श्रावण महिनामा पशुपति क्षेत्रमा भइराखेको अखण्ड कोटी होमले हालका दिनमा चर्चा पाइराखेको छ । विशेष गरी देवी प्रतिभाले सानो उमेरमा प्राप्त गर्नुभएको प्रख्यातिलाई थप उजागर गरी उच्च विन्दुमा पुर्याउने काम यो कोटीहोममा भएको छ । देवी प्रतिभाको कथावाचन आफैँमा अत्यन्त मीठो र तर्कपूर्ण थियो नै । भागवत कथा वाचनमा यसअघि दिएका अभिव्यक्तिभन्दा केही पृथक प्रकारले देवीजी प्रस्तुत हुनुभएको थियो।
उहाँको प्रख्यातिले सनातन धर्मप्रति आस्थावान्हरु र समग्र राष्ट्र नै गौरवान्वित बनेको छ । किनकि उनको प्रभावशाली कथावाचनका कारण भारतमा पनि उनी सबैको आकर्षण बन्ने क्रममा रहेकी छन् । उनी समग्र सनातनी हिन्दु धर्मावलम्बीहरूका लागि मुटुको धड्कन बन्दै गएकी छिन् । यिनको गन्तव्यले भारत र नेपालको सिमाना पार गर्दै विश्वव्यापी हुन सक्ने अनुमान यस क्षेत्रका विद्वान्हरूले गरिराखेका छन् । यस अर्थमा देवी प्रतिभालाई हामी सबैले प्रोत्साहित गर्नु र उनको उत्तरोत्तर प्रगतिको कामना गरौँ ।
पशुपति परिसरमा भइरहेको कोटीहोम महायज्ञ विवादमा परेको छ । यसका धेरै कारण छन् । कोटीहोम महायज्ञमा कथावाचनले मात्र अत्यधिक प्राथमिकता पाएको छ। यसबाट यो कोटीहोम हो वा कथा पारायण र वाचन गर्ने कार्यक्रम मात्र हो ? भक्तहरू आफैँ द्विविधामा पर्दै गएका छन्। कथावाचक र वाचिकाहरूको व्यक्तित्वलाई लिएर ठूलो आलोचना हुँदै आएको छ । धार्मिक प्रवचन कथावाचनमा देखिएका गुरु, विद्वान्, विदुषीहरू आफैँ विवादमा तानिदै गएको अवस्था छ । यस देशमा बलात्कारीहरु ठूला गुरुका नामले प्रख्याति कमाइराखेका छन्।
बहुविवाह गर्ने, आफ्नै धर्मपत्नीलाई यातना दिने, घर निकाला गर्नेहरू पनि ठूला पण्डित गुरु आदिका नामबाट सम्बोधित भई सम्मान पाइराखेका छन्। भागवत महापुराणमा पाइएका पवित्र शब्दहरू, वाक्यांशहरू तथा कथाहरूका विपरीत कथावाचकहरू प्रस्तुत हुँदै गएको अवस्था पनि छ। यसबाट भागवत महापुराणमा नै समयसापेक्ष पुनरावलोकन हुँदै गएको अनुभूति सचेत नागरिकहरू गर्न बाध्य हुँदै गएका छन्। यसबाट कथावाचक–बाचिकाहरु जुन धार्मिक ग्रन्थमा आधारित भएर कथावाचन गर्ने हो वा आफ्नो विचारलाई प्राथमिकतामा राखेर भक्तजनहरूलाई विश्वस्त बनाउँदै बिस्तारै पवित्र धार्मिक ग्रन्थहरुलाई नै अपभ्रंशका रुपमा परिणत गर्न सक्ने हुन्, श्रोताहरुमा द्विविधा उत्पन्न भएको छ।
मानव सेवा फाउन्डेसनलगायत ११ संस्थाहरूले आयोजना गरेको यो कोटीहोम महायज्ञबाट संकलित रकम ललितपुरस्थित मामाघर र भक्तपुरमा अवस्थित छोरीको ज्येष्ठ घरलाई सहयोग गर्ने उद्घोष गरिएको छ । यी संस्थाहरु दुवै परोपकार कार्यमा लिन हुँदै आएको दाबी गरिएको अवस्था छ । १२ दिनमा १० करोड रकम उठेको सूचना सम्प्रेषित भइराखेको छ र उक्त रकम कोटीहोम महायज्ञको लागि आवश्यक पर्ने खर्चको लागि पर्याप्त छ भनिएको छ।
अब बाँकी रहेको करिब २० दिनमा अर्को १५–१६ करोड रुपियाँ यही अनुपातमा उठेमा संकलन हुन सक्ने देखिन्छ । यति ठूलो रकमको पारदर्शिताका बारेमा आयोजकहरुले आफूलाई कुन हदसम्म इमानदारिताका साथ प्रस्तुत गर्ने हुन् ? प्रतीक्षाको विषय बनिराखेको छ । तर सम्बन्धित सचेत वर्ग पारदर्शिताको र इमानदारिताको निर्वाह हुने कुरामा सशंकित भएका छन्। उनीहरूका अनुसार यस महायज्ञका आयोजकहरुमध्ये संयोजकमा यस्ता पात्र रहेका छन् जो विवादित छविका हुन्। यति ठूलो रकम संकलित भइराखेको अवस्थामा सार्वजनिक निकायहरूले त्यसको पारदर्शिताका बारेमा खासै चासो राखेको देखिँदैन । त्यसैले आउँदा दिनहरूमा यो कार्यक्रम थप विवादमा तानिँदै जाने र कोटीहोम महायज्ञ र कथावाचनजस्ता पवित्र धार्मिक अनुष्ठानहरु विवादित बन्दै जाँदा सनातन हिन्दू धर्मप्रति अनास्था फैलाउने कामहरू हुने हुन् कि भन्ने आशंका भइराखेको छ ।
रकम दान लिने विषयलाई सम्मानले आकर्षण दिइराखेको छ । धनीमानी, भ्रष्टलगायत तस्कर, माफियाहरूसँग धन पर्याप्त हुन्छ। यस्तो पवित्र स्थानमा धेरै रकम दान गरेको आधारमा त्यही अनुपातमा सम्मान गर्दै जाँदा इमानदार एक भक्तको दिलमा ठूलो चोट पुग्न पनि सक्छ। यस पवित्र कार्यक्रममा श्रीमद्भागवत महापुराण श्रवण गर्न आउने र भक्तिभाव राख्नेहरूको पीडा छुट्टै प्रकारको पाइएको छ। यसमा आयोजकहरूको ध्यान पुगेको देखिएन, सम्मान र दान खरिदको विषय हुन पुगेको छ। यो गलत हो।
ऋर्को कुरा, देवाधिदेव महादेवका नाममा गरिने यो पवित्र महायज्ञ श्रावण महिनामा हुनुबाट ठूलो आलोचना खेप्नुपरिरहेको छ। यसका पछाडि दुईवटा कारण छन्। पहिलो हो श्रावण महिनामा महादेव मस्त निद्रामा हुनुहुन्छ। महादेवको पूजा अर्चना र आराधना गर्दै गरिने महायज्ञ श्रावण महिनामा गरिँदैन। यस महिनामा आराध्य देव महादेवका नाममा गरिने कोटी महायज्ञ गरिँदैन र गर्नुहुँदैन। यसको साइत श्रावण महिनामा हुँदैन। यो ठोकुवा रामचन्द्र गौतमलगायतका विद्वान्हरुले गरिराखेका छन्।
यसको शास्त्रसंगत खण्डन आयोजकहरुले गर्न सक्नुभएको छैन । दोस्रो हो, अग्नि यस महिनामा पातालमा प्रवेश गरेका छन्। मृत्युलोकमा अग्निको पूजा गर्दै गरिने महायज्ञ कोटीहोमको उपादेयता अग्निदेवताको मत्र्यलोकमा उपस्थिति नहुने भएकाले यसको महत्व धार्मिक हिसाबले देखिँदैन। तसर्थ यो आराध्यदेव महादेवको वा शिवप्रतिको श्रद्धा र सम्मानको भावनामाथि विकृति आमन्त्रण गरी चोट पुर्याउने काम आयोजकहरुले गरेका छन् । धर्मको व्यापार गर्ने अपवित्र उद्देश्य यस कार्यक्रमले ल्याएको छ।
यसअघि पनि यस्ता कोटीहोम महायज्ञहरू विवादमा तानिदै गएका उदाहरणहरु छन् । योगी नरहरिनाथले तत्कालीन राजालाई मैदानमा उतार्न लकार्दै गरेको कोटीहोम महायज्ञका साथै धर्मको आडमा राजनीति गर्नेहरुले यस्तो विवादित धार्मिक कार्यक्रमहरू सम्पन्न गर्दै गएका छन् । तर अहिलेको यो महायज्ञ राजनीतिकभन्दा अन्य दृष्टिले विवादित बनेको यथार्थता जगजाहेर छ ।
आलोचना र टिप्पणीहरू :
नेपालको काभ्रेपलाञ्चोक जिल्लाको देउपुर मण्डनमा जन्म भई भारतको वृन्दावनलाई कर्मक्षेत्र बनाउँदै आएकी देवी प्रतिभाले यस अखण्ड कोटीहोममा अत्यन्त राम्रो कथा वाचिकाको स्थान सुरक्षित गरी अब्बल वाचिका प्रमाणित भएकी छिन् । उनको ठूलो संख्यामा सुरक्षाकर्मीसहितको नेपाल प्रवेश र उनै सुरक्षाकर्मीको घेरामा रहेर कथा वाचन गर्दै गरेको दृश्यलाई आलोचनाको दृष्टिले हेरिएको छ । मानिसको जन्म र मरण सबै लेखिएको हुन्छ, ईश्वरको कृपामा निर्भर गर्दछ भन्दै कथा वाचन गर्ने देवी प्रतिभा आफैँ ठूलो संख्यामा सुरक्षाकर्मी लिएर हिँडेकी छन् ।
उनलाई त्यस धार्मिक अनुष्ठानमा कतैबाट कसरी सुरक्षाको जोखिम पुग्न पुगेको हो ? नेपालका सुरक्षाकर्मीले यसबारेमा सूचना उपलब्ध गराएका हुन् कि नेपालको सुरक्षाकर्मीप्रति प्रतिभालाई विश्वास नभएको हो ? विभिन्न कोणबाट टीकाटिप्पणी भइराखेका छन् । ईश्वरको भक्तिमा लीन हुनेहरुले आफ्नो ज्यान, प्राणको सुरक्षाको कुनै चासो राख्दैनन्। जब व्यक्तिगत स्वार्थमा मानिस लिप्त हुँदै जान्छ, बाँच्ने इच्छा अत्यन्त ज्यादा हुन्छ । मानिस जब गल्ती गर्दै जान्छ, त्यस अवस्थामा सुरक्षाको जोखिम बन्दै जान्छ । देवीजीले भारतमा जुन–जुन स्थानमा कथावाचन गर्न पुग्नुहुन्छ, त्यहाँ सुरक्षा संवेदनशीलता अत्यन्त बढी भएको र भारतीय सुरक्षाकर्मीहरूले उनको कडा सुरक्षा गरेको अभिव्यक्ति दिएकी छन् ।
देवी प्रतिभाजीले कुनै अपराध कर्म गर्नुभएको छैन र भगवान्प्रति अत्यन्त बढी भक्तिभाव यदि रहेको अवस्था हो भने सुरक्षाकर्मीको तामझामको कुनै अर्थ रहँदैन। मृत्युसँग ईश्वरको शरणमा रहेका विद्वान्हरू, ऋषिमुनिहरूमा कुनै सन्त्रास रहन्न । प्राचीन कालका ऋषिमुनिहरू घनाजंगलमा लामो समय तपस्या गर्दथे, तर उनीहरूको सुरक्षाको बारेमा चिन्ता हुँदैनथ्यो । किनकि उनीहरूको अटल विश्वास ईश्वरमा थियो र ईश्वर प्राप्ति एकमात्र गन्तव्य निर्धारण गरिएको हुन्थ्यो । आधुनिक कथावाचक–वाचिकाहरूका बहुव्यक्तित्व प्रमाणित हुँदै गर्दा सुरक्षासम्बन्धी बढी चनाखो हुनुपरेको अवस्था हो । सुरक्षाकर्मीले लगाएको ड्रेस कालो रंगको थियो, बाउन्सरको जस्ता देखिने सुरक्षाकर्मीहरू कालो पोशाकमा धार्मिक अनुष्ठानमा प्रवेश गर्दा जो–कोहीले असहज महसुस गरेको हुनुपर्दछ । दर्शकहरुलाई यसले असहज परिस्थिति बनाएको छ ।
देवी प्रतिभाले पितृसत्तात्मक समाजको पक्षमा र सम्बन्धविच्छेदजस्ता कुरा भागवतमा नभएको स्पष्ट पार्नुभएको छ । तर राधिका दासीले आफू सम्बन्ध विच्छेद गरेर कथावाचिकाका रुपमा प्रस्तुत भएको अभिव्यक्ति स्पष्ट दिनुभएको छ । यस अर्थमा यी दुईको अभिव्यक्ति आफैँमा विवादित देखिएको छ । पाठक, श्रोताहरु रणभुल्लमा पर्ने स्थिति छ । यस प्रकारको एउटै मञ्चमा दुई किसिमका परस्पर विरोधी अभिव्यक्ति दुई वाचिकाहरुबाट आउनु राम्रो होइन । यद्यपि धर्मग्रन्थमा कहीँ–कतै पनि सम्बन्धविच्छेदको बारेमा उल्लेख भएको छैन । यसै गरी पति जस्तोसुकै भए पनि उसको भक्तिमा लीन भई पतिव्रता धर्म निर्वाह गर्नु प्रत्येक नारीको कर्तव्य हो भनेर देवी प्रतिभाले नै बताउनुभएको छ ।
विभिन्न भाषामा कथा वाचिकाको रूपमा आफूलाई प्रस्तुत गर्दै आएकी अभिव्यक्ति दिने प्रतिभाले नेपालमा अधिकांश हिन्दी भाषामा र थोरैमात्र नेपाली भाषामा अभिव्यक्ति दिनुभएको थियो । नेपालमा रहँदा नेपालीहरूको बीचमा उहाँले नेपाली भाषामै बोलिदिनुभएको भए अत्यन्त राम्रो हुने थियो । प्रकाश सुवेदीजीले लिनुभएको अन्तर्वार्तामा देवी प्रतिभाले आफू अविवाहित भएको आशयको अभिव्यक्ति दिनुभएको थियो । २३ वर्षकी किशोरी भएको दाबी गर्दै हुनुहुन्थ्यो । पारिवारिक स्रोतका अनुसार उहाँको उमेर २८ वर्ष हो । १६ वर्षको उमेरमा प्रतिभाको विवाह भारतमै एक कथावाचकसँग भएको थियो।
दुवैजना कथावाचक हुँदै गर्दा प्रतिभाको प्रख्याति तुलनात्मकरुपमा उनको श्रमको भन्दा बढ्दै गएको थियो । यसरी आफ्नो वैवाहिक स्थितिको बारेमा गुमराहमा राख्ने प्रयास देवीजीले गर्नुभएकोले आलोचना भइराखेको छ । यसै गरी देवीजीको शैक्षिक डिग्रीका बारेमा प्रकाश सुवेदीजीले तपाईंले आचार्य पास गर्नुभएको हो भन्ने सोधिएको प्रश्नको जवाफमा उहाँले सकारात्मक संकेत गर्नुभएको थियो । तर उहाँमा सामान्य शैक्षिक योग्यता मात्र रहेको सूचनाहरू आइराखेको छ।
निष्कर्ष :
कोटीहोम विवादै विवादका बीच समाप्त हुने अवस्थामा छ । धर्मशास्त्रले वर्जित गरेको समयमा कोटीहोम भइराखेको छ । यसले धर्मको नाउँमा पुँजीवादलाई प्रश्रय दिइराखेको छ । कोटीहोम गर्दा जगत्गुरु, शंकराचार्य, सिद्ध पुरुष आदिको उपस्थिति अति उत्तम मानिन्छ । यस कार्यक्रममा यस प्रकारको उपस्थिति रहेको छैन ।
देवी प्रतिभाका बारेमा आएका जति पनि आलोचना र नकारात्मक टिप्पणीहरू छन्, ती उनका लागि भविष्यमा सुधार गर्न सहायक हुनेछन् र हुनुपर्दछ । आफ्नो व्यक्तिगत सन्दर्भमा स्पष्ट भई प्रस्तुत हुँदा त्यसले भविष्यमा अप्ठ्यारो र असहज परिस्थिति बनाउँदैन । त्यसैले देवी प्रतिभाजी नेपालको इज्जत र शान बन्नुहोस्। विश्वमा परिचित हुनुहोस् । वैदिक सनातन हिन्दु धर्मलाई अत्यन्त गम्भीरताका साथ प्रचारप्रसार गर्नुहोस् ।
कथावाचिकाहरुको प्रभुत्व वाचकको भन्दा अधिक देखिएको छ । यसले कथावाचक गुरुहरू सबै पुरुषहरूको आधिपत्य भइरहेको सन्दर्भमा अब यस पवित्र कार्यमा महिलाहरूको उल्लेखनीय सहभागिता र नेतृत्व देखिँदै छ, यो सकारात्मक परिवर्तन हो । राधिका दासी, कान्ता, देवी प्रतिभालगायतको कथावाचिकाका रूपमा प्रस्तुति भइराखेको कार्यक्रममा बेलायतबाट अर्की वाचिका चन्द्रकला सखीले नेपालको माटोले आफूलाई बोलाएको भन्दै कार्यक्रममा ओजपूर्ण उपस्थिति दिनुभएको छ । अपरिपक्व उमेरमै कथा वाचिकाका रूपमा देवीहरूको उपस्थितिले यसपटकको कोटीहोममा थप रौनक प्रदान गरेको छ । कार्यक्रम धार्मिक प्रवृत्तिको भागवत कथामा अत्यधिक आधारित हुनुभन्दा प्रदर्शनात्मक र प्रचारात्मक शैलीमा अघि बढेको अनुभव भइराखेको छ । पशुपतिमा कोटीहोम हुँदै गर्दा पशुपतिनाथको जयको आवाज खासै सुनिएन । राधे–राधेले पाशुपत क्षेत्र गुञ्जायमान भएको थियो र भइराखेको छ ।
यस पवित्र स्थलमा कथावाचन भइरहँदा नजिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा प¥यो । भीमेश्वर महादेवको मूर्तिबाट पसिना लगातार आइरह्यो । यी घटनाक्रमले अनिष्टको संकेत गरेको भन्दै आलोचना गर्नेहरूको पनि कमी छैन । यस अर्थमा यो कोटीहोमका आयोजकहरुमा कमी–कमजोरी रहेको स्पष्ट भएको छ ।
एकपटक पुनः देवी प्रतिभाकै बारेमा उल्लेख गरौं । देवी प्रतिभाका बारेमा आएका जति पनि आलोचना र नकारात्मक टिप्पणीहरू छन्, ती उनका लागि भविष्यमा सुधार गर्न सहायक हुनेछन् र हुनुपर्दछ । आफ्नो व्यक्तिगत सन्दर्भमा स्पष्ट भई प्रस्तुत हुँदा त्यसले भविष्यमा अप्ठ्यारो र असहज परिस्थिति बनाउँदैन । त्यसैले देवी प्रतिभाजी नेपालको इज्जत र शान बन्नुहोस्। विश्वमा परिचित हुनुहोस् । वैदिक सनातन हिन्दु धर्मलाई अत्यन्त गम्भीरताका साथ प्रचारप्रसार गर्नुहोस् । ३० वर्षभन्दा कम उमेरमै यो स्तरको वाचिकाका रुपमा प्रस्तुत हुनु देवी प्रतिभाका लागि अत्यन्त शुभ संकेत हो । त्यसैले आफ्ना कमी–कमजोरीहरूलाई सुधार गर्दै, स्पष्ट पार्दै अघि बढ्नुस् । देवीजीको भविष्य सुन्दर छ।
हामी नेपालीहरू यसैमा स्वाभिमानको अनुभूति गर्नेछौँ । देशलाई चिनाउनुहोस् । आफ्नो व्यक्तित्व अन्तर्राष्ट्रिय बनाउनुहोस् । र, हिन्दु धर्मलाई विश्वमै अब्बल र सर्वोत्कृष्ट धर्मको रुपमा स्थापित गराउन भूमिका निर्वाह गर्नुस् । आलोचकहरु तपाईंको प्रशंसकका रूपमा परिणत हुनेछन् ।
प्रतिक्रिया