भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै


काठमाडौं ।

मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एण्ड इभेन्ट्स तथा एक्जीबीसन एण्ड ट्रेड सर्भिसेस इण्डियाको संयुक्त आयोजनामा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ।

आगामी भदौ २१, २२ र २३ गतेसम्म भृकुटीमण्डपमा हुन लागेको उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने छन् । प्रदर्शनीमा अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

आयोजकका अनुसार आफ्नै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै लान एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्‍याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना गरिएको हो।

विद्युतीय उपकरणहरूलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।