सुशासनविद् र दानवीरका रुपमा डा. हीरामणि घिमिरे

378
Shares



दैनिक लेख्ने विषय यत्ति फेला पर्छ कि लेख्नै सकिन्न । भ्याइन्न पनि । तर, आज डा. हीरामणि घिमिरेको रु. एक करोडको कथा नलेखी बस्नै सकिन । हातका औंलाहरु ल्यापटपको किबोर्डमा अनायासै दौडिन थाले। आज, अर्थात् २०८१ साउन १२ गते शनिबारका दिन सुशासनविद् भनेर चिनिनुभएका डा. हीरामणि घिमिरेले एउटा कार्यक्रमको आयोजना गरी खाँदबारी बालविकास समाजलाई रु. १ करोडको चेक हस्तान्तरण गर्नुभयो।

ऊर्जामन्त्री दीपक खड्का प्रमुख अतिथि भएको उक्त कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्व–मुख्यसचिव डा. विमल कोइराला र यस पंक्तिकारलाई पनि वक्ताका रुपमा डाकिएका थियो । कार्यक्रममा पूर्वसचिवहरु सुुशीलजंग राणा, दिनेश घिमिरेलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको खचाखच उपस्थिति थियो । डा. घिमिरेले रु. १ करोडको चेक संस्थाको अक्षय कोषका लागि दानस्वरुप अर्पण गरेपछि एकाएक माहौल तात्यो ।

डा. घिमिरेले जर्मनीबाट पीएचडी गर्नुभएको हो । उहाँ २०३९ सालमा लोक सेवा आयोगले लिएको शाखा अधिकृतको परीक्षाको टपर हुनुहुन्छ । उपसचिव भएपछि उहाँले सामान्य प्रशासन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गर्नुभयो। निजामती सेवालाई सोही स्थानबाट त्यागेर उहाँ विकासका साझेदार संस्थाहरुमा क्रियाशील हुन थाल्नुभयो । उहाँले शुरुमा डीएफआईडीको इनेवल स्टेट प्रोग्राममा काम गर्नुभयो भने पछि सोही निकायको इकोनोमिक पोलिसी इन्कुबेटरको टिम लिडरजस्तो उच्च पदमा रहेर सेवा गर्नुभयो । उहाँले नेपालस्थित विश्व बैंकमा सिनियर गभर्नेन्स स्पेसलिस्ट भएर पनि काम गर्नुभयो । यसै गरी, उहाँ साउती नाम संस्थाको कार्यकारी निर्देशक रहनुभयो भने हाल यसै पंक्तिकार अध्यक्ष रहेको सीआईजीपी नामक संस्थाको सञ्चालक सदस्य हुनुहुन्छ । उहाँले संयुक्त राष्ट्र संघीय मिसनमा रही इस्ट टिमोरमा काम गर्नुभयो भने कम्बोडियाको निर्वाचन पर्यवेक्षकको भूमिका निर्वाह गर्नुभयो । यस अतिरिक्त, प्रधानमन्त्री अध्यक्ष रहेको प्रशासन सुधार आयोगलगायतका निकायमा रही काम गर्नुभयो । यिनै पहिचान बनाउनुभएका डा. घिमिरेले रु. १ करोड दान गरेर दानवीरको पहिचान निर्माण गर्नुभएको छ ।

अब प्रश्न उठ्न सक्छ, आखिर डा. घिमिरेका विषयमा किन यसरी लेखिँदै छ ? यसको जवाफ हो, डा. घिमिरेजस्तै पेसाविद् नेपालमा प्रशस्त छन् । हो, ज्ञानका हिसाबले डा. घिमिरे औसत पेसाविद्हरुभन्दा निकै माथि हुनुहुन्छ । तर, आर्थिकरुपमा उहाँ सामान्य पेसाविद्सरह हुनुहुन्छ । उहाँले एक करोड दान गर्दा आफ्नो पसिनाको कमाइ अर्पण गर्नुभएको हो । आफ्नो हड्डी खियाएर आर्जन गरेको रकमबाट यति ठूलो रकम दान गर्ने सम्भवतः यस समूहकै पहिलो व्यक्ति हुनुपर्छ । उहाँले इतिहास रच्नुभएको छ ।

डा. घिमिरेले खाँदबारी बालविकास समाजका नाममा रु. एक करोड दिँदा उहाँको नाम वा बाबुबराजुको नाम उल्लिखित छैन । यस रकमलाई दान दिएको वा सहयोग गरेको भन्न पनि रुचाउनुहुन्न उहाँ । उहाँ भन्नुहुन्छ, ‘मेरो जन्मस्थल, मेरो स्कुल, मेरा अग्रज, मेरो समाज र मेरो मुलुकले ममाथि जे लगानी गर्‍यो, त्यो मैले पैँचो तिरेको मात्रै हो ।’

यहाँनेर, मानिसलाई हैरान पार्ने एउटा पक्ष छ । त्यो हो ? रकम अर्पण गरिएको स्थान । डा. घिमिरेले खाँदबारी बालविकास समाजका नाममा रु. एक करोड दिँदा उहाँको नाम वा बाबुबराजुको नाम उल्लिखित छैन । यस रकमलाई दान दिएको वा सहयोग गरेको भन्न पनि रुचाउनुहुन्न उहाँ । उहाँ भन्नुहुन्छ, ‘मेरो जन्मस्थल, मेरो स्कुल, मेरा अग्रज, मेरो समाज र मेरो मुलुकले ममाथि जे लगानी गर्‍यो, त्यो मैले पैँचो तिरेको मात्रै हो ।’ यसरी डा. घिमिरे साँच्चै उदार मनका साथ निस्वार्थ भावले समाज सेवामा अगाडि आउनुभएको छ ।

अब प्रश्न उठ्छ, डा. घिमिरे, उहाँकी धर्मपत्नी सीता घिमिरे तथा छोरा–बुहारीहरुले के उद्देश्यले यत्रो धनराशि दान गर्नुभएको होला ? यसमा विपन्न, असहाय, पीडित बालबालिकाको स्वास्थ्य र शिक्षामा खर्च गरी सुयोग्य, कर्मठ एवं समर्पित नागरिक उत्पादन गर्ने ध्येय लिइएको छ । यस कामको हाल केवल शुभारम्भ मात्रै गरिएको छ । जसको कारण सेन्टर फर इनोभेटिभ्स गभर्नेन्स प्राक्टिसेस्ले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना निर्माणमा सघाउने सार्वजनिक प्रतिबद्धता जाहेर भएको छ । यसर्थ, यो रकमबाट संखुवासभा र अन्य जिल्लाका बालबालिकाको भलाइमा रकम खर्चिइनेछ भनी अपेक्षा गर्न सकिन्छ ।

खाँदबारी बालविकास समाजले मुनाफारहित ढंगले समाज सेवाको काम गर्नेछ । यसले बालबालिकाको सर्वाङ्गिण विकासमा टेवा पुर्‍याउनेछ । विशेष गरी कमजोर आर्थिक स्थिति भएका मेधावी विद्यार्थीका लागि यो संस्था अभिभावक बन्नेछ । यसले सीमान्तकृत क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था गर्नेछ । यसले मुलुकका बालबालिकालाई केन्द्रविन्दुमा राखी सामाजिक र सांस्कृतिक उत्थानमा रचनात्मक भूमिका निर्वाह गर्नेछ । बालबालिकालाई सक्षम, सबल तुल्याउन यसले नैतिक शिक्षामा जोड दिनेछ । यसबाट सुसंस्कृत र राष्ट्रप्रेमी नागरिकको उत्पादन वृद्धि हुनेछ ।

डा. हीरामणि घिमिरेले अर्पण गर्नुभएको रु. एक करोडको धनराशीबाट मुलुकभरिका बालबालिकाले शिक्षा र स्वास्थ्यको सेवा–सुविधा पाउनेछन् । यसले विशेष गरी, आर्थिकरुपमा विपन्नका लागि प्राथमिकता दिनेछ । यस रकमबाट बालबालिकाको पक्षमा सभा, सम्मेलन, अन्तरक्रिया, गोष्ठी गरिनेछ । यसबाट बालबालिकाको आत्मावल वृद्धि हुनेछ । यस संस्थाले अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थासँग साझेदारीमा काम गर्नेछ । यसबाट मुलुकका विपन्न, सीमान्तकृत, वञ्चितीकरणमा परेका, लोपोन्मुख, पिछडावर्गलगायतका बालबालिकाको उत्थान हुनेछ । साथै, यस संस्थाले आफूलाई केवल बालबालिकामा मात्रै सीमित नराखी वयष्क र ज्येष्ठ नागरिकलाई पनि सक्दो सहयोग पु¥याउने लक्ष्य लिएको छ । यस्तो पवित्र कार्यको योजनाकार डा. घिमिरे बधाईका पात्र बन्नुभएको छ । उहाँ समाजको रोलमोडल बन्नुभएको छ । मुलुकमा क्रियाशील प्रशासन र व्यवस्थापन क्षेत्रका हजारौं पेसाविद् विज्ञवर्गका लागि उहाँ सकारात्मक अर्थमा ईष्र्याका पात्र बन्नुभएको छ । उहाँ यस क्षेत्रका लागि पथप्रदर्शक र अग्रणी साबित हुनुभएको छ ।

डा. घिमिरेको पहलमा स्थापना भएको खाँदबारी बालविकास समाजमा साधारण सदस्य, संस्थापक सदस्य, आजीवन सदस्य र मानार्थ सदस्यले विविध भूमिका निर्वाह गर्न सक्ने अनुभूति गरिएको छ । कारण डा. घिमिरेले आफूले अर्पण गरेको रकम सीड मनी हुने कुरा बताउनुभएको छ । यसमा अन्य दाताबाट रकम थप भई भविष्यमा कोषको रकम वृद्धि हुनेछ । यस संस्थालाई हाँक्न प्रत्येक २ वर्षका लागि ९ सदस्यीय कार्यसमितिको निर्वाचन साधारणसभाबाट हुनेछ । यसर्थ, इच्छुक र योग्य व्यक्तिले सदस्यता हासिल गरी यस संस्थामार्फत बालबालिकाको हितमा काम गर्ने अवसर सृजना भएको छ ।

डा. हीरामणि घिमिरेले नामअनुसारको काम गर्नुभएको छ । यसर्थ, उहाँको परिकल्पनाअनुसार विशेष गरी विपन्न बालबालिकालाई संविधानले दिशाबोध गरेअनुसार पढ्न पाउने हक सुनिश्चित गर्नुपर्छ । उनीहरुलाई आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित गर्नुहुँदैन । यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले खाँदबारी बालविकास समाजसँग सहकार्य गर्ने ढोका खुलेको छ । यसमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाले पनि डा. घिमिरेसँग यस क्षेत्रमा सहकार्य गर्न सक्नेछन् । यस अतिरिक्त मुलुकका बुद्धिजीवी र विशेष गरी प्रशासन र व्यवस्थापन क्षेत्रका लब्ध प्रतिष्ठितहरुले डा. घिमिरेको होस्टेमा हैँसे गर्नुपर्छ । साथै निजी क्षेत्र र संचार क्षेत्रले पनि यस्तो पुनीत कार्यमा सहयोगको हात अघि बढाउनुपर्छ ।

अन्त्यमा, सुशासनविद् भनेर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सुपरिचित डा. हीरामणि घिमिरे उप्रान्त मनकारी दानवीर, समाजसेवी र बालबालिकाको अभिभावकका रुपमा पनि आफूलाई परिचित गराउन सफल हुनुभएको छ । उहाँको सत् कार्यका लागि खुल्ला हृदयले बधाई ज्ञापन गर्न चाहन्छु ।