राजनीतिमा युवा सम्भावना 

३१ वर्षमै नीति निर्माण तहमा पुग्न सफल गगन 

0
Shares

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापा राजनीतिमा लागेका युवाका लागि रोल मोडल हुन् । २०३३ सालमा जन्मिएका उहाँ २०४६ सालको जनआन्दोलनमा सक्रिय हुँदा कक्षा ९ मा अध्ययनरत हुनुहुन्थ्यो । यद्यपि राजनीतिमा लाग्ने सोच नबनाएका थापा अहिले देशको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको महामन्त्री हुनुहुन्छ । 

सिद्धार्थ वनस्थली इन्सिटच्युटमा पढुन्जेल डाक्टर वा इन्जिनियर बन्ने चाहना उहाँमा थियो । तर, २०४६ सालको राजनीतिक आन्दोलनमा कांग्रेसको सदस्यका रूपमा सक्रिय बनेपछि राजनीतितिर यात्रा मोडियो । २०५१ सालमा स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसको सदस्य बनेर २०५३ मा स्ववियुको सचिव र २०५५ सालमा सभापति बनेका थापा २०५५ मै त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य हुनुभएको थियो । 

२०५७ सालमा नेपाल विद्यार्थी संघको उपाध्यक्ष र २०५९ सालमा महामन्त्री बनेका गगनले खरो विद्यार्थी नेताका रूपमा पहिचान बनाउनुभयो । तत्कालीन राजाको निरङ्कुश कदमविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको अगुवाइ गरेका उहाँले स्वतन्त्रताका लागि आन्दोलनको नेतृत्व गर्दै गर्दा २०६०–०६१ सालमा राज्यविरुद्धको आरोपमा राजद्रोहको मुद्दा खेप्नुभयो ।

२०६२÷०६३ सालको जनआन्दोलनमा पनि अग्रणी भूमिका खेलेका गगन २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०७० मा भएको दोस्रो संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ४ बाट अत्यधिक मतले निर्वाचित उहाँ संसद्को कृषि तथा जलस्रोत समितिको सभापति भएर प्रभावशाली भूमिका निर्वाह गर्दै चर्चित सांसद बन्नुभयो । संविधान निर्माणमा पनि थापाले राम्रो भूमिका खेल्नुभयो । 

यसै बीच, २०७३ सालमा उहाँले स्वास्थ्यमन्त्री बनेर मिर्गौला, क्यान्सर, बाथमुटु, जस्ता कडा रोगको उपचारमा निम्न वर्गीय नागरिकलाई सहज रूपमा उपचार गर्ने व्यवस्था गर्नुभएको थियो । आफ्नो नौ महिने कार्यकालमा थापाले स्वास्थ्य बीमा लागू गरेपछि लाखौं नागरिकको स्वास्थ्य उपचारमा सहजता आएको छ । 

यिनै जनमुखी कामले गर्दा २०७४ र ०७९ को निर्वाचनमा काठमाडौँ–४ बाट पुनः निर्वाचित हुनुभएको हो । २०६७ सालमा भएको नेपाली कांग्रेसको महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका गगनले समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गर्नुभएको छ । 
 
स्वास्थ्यमन्त्री हुँदाका ३० महत्त्वपूर्ण निर्णय 

कार्यविधि : २०७३ भदौ १० गतेदेखि २०७४ जेठ ९ गतेसम्म 

डायलाइसिस सेवा पूरै निःशुल्क 

मिर्गौला प्रत्यारोपण पूरै निःशुल्क

३. बाथमुटु रोगको शल्यक्रिया निःशुल्क 

४.  नेपालमा कलेजो प्रत्यारोपण सेवा सुरु 

  विशिष्टलाई १५ लाख रुपियाँभन्दा बढी उपचार खर्च नदिने 

६  कान्ति अस्पतालमा नवजात शिशुको निःशुल्क उपचारको व्यवस्था

  सैनिक अस्पताल सर्वसाधारणका लागि खुला

८  हरेक सरकारी अस्पताल बिहान ९ देखि ३ बजेसम्म अनिवार्य सञ्चालन गर्नुपर्ने, ३ देखि ५ बजेसम्म पेइङ सेवा दिने

सबै स्वास्थ्य चौकी चार बजेसम्म चलाउन निर्देशन 

१० झन्डै ७ सय चिकित्सक नियुक्त गरिएको 

११. स्वास्थ्य चौकीमा नसर्ने रोगको परीक्षण सुरु 

१२. आत्मनिर्भर भएका औषधिहरु विदेशबाट ल्याउन नपाइने 

१३. अस्पतालमा फार्मेसीको स्थापना र सञ्चालन 

१४. मुटु र क्यान्सरको उपचार सेवा विस्तार 

१५. बिना दर्ता सञ्चालन भएका स्वास्थ्य संस्थाहरु बन्द 

१६. सरकारी स्वास्थ्यकर्मीले अवैध संस्थामा सेवा दिन नपाउने व्यवस्था 

१७. वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ वटा स्वास्थ्य संस्थालाई निःशुल्क डायलाइसिस सेवाका लागि अनुमति 

१८. मिर्गौला डायलाइसिस मेसिन किनिएको, काठमाडौँ बाहिर डायलइसिस सेवा विस्तार

१९. हृदयरोग निवारण सेवा सुरु 

२० मेडिकल कलेजहरुसँगको सहकार्यमा जिल्ला अस्पतालमा आकस्मिक शल्यक्रियासहितको विषेशज्ञ सेवा सुरु 

२१. नेपालगञ्जमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खोल्ने निर्णय 

२२. ५० वटाभन्दा बढी शय्या भएका अस्पतालमा सामाजिक सेवा एकाइ गठन 

२३. पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था

२४ सुर्तीजन्य पदार्थ जथाभावी बेच्न रोक, छुट्टै लाइसेन्स लिनुपर्ने व्यवस्था

२५.हरेक महिनाको पहिलो शनिबार अस्पतालको सरसफाइ

२६. ‘मेरो वर्ष, म स्वस्थ, मेरो देश स्वास्थ्य’ अभियान सुरु

२७. विद्यालयमा सामुदायिक नर्सको अवधारणा

२८  खोप, एम्बुलेन्स, प्रयोगशाला, स्वास्थ्य संस्था स्थापना तथा सञ्चालन लगायत निर्देशिका लागू

२९  मदिरा नियन्त्रण तथा नियमन नीति 

३०. विपन्न नागरिक उपचार सहायता