ब्रह्मलोक यात्रामा आइन्स्टाइनको सिद्धान्त

14
Shares

विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त (थ्यौरी अफ् रिलेटिभिटी) आजभन्दा पाँच हजार वर्षअघि महाभारतकालमै लागू भएको थियो भन्दा अचम्म लाग्न सक्छ ।

त्यतिखेरको एक घटनामा यस्तो वर्णन पाइन्छ । एकदिन कृष्ण साथीहरूसँग वनमा गाईं चराउँदै खेलिरहेका थिए । त्यसबेला ब्रह्माले माया रचेर कृष्णका साथीहरूसहित सारा गाईं अपहरण गरे । ब्रह्माले तिनीहरूलाई ब्रह्मलोक पु¥याएर योगनिद्राको अवस्थामा राखे ।

यता कृष्णले ब्रह्माको कर्तुत चाल थाहा पाए । त्यसपछि अरूलाई देखाउनका लागि भए पनि कृष्णले ब्रह्माद्वारा अपहरण गरिएका सबै साथीभाइ र गार्इंको नक्कली रूप धारण गरे । सबै जस्ताको तस्तै भएकाले अपहरण भएको कुरा कसैलाई पत्तै भएन ।
उता अपहरणमा परेका कृष्णका साथीहरूका लागि ब्रह्मलोकको यो भ्रमण र पृथ्वीमा फर्किंदाको अवधि एक दिनमात्र बितेको थियो । यहाँ पृथ्वीमा भने पूरा एक वर्ष बितेको थियो । यो कुरा पुराणहरूमा कृष्णचरित्रको वर्णनमा उल्लेख छ । तर, ब्रह्माको एकदिन पृथ्वीवासीका लागि एक वर्ष कसरी भयो ?

यस कथामा विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त (थ्योरी अफ् रिलेटिभिटी) लागू भएको छ । आइन्स्टाइनका अनुसार कुनै पनि वस्तुको गति तीव्र हुन्छ भने अन्य स्थिर वस्तुको तुलनामा त्यस वस्तुमा कम समय बित्ने हुन्छ । यसैले तीव्र गतिमा ब्रह्मलोक लगिएका कृष्णका गाईं एवं साथीहरूका लागि एक दिनमात्र समय बितेको महसुस भयो भने स्थिररूपमा रहेका पृथ्वीवासीका लागि एक वर्ष समय बित्यो ।

यसैअनुसार कुनै वस्तुको गति प्रकाशको गति बराबर भएको खण्डमा त्यस वस्तुका लागि समय रोकिन्छ । मानौँ, बिहान सात बजे सूर्यबाट एउटा रकेट प्रकाशको गतिकै वेगमा पृथ्वीतिर पठाऔँ । प्रकाशको गतिसँगै उड्ने हुँदा त्यस रकेटमा जतिखेर पनि बिहानको सात बज्ने हुन्छ । सो रकेट सूर्यको प्रकाशसँगै पृथ्वीमा आइपुग्दा पृथ्वीमा पनि बिहानको सात नै बजेको हुन्छ । किनकि प्रकाशको गतिसँगै उड्दा त्यसमा समय रोकिन्छ ।

त्यसैगरी कुनै वस्तुको गति प्रकाशको गतिभन्दा बढी भएको खण्डमा त्यस वस्तुका लागि समय पछाडि धकेलिन्छ । उदाहरणका लागि अहिले सन् २०२४ चलिरहेको छ । यदि पृथ्वीभन्दा ८० प्रकाशवर्ष (लाइट इयर) टाढा दूरीबाट शक्तिशाली टेलिस्कोपले पृथ्वीतिर हेर्ने हो भने यहाँ अहिले दोस्रो विश्वयुद्ध भइरहेको हुन्छ ।

यसबाट उच्च गतिमा रहेको वस्तुको समय अरू वस्तुको तुलनामा कम गुज्रिने कुरा स्पष्ट हुन्छ । आइन्स्टाइनद्वारा प्रतिपादित भनिएको सापेक्षतावादको सिद्धान्त (थ्योरी अफ् रिलेटिभिटी) हाम्रा धार्मिक ग्रन्थमा उल्लिखित कथामा लागू भएको रहेछ भन्ने कुरा यसबाट प्रष्ट हुन्छ, खालि व्याख्या र विश्लेषण नभएको मात्र हो ।
बाबुभन्दा छोरी बुढी:

आइन्स्टाइनको यही सापेक्षतावादको सिद्धान्तलाई आधार मानेर चलचित्र पनि बनेको छ । सन् २०१४ मा रिलिज भएको हलिउड फिल्म इन्टरस्टेलरमा यो कुरा दर्शाइएको छ । यस चलचित्रमा कुपर नामका एक व्यक्ति ४१ वर्षका हुन्छन् । उनकी छोरी मर्फ १० वर्षकी हुन्छिन् । बाबु कुपरले अन्तरिक्षयात्रामा जानुअगाडि छोरी मर्फलाई भन्छन्, ‘म अन्तरिक्ष यात्राबाट पृथ्वीमा फर्केर आउँदा तिमी र म शायद एउटै उमेरका हुनेछौँ ।’

यात्रामा केही समस्या भएकाले कुपर निर्धारित समयमा पृथ्वीमा फर्किन असमर्थ हुन्छन् । उनको ढिलाइ हुँदा पृथ्वीमा धेरै समय बितिसक्छ । त्यसैले छोरी मर्फको उमेर ९१ वर्षको भइसकेको हुन्छ । सोही समयमा अन्तरिक्ष यात्राबाट पृथ्वीमा फर्किएका कुपरको उमेर मात्र ४७ वर्षको हुन्छ । बाबुभन्दा छोरी बुढी भइसकेकी हुन्छिन् ।

यसरी आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त फिल्ममा समेत दर्शाइएको छ । द्वापर युगको अन्त्यमा पनि अपहरणमा परेका कृष्णका साथीहरूमा यो सिद्धान्त लागू भएको माथि उल्लेख गरियो । पृथ्वीवासीको एक वर्ष ब्रह्माका लागि एक दिन हुन्छ भन्ने कुरा पनि यसबाट प्रमाणित हुन्छ ।