौन आकर्षण बढ्दै जाने हुन्छ । यही अवधिमा उनीहरूमा यौन अंगको विकास हुने, स्वप्नदोष हुने, हस्तमैथुन गर्ने बानी बस्ने र महिनावारी हुनेजस्ता परिवर्तन हुन्छन् ।

उनीहरूमा यौनसम्बन्धी राम्रो ज्ञान नभएमा विभिन्न जोखिममा पर्ने भएकाले बढ्दो उमेरसँगै उनीहरूलाई यससम्बन्धी ज्ञान दिन पनि जरुरी छ । परम्परागत सोच राखेर किशोरकिशोरीलाई यससम्बन्धी स्वस्थ ज्ञान नदिएमा कलिलै उमेरमा यौन सम्पर्क हुने, यौन प्रसारित रोगको खतरा हुने, गर्भवती हुने र त्यसले उनीहरूको जीवनलाई बर्बादितिर धकेल्ने खतरा हुन्छ । किशोरावस्थामा शारीरिक र भावनात्मक विकाससँगै परिपक्वतामा पनि वृद्धि हुने भएकाले उनीहरूमाथि आफ्ना विचारमात्र नलादी उनीहरूको मनोभावनालाई कदर गर्ने र बुझ्ने प्रयास गर्नुपर्छ ।

यस उमेरमा उनीहरूमा हुने विपरीत लिंगीप्रतिको आकर्षणलाई स्वभाविकरूपमा लिनुपर्छ । तर, यस अवस्थामा अपनाउनुपर्ने सतर्कताका सम्बन्धमा भने ज्ञान दिनुपर्छ । यस उमेरमा किशोरकिशोरीहरूमा कुनैपनि विषयमा गम्भीर ढंगले सोच्ने क्षमताको विकास भइरहेको हुन्छ र त्यसकै आधारमा उनीहरू भविष्यका योजना निर्माण गर्न खोज्दछन् । जोखिम लिने, कुनै पनि कुरा परीक्षण गरेर हेर्न उनीहरूको प्रवृत्ति हुन्छ । यस्ता कुरालाई उनीहरूको अबुझ र बालपन ठान्नुभन्दा उनीहरूलाई हौसला र प्रेरणा दिएर सही बाटो देखाउनु शिक्षक तथा अभिभावकको कर्तव्य हुन्छ ।

किशोरावस्थामा उनीहरू अभिभावकका विचार र काम गराइमा विमति जनाउने, चाँडै रिसाउने र खुसी हुने, काम गर्दा हडबडाउने हुन्छन् । उनीहरू आफ्नो हरेक कुरालाई संवेदनशील रूपमा लिन्छन् । बालपन हटिसकेको र युवा अवस्थामा प्रवेश गरिनसकेको किशोरावस्थाको यो संवेदनशील अवस्थालाई शिक्षक तथा अभिभावकले स्वाभाविक रूपमा लिएर उनीहरूको भावना र विचारलाई कदर गर्दै सही बाटो देखाउनुपर्छ ।