रातामकै ब्रान्ड एम्बेस्डर


काठमाडौं ।

लोकप्रिय हास्य अभिनेता, गायक तथा फिल्म निर्माता किरण केसी (रातामकै) इको केयर प्रालिले उत्पादन गरेको इँटा ग्रिन ब्रिक्सको ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन्।

बुधबार राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आयोजित कार्यक्रममा केसीलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरिएको हो। कार्यक्रममा बोल्दै किरणले आफूलाई कम्पनीको ब्रान्ड एम्बेस्डरको प्रस्ताव आए पनि त्यसबारे राम्ररी बुझेरमात्र स्वीकार गरेको बताए।

‘मैले पैसा आइहाल्छ भनेर साइन गरिनँ। के यो प्रविधिबाट उत्पादित इँटा साँच्चिकै कम्पनीले भनेजस्तै छ त भनेर रिसर्च गरी हेरेँ। अस्तिमात्र म अस्ट्रेलिया गएर आएँ। त्यहाँ पनि यस्तै खालका इँटाबाट निर्मँण गरिएका सुन्दर घर देखेँ। अन्य स्रोतबाट पनि अध्ययन गरेपछि मात्र ब्रान्ड एम्बेस्डर हुन तयार भएँ,’ कार्यक्रममा केसीले भने।

किरणले आफूसँग पनि २५ वर्षको परम्परागत इँटा उत्पादनको अनुभव रहेको र त्यसबाट उत्पादित धूलोधूँवाले वातावरण र मानव स्वास्थ्यमा पर्ने असर तथा भारतबाट कच्चापदार्थ आयात गर्दाको सास्तीबारे लेखाजोखा नभएको बताए।

कम्पनीका संस्थापक अध्यक्ष विनोद श्रेष्ठले नपोली र वायु प्रदूषण नगरी नया“ प्रविधिबाट उत्पादित यो इँट्टा परम्परागत इँटाभन्दा फरक, वातावरणमैत्री र गुणस्तरीय रहेको दाबी गरे।

हालको प्रविधिमा इँटा उत्पादन गर्न धेरै मानवस्रोत र दुई सय रोपनी जग्गा आवश्यक पर्ने, तर यसका लागि पाँच रोपनी जग्गा र थोरै जनशक्ति भए पुग्ने पनि उनले बताए।