रासस र चाइना मिडिया ग्रुपबीच सहकार्यबारे छलफल

140
Shares

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) र चाइना मिडिया ग्रुप (सिएमजी)बीच प्रविधि हस्तान्तरण, तालिम प्रशिक्षण र अनुभव आदनप्रदानमा सहकार्य गर्नेबारे छलफल भएको छ ।

नेपाल भ्रमणमा रहेको चाइना मिडिया ग्रुपका एसिया–प्रशान्त निर्देशक छाओ यी नेतृत्वको टोली र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाबीच बुधबार राससको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा यस विषयमा सहकार्य गर्दै अघि बढ्ने समझदारी बनेको हो । उनीहरुबीच दुई देशबीचका समाचार संस्थाबीच तालिम आदनप्रदान तथा कार्यक्रममा सहभागी भएर सम्बन्धलाई बलियो बनाउने बारेमा पनि विचारविमर्श भएको थियो ।

सो अवसरमा कार्यकारी अध्यक्ष झाले दुई मुलुकका समाचार संस्थाबीच सहकार्य गर्नेबारे महत्वपूर्ण छलफल भएको जानकारी दिँदै यसबाट नेपाल र चीनबीच जनस्तरको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरे । ६ दशक लामो इतिहास बोकेको मुलुकको एक मात्र समाचार समिति रासस र चाइना मिडिया ग्रुपबीचको सहकार्यले समाचार सेवा आदनप्रदान मात्र नभइ दुई मुलुकको जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउन मद्दत पुग्ने उनको विश्वास छ ।

“समाचार सहकार्यको सम्बन्ध सधैँ कायम रहिरहनुपर्छ, हामी निरन्तर सहकार्यको पक्षमा छौँ”, कार्यकारी अध्यक्ष झाले भने, “एक वर्षअघि चीनको ग्वान्जाओमा भएको ‘वल्र्ड मिडिया समिट’ मा म सहभागी भएको थिएँ, हालै राससका प्रधानसम्पादक उत्तम सिल्वालले चीन सरकारको निमन्त्रणामा त्यहाँको भ्रमण गर्नुभएको थियो, भ्रमण आदानप्रदानले एकअर्कालाई, चिन्न, समस्या बुझ्न र समाधान पहिल्याउनका साथै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ गर्न वातावरण निर्माण गर्नेछ ।” दुई देशका पत्रकारबीचको सम्बन्ध जति बढी सुदृढ र घनिष्ट हुन्छ, जनस्तरको सम्बन्ध पनि त्यत्तिनै कसिलो हुन्छ भन्दै कार्यकारी अध्यक्ष झाले दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरका सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउन जरुरी भएको उल्लेख गरे ।

द्विपक्षीय भ्रमण आदनप्रदानलाई आगामी दिनमा निरन्तरता दिई सहकार्यको सम्भावना खोज्नुपर्ने उनको भनाइ थियो । चाइना मिडिया ग्रुपका एसिया–प्रशान्त निर्देशक छाओ यीले दुई मुलुकका समाचार संस्थाबीच प्रविधि हस्तान्तरण, तालिम आदनप्रदान जस्ता कार्यमा सहकार्य गर्न सकिने बताए । उनले समाचार सेवा आदनप्रदानका साथै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहकार्य गर्न सकिने धारणा राखे ।

उनले दुई संस्थाहरुबीच सहकार्यको सम्झौता गरेर अगाडि बढ्न मिडिया ग्रुपले प्रयत्न गर्ने विश्वास व्यक्त गरे । निर्देशक यीले सांस्कृतिक सम्पदा र अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण काठमाडौँ बसाइँ र यहाँका जनताको आतिथ्यताबाट आफू प्रफूल्लित भएको बताए । निर्देशक यीले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको बेइजिङमा सम्पन्न तेस्रो पूर्ण बैठकले विश्व सम्बन्ध खुला र विस्तार गर्ने तथा आधुनिक विकासमा सहकार्य गर्ने निर्णय गरेबमोजिम मिडिया ग्रुपले सम्बद्ध मुलुकबीच सहयोग आदनप्रदानका साथै एकअर्काबाट पाठ सिकेर अगाडि बढ्ने रणनीति लिएको स्पष्ट पारे ।

हङ्कङमा मुख्यालय रहेको चाइना मिडिया ग्रुपका एसिया–प्रसान्त निर्देशक यीले एयिसा–प्रसान्त क्षेत्रका ४१ मुलुकसँग सहकार्य अघि बढाउने जिम्मेवारी पाएका छन् । चाइना मिडिया ग्रुप ६ वर्षअघि चीनका विभिन्न सञ्चार माध्यम गाभिएर बनेको समाचार संस्था हो ।