जहाँ उदाए, त्यहीँ अस्ताए शास्त्रीय संगीतका गुरुदेव

210
Shares

काठमाडौं ।

नेपाली शास्त्रीय संगीतका प्रख्यात गुरु गुरुदेव कामतको बिहीबार बिहान ८ बजे ६९ वर्षको उमेरमा सिरहाको पोखरभिण्डास्थित निवासमै निधन भएको छ। कामतको जन्मिएकै स्थानमा निधन भएको हो।

गत चैतमा मिर्गौलामा समस्या देखिएपछि काठमाडौंमा उपचार गराइरहेका उनी आर्थिक समस्याका कारण थप उपचार गर्न नसक्ने भएपछि दुई साताअघि मात्र सपरिवार जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए। जन्मथलो फर्किनुअघि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू शारीरिक र मानसिकरूपमा एकदमै कमजोर भएको तथा काठमाडौंमा बसेर उपचार गर्न नसक्ने भएकाले सिरहाको लहानमै डायलासिस गराउने र मिर्गाैला प्रत्यारोपणका बेला काठमाडौं आउने जानकारी गराएका थिए।

लहानस्थित अस्पतालमा डायलासिस गराइरहेका उनको स्वास्थ्य अवस्था पछिल्ला दिनमा खराब हुँदै गएको थियो भने तीन दिन अघिदेखि खाना खानसमेत छोडेका थिए। गुरुदेवका नजिकका व्यक्तिका साथमा केही गायक तथा कलाकारले उनको उपचारमा सघाउन आर्थिक सहयोग जुटाउन पहल गरिरहेका थिए।

२०१२ साल साउन ७ गते सिरहामा जन्मिएका उनले गायक, संगीतकार र संगीत प्रशिक्षकका रूपमा ख्याति कमाएका थिए। ६ वर्षको उमेरदेखि संगीतमा सक्रिय कामत भारतबाट शास्त्रीय संगीतमा स्नातकोत्तरसम्मको पढाइ पूरा गरी २०५६ सालमा नेपाल फर्किएका थिए। २०४९ सालमा रेडियो नेपालद्वारा आयोजित प्रतियोगितामा प्रथम भएका उनले २०५० सालमा पहिलो एल्बम रिलिज गरेका थिए।

कुन निष्ठुरीले, प्रेमको नशा, आज भोलि किन होला, जुनको चाँद हौँ तिमी, मेरो हजुरको तनमा, मेरो श्यमा आउजस्ता तीन सयभन्दा बढी नेपाली तथा मैथिली भाषाका गीत, गजल तथा भजन गाएका गुरुदेवले कयौँ गीतमा संगीत भरेका छन्। नेपाली गीत संगीत क्षेत्रमा योगदान पुर्‍याएबापत प्रबल जनसेवा पदकका साथमा दर्जनौं सम्मानबाट सम्मानित उनी पछिल्लो समय काठमाडांैको चारखालस्थित गुरुकुल संगीत पाठशालामार्फत संगीत सिकाइरहेका थिए।

उनले आफ्नो जीवनकालमा २५ हजार भन्दा बढीलाई संगीत प्रशिक्षण दिएका थिए। कामतका श्रीमती, तीन छोरा र एक छोरी छन्। उनको सिरहामै अन्तिम संस्कार गरिएको छ।