सेलेना १६ वर्षमै हिट


सेलेना गोमेज विश्वप्रसिद्ध अमेरिकी पप स्टार, अभिनेत्री र निर्मात्री हुन् । सन् १९९२ मा अमेरिकाको ग्रान्ड प्रेरी टेक्सासमा जन्मिएकी उनले सात वर्षको उमेरमा बाल टेलिशृंखला बार्नी एन्ड फ्रेन्ड्सबाट अभिनय यात्रा शुरू गरेकी थिइन् । किशोरअवस्थामा पुगेपछि उनी विजार्डस् अव वेभर्ली प्लेस एलेक्स रुसोको भूमिकामा अभिनय गरेर चर्चामा आएकी थिइन्। टेलिभिजनका साथै एनादर सिन्ड्रेला स्टोरी, रमोन एन्ड बिजस, स्प्रिङ ब्रेकर्स, द डेड डोन्ड डाई, अ रेनी डे इन न्युयोर्कजस्ता फिल्ममा अभिनय गरेकी छन्।

उनले पूर्वव्यान्ड सेलेना गोमेज एन्ड द सिनको साथ गाएको किस एन्ड टेल, अ इयर्स विथआउट रेन, ह्वेन द सन गोज डाउन गरी तीन गीत बिलबोर्डको १०औँ स्थानभित्र पर्न सफल भएको थियो । त्यस्तै, उनले एकल रूपमा प्रकाशन गरेको एलबम स्टार्स डान्स र रिभाइभल बिलबोर्डको शीर्ष दुई सय स्थानभित्र पर्न सफल भएका थिए । बिलबोर्डको एक तथ्याङ्कअनुसार सेलेनाको सात मिलियनभन्दा बढी एकल एलबम र २२ मिलियनभन्दा बढी एकल गीत बिक्री भइसकेका छन् । उनका रोचक किस्सा अनेकन छन्। जस्तो कि :

-सेलेना गोमेज सामाजिक सञ्जाल इन्स्टाग्राममा दश मिलियन फलोअर्स कमाउने पहिलो हुन् ।

-उनले १२ वर्षको उमेरमा स्विट लाइफ अफ ज्याक एन्ड कोडीमा अभिनय गर्दा पहिलो चुम्बन डिलन स्प्राउजलाई गरेकी थिइन्।

-उनी सन् २००९ मा युनिसेफको सबैभन्दा कान्छी एम्बेस्डर बनेकी थिइन्। त्योबेला उनले युनिसेफका सदस्यहरूका साथ पूर्वीअफ्रिकी राज्य घानाको भ्रमण गरेकी थिइन् ।

-सेलेना लुपुसनामक रोगबाट पीडित थिइन् । जसले गर्दा उनको मिर्गौलालाई असर गरेको थियो। उनका साथी फ्रान्सिया राइसाले उनको जीवन रक्षाका लागि मिर्गौला दान दिएकी थिइन्। उनको शल्यक्रिया केही जटिल भए पनि उनी पूर्णरूपमा स्वस्थ भइन्।

-सेलेना गोमेजले थुप्रै सेलिब्रेटीका साथ डेट गरेकी छन्। उनका एक पूर्वप्रेमी अमेरिकी गायक तथा बलिउड अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस हुन् । त्यस्तै, उनले पपस्टार जस्टिन बिबर र द विकेन्डका साथ डेट गरेकी थिइन्। जस्टिनले मार्क माई वर्डस्, ब्याड डे,नथिङ लाइक अस र ह्वेर आर यु नाउजस्ता गीत सेलेनालाई समर्पित गरेर गाएका हुन्। त्यस्तै अभिनेता टेलर लाउटनर, ओल्यान्डो ब्लूम, क्यानेडियन गायक द विकेन्ड, डिजे जेड, चार्ली पाउथ, नियाल होरान र इन्स्टाग्राम इन्फ्लुएन्सर सामुअल क्रोस्टका साथ उनको प्रेम सम्बन्ध रहेको थियो। हाल उनी अमेरिकी गीत लेखक तथा संगीत उत्पादक बेनी ब्लान्कोका साथ प्रेममा छिन्।

-सेलेनाले केही समय आफ्नी आमालाई म्यानेजरको रूपमा राखेकी थिइन्। तर, स्वतन्त्र रूपमा आफ्नो निर्णय गर्न केही महिनामै आफ्नी आमालाई सो पदबाट हटाएकी थिइन्।

-सेलेनाले होम स्कुलिङमार्फत आफ्नो हाइस्कुल पूरा गरेकी थिइन्।

-सेलेना १६ वर्षमै यति हिट थिइन् कि त्यो उमेरमै युनिसेफकी सद्भावना दूत बनेकी थिइन्। उनी सन् २०१७ मा २२ वर्षको उमेरमा नेपाल आएकी थिइन्। महिला तथा बालबालिकासम्बन्धी जनचेतानाका लागि नेपाल आएकी उनलाई नेपालमा दुव्र्यवहार र शोषणबाट पीडित भएर उद्धार गरिएका बालबालिकासित भेट गराइएको थियो । सानै उमेरमा सेलिब्रिटी बनेकी सेलेनाले नेपालमा आधारभूत मानवीय आवश्यकता र अधिकारका कुराबाट बालबालिका कसरी वञ्चित छन् भन्ने आफूले देखेको बताएकी थिइन् । केही दिन दाङका केही स्थानमा बिताएकी उनी थारू पहिरनमा झुम्रा नाच नाचेर रमाएकी थिइन्।

-सेलेनाको कयौं गीत चर्चाको शिखरमा छन्। तीमध्ये उनले पूर्वप्रेमी चार्ली पाउथसँग गाएको वि डन्ट टक एनिमोरले ३.१८ बिलियनसहित सर्वाधिक युट्युब भ्युज पाएको छ भने टाकी टाकी, काम डाउन, कम एन्ड गेट इटजस्ता गीत उनका चर्चित गीत हुन्।