रोबोटिक सर्जरीको सफलता



काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो अस्पतालले रोबोटको सहयोगमा रोबोटिक सर्जरी शुरु गरी एक सातामा तीनवटा सर्जरीमा सफलता प्राप्त गर्‍यो । यो सफलताले आम नागरिकमा खुशी छाएको छ। यस्ता प्रविधिलाई नेपाल सरकारले पनि प्राथमिकतामा राखेर आम नागरिकको पहुँच पुग्ने गरी भित्र्याउनु जरुरी छ।

सरकारले अस्पतालको संख्या थप्नुभन्दा प्रविधि र दक्ष जनशक्ति बढाएर आम नागरिकको पहुँचमा रहेका वीर अस्पताल, जिल्ला अस्पताललगायत शिक्षण अस्पताललाई प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिनुपर्छ। हरेक अस्पतालमा बिरामीको चाप बढिरहेको र पालो कुर्दाकुर्दै जटिलतामा पुगेको अवस्था सर्वविदित नै छ। यस्तो परिस्थितिमा रोबोटिक सर्जरीले समयको बचत गर्नुका साथै बिरामीलाई ठूलो घाउ नबनाई उपचार गर्न सकिने हुन्छ।

अन्नपूर्ण न्यूरो अस्पतालले भित्र्याएको रोबोटिक प्रविधिबाट एक सातामै रोबोटको सहयोगमा तीनजनाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ। ९ वर्षका बालकदेखि ६५ वर्षका ज्येष्ठ नागरिकसम्मको यसरी शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गरेका बिरामीहरुमा पहिलो बे्रन ट्युमर, दोस्रो सर्भाइकल समस्याको र तेस्रो ९ वर्षका बालक छारेरोगको समस्या भएका थिए । यी तीनैजनाको शल्यक्रिया सफल भएको छ। रोबोटको सहयोगमा शल्यक्रिया गर्दा चिकित्कहरुका लागि निकै सहज र समयको पनि बचत भएको अन्नपूर्ण न्यूरो अस्पतालका प्रमुख डा. वसन्त पन्तले बताउनुभएको छ ।

अस्पतालका अनुसार सो रोबोटिक सर्जरी मेसिन झन्डै ८ करोड रुपियाँको लगानीमा छिमेकी मुलुक चीनबाट भित्र्याइएको हो । ३ वर्ष सम्पूर्ण वारेन्टी र १० वर्ष लाइफ ग्यारेन्टी रहेको सो रोबोटको सहयोगमा काम गर्दा २ दिन लाग्ने शल्यक्रिया सहज र सरलसँग २ घण्टामै सकिएको जानकारी गराइयो। रोबोटले शल्यक्रिया गर्दा पिन प्वाइन्टमा शून्य दशमलव ६ मिलिमिटरको सानो घाउ बनाउँछ र शल्यक्रिया गरेको बिरामीलाई छिट्टै निको हुन्छ।

अन्य अस्पतालमा पनि यस्तो रोबोट प्रयोग गर्ने हो भने बिरामीले छिट्टै सेवा पाउने र खर्च पनि कम हुने देखिन्छ । नेपालको न्यूरो साइन्समा यस्ता रोबोटले निकै राम्रो काम गर्ने र नेपाललाई मेडिकल टुरिजम हब बनाउन सफल हुनेमा विज्ञहरुले औंल्याउँदै आएका छन् । यतातर्फ सरकारको ध्यान पुग्नु जरुरी देखिन्छ ।

हुन त अन्नपूर्ण न्यूरो अस्पतालमा भित्रिएको भन्दा भिन्न खालको रोबोटिक मेसिन केएमसी, बीएन्डबी अस्पताललगायतले पनि नेपालमा भित्र्याएका छन् । तर मल्टिपर्पोज र नयाँ प्रविधिको रोबोट नेपालमा भित्रिएको यो नै पहिलो हो। यो मेसिनको सहयोगमा जटिल खालका शल्यक्रिया तत्काल गरी बिरामीको छिटो उपचार गर्न सकिने हुन्छ । साथै थप जटिलता हुनबाट बचाउन पनि सकिन्छ । ओपन सर्जरी गर्नुभन्दा रोबोटिक विधिबाट गर्दा प्रत्यक्ष २५ प्रतिशत खर्च बढ्ने भए पनि अस्पताल बसाइलगायतका अन्य खर्च कम हुनाले बिरामीलाई आर्थिक भार धेरै नपर्ने जनाइएको छ।

त्यसैले यो रोबोट चिकित्सा विज्ञानका क्षेत्रमा उपयोगी देखिन्छ। यो प्रविधिबाट गरिने उपचारका क्रममा चिकित्सक, स्वास्थ्यकर्मीका साथै इन्जिनियरको पनि सहभागिता हुनुपर्छ। अब नेपालका दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकेर सरकारले नयाँ प्रविधि भित्र्याई उनीहरुलाई यसमा समाहित गराउनुपर्ने देखिन्छ। यसले नेपाललाई विश्वसामु स्वास्थ्य विज्ञानका क्षेत्रमा उच्च स्थानमा चिनाउन मद्दत पुग्नेछ।