‘ओलम्पिक गोल्ड’ मेसीको दोस्रो सफलता

0
Shares

पाँचवटा फिफा विश्वकप खेलेर एकपटक विश्वविजेता र एकपटक उपविजेता बनेको अर्जेन्टिनी टोलीका कप्तान हुन लियोनेल मेसी । क्लब फुटबलमा अविश्वस्नीय प्रदर्शन गरेर दर्जनौ पटक उपाधि र अवार्डको चाङ्ग लगाएपनि २०२१ अघिसम्म उनलाई अन्तर्राष्ट्रीय प्रतियोगितामा उपाधिविहीन अभागी खेलाडी भनेर सम्बोधन गरिन्थ्यो ।

यदाकदा सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण जित्नु नै उनको अन्तराष्ट्रिय करियरको सबैभन्दा ठूलो उपलब्धि भनिन्थ्यो । हुनपनि सन २००५ मा अन्तराष्ट्रीय प्रतियोगितामा अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट डेब्यू गरेका उनले २०२१ अघिसम्म सीनियर्स टोलीबाट उपाधि जित्न सकिरहेका थिएनन् ।

तर, क्लबस्तरीय होस् वा अन्तराष्ट्रियस्तर, मेसीले आफुलाई अब्बल खेलाडी भएको प्रमाणित गरेरै छाडे । उनले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई बितेको चार वर्षभित्र चारवटा अन्तराष्ट्रिय उपाधि दिलाएर अभागीको संज्ञालाई मेट्न सफल भए । २०२१ मा कोपा अमेरिका, २०२२ मा फिफा विश्वकप तथा फाइनलस्सिमा र २०२४ मा कोपा अमेरिकाको उपाधि लगातार दोस्रो पटक जितेर उनी आफ्नो क्षमतामा खरो उभिन सफल भए ।

वास्तवमा सन् २०२१ अघि धेरैले मेसीलाई उत्कृष्ट भएर पनि अर्जेन्टिनाको जर्सीमा अन्तराष्ट्रिय उपाधि जित्न नसकेका खेलाडीबाट सम्बोधन गरेपनि त्यसमा कुनै सत्यता भने थिएन । किनभने मेसी सम्मिलित अर्जेन्टिनाले सन् २००५ र २००८ मा गरी दुई अन्तराष्ट्रिय प्रतियोगिताको उपाधि जितिसकेका थिए । सन २००५ मा नेदरल्यान्ड्समा भएको फिफा वल्र्ड यूथ च्याम्पियनशिपमा अर्जेन्टिनाले पाँचौपटक उपाधि जित्दा मेसीले समूह चरणदेखि फाइनलसम्म ६ गोल गरेका थिए ।

उक्त प्रतियोगिताको फाइनलमा उनले दुई गोल गरेपछि अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले पराजित गर्दै उपाधि जितेको थियो । २० वर्ष मुनिको फिफा विश्वकपबाट समेत परिचित सो टूर्नामेन्टको उपाधि जित्दा मेसी मात्र १८ वर्षका थिए । जूनियर्स लेभलतर्फ च्याम्पियन बनेपनि यो नै उनको करियरको पहिलो अन्तराष्ट्रीय उपाधि हो ।

अधिकांशले ओलम्पिक फुटबलको गोल्ड मेडल उनको करियरको पहिलो अन्तराष्ट्रिय सफलता भन्ने गरेपनि त्यो दोस्रो हो । त्यसबेला २१ वर्षका उनले आफ्नो देशको २३ वर्ष मुनिको उमेर समूहको ओलम्पिक टोलीबाट सन् २००८ मा मात्र गोल्ड मेडल जितेका थिए । त्यसपछि भने अर्को सफलताका लागि उनले १३ वर्ष कुर्नुपर्याे ।

सन २००४ को एथेन्स ओलम्पिकको पुरुष फुटबलतर्फ पहिलो पटक गोल्ड जितेर अर्जेन्टिनाले आफ्नो फुटबल इतिहासमा नयाँ अध्यायको थालनी गरेको थियो । त्यो साखले त्यसको चार वर्षपछि सन २००८ को बेइजिंग समर ओलम्पिकमा समेत निरन्तरता पायो । त्यतिमात्र होइन, २००८ को ओलम्पिक गोल्ड मेडल मेसीको दोस्रो अन्तर्राष्ट्रिय सफलता समेत बन्यो । लगालग दोस्रो पटक अर्जेन्टिनाले गोल्ड जित्नु पछाडि मेसीको पनि महत्वपूर्ण योगदान थियो ।

उक्त प्रतियोगितामा मेसीले अर्जेन्टिनाको ओलम्पिक फुटबल टोलीको कप्तानको भूमिका निभाएका थिए । मेसीले उक्त ओलम्पिक खेलमा तीन गोल गरेका थिए । त्यसअघि उनले बार्सिलोना क्लबका लागि मात्र विभिन्न ट्रफिहरू जितेका थिए ।
उनले टोलीलाई समूह चरणदेखि सेमिफाइनल र फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । फाइनलमा अर्जेन्टिनाले नाइजेरियालाई १–० गोलअन्तरले हराउँदै गोल्ड चुमेको थियो ।

उक्त विजयी गोल मेसीले नै गरेका थिए । मेसीको उत्कृष्ट प्रदर्शनका कारण उनलाई ‘सर्वोत्कृष्ट युवा खेलाडी’ को उपाधि समेत प्रदान गरिएको थियो । ओलम्पिक गोल्ड मेडल जितेपछि उनले अर्जेन्टिनामा म्याराडोनाकालीन फुटबलको लोकप्रियतालाई पुनः ब्युँत्याएका थिए ।
सन् २००८ को बेइजिङ ओलम्पिक फुटबलमा अर्जेन्टिनाको यात्रा
समूह चरण:
अर्जेन्टिना २–१ आईभोरी कोस्ट
अर्जेन्टिना १–० अस्ट्रेलिया
अर्जेन्टिना २–० सर्बिया
क्वार्टरफाइनल :
अर्जेन्टिना २–१ नेदरल्यान्ड्स
सेमिफाइनलः
अर्जेन्टिना ३–० ब्राजिल
फाइनल:
अर्जेन्टिना १–० नाइजेरिया

ओलम्पिक पुरुष फुटबलका मेडल विजेता

ओलम्पिक पुरुष फुटबल इभेन्ट सन् १९०० को पेरिस ओलम्पिकदेखि समावेश गरिएको खेल हो । विश्व फुटबलमा अर्जेन्टिना, ब्राजिल र पश्चिम जर्मनी २०औं र २१औं शताब्दीकै सर्वाधिक सफल टोलीमध्येमा गनिन्छन् । किनभने बितेको एक शताब्दीभित्र यी राष्ट्रले फिफा विश्वकपको उपाधि पटक–पटक जितेका थिए ।

तर, ओलम्पिक फुटबलको गोल्ड मेडल जित्न भने फुटबलका यी धुरन्धर राष्ट्रलाई सय वर्षभन्दा बढी समय लाग्यो । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ओलम्पिक फुटबलमा पहिलो गोल्ड मेडल प्रतियोगिता सुरु भएको १०४ वर्ष र ब्राजिलले ११६ वर्षपछि मात्र जितेको थियो । तर, लामो ओलम्पिक गोल मेडलको तिर्खा मेटाएका यी दुवै राष्ट्रले लगालग दुई संस्कारणको गोल्ड मेडल आफ्नो पोल्टामा पारे । अजेन्टिनाले सन् २००४ र २००८ तथा ब्राजिलले सन् २०१६ र २०२० को ओलम्पिक फुटबलको स्वर्ण हात पारेका थिए ।

त्यसैगरी अर्कोतिर कुनै समय विश्वकपको उपाधि जितेका पश्चिम जर्मनीले भने आफ्नो अस्तित्व एकीकृत हुनुभन्दा अघि र पछि गरी अहिलेसम्म ओलम्पिक फुटबलको गोल्ड जित्न सकेको छैन । यधपि तत्कालिन समयमा फिफा विश्वकप नजितेको भएपनि पूर्वी जर्मनीले भने दुई पटक ओलम्पिक गोल्ड मेडल आफ्नो पोल्टामा पारेका थिए । हालसम्म ओलम्पिक फुटबलमा गोल्ड, सिल्भर र ब्रन्ज मेडल जितेका राष्ट्रहरूको सूची यहाँ प्रस्तुत गरिएको छ ।

ओलम्पिक आयोजक सहर गोल्ड सिल्भर ब्रन्ज
१९०० पेरिस ग्रेट ब्रिटेन फ्रान्स मिक्स टिम
१९०४ सेन्टलुइस क्यानाडा अमेरिका अमेरिका
१९०८ लण्डन गे्रट ब्रिटेन डेनमार्क नेदरल्यान्ड्स
१९१२ स्टकहोम ग्रेट ब्रिटेन डेनमार्क नेदरल्यान्ड्स
१९२० एन्टवर्प बेल्जियम स्पेन नेदरल्यान्ड्स
१९२४ पेरिस उरुग्वे स्विट्जरल्यान्ड स्विडेन
१९२८ एम्सटर्डम उरुग्वे अर्जेन्टिना इटाली
१९३६ बर्लिन इटाली अस्ट्रिया नर्वे
१९४८ लण्डन स्विडेन युगोस्लाभिया डेनमार्क
१९५२ हेलसिन्की हंगेरी युगोस्लाभिया स्विडेन
१९५६ मेलबर्न सोभियत युनियन युगोस्लााभिया बुलगेरिया
१९६० रोम युगोस्लाभिया डेनमार्क हंगेरी
१९६४ टोकियो हंगेरी चेकोस्लोभाकिया युनाइटेड जर्मनी
१९६८ मेक्सिको सिटी हंगेरी बुलगेरिया जपान
१९७२ म्युनिख पोल्याण्ड हंगेरी पूर्वी जर्मनी
१९७६ मोन्ट्रियल पूर्वी जर्मनी पोल्यान्ड सोभियत युनियन
१९८० मस्को चेकोस्लोभाकिया पूर्वी जर्मनी सोभियत युनियन
१९८४ लस एन्जेलस फ्रान्स ब्राजिल युगोस्लाभिया
१९८८ सिओल सोभियत युनियन ब्राजिल जर्मनी
१९९२ बार्सिलोना स्पेन पोल्याण्ड घाना
१९९६ एट्लान्टा नाइजेरिया अर्जेन्टिना ब्राजिल
२००० सिड्नी क्यामरुन स्पेन चिली
२००४ एथेन्स अर्जेन्टिना पाराग्वे इटाली
२००८ बेइजिङ अर्जेन्टिना नाइजेरिया ब्राजिल
२०१२ लण्डन मेक्सिको ब्राजिल साउथकोरिया
२०१६ रियो डे जेनेरियो ब्राजिल जर्मनी नाइजेरिया
२०२० टोकियो ब्राजिल स्पेन मेक्सिको