र्‍यापर एमिनेम : जसको २ सय २० मिलियन बढी रेकर्ड बिक्री भयो


अमेरिकी र्‍यापर एमिनेम संसारको सर्वाधिक एलबम बिक्री हुने र्‍यापरमा पर्छन्। उनको वास्तविक नाम मार्सल ब्रुस म्याथर्स हो। सन् १९७२ मा अमेरिकी राज्य मिजौरीमा जन्मिएका उनी किङ अफ हिपहपको उपनमाले पनि चिनिन्छन्। ७० को दशकमा अफ्रिकी अमेरिकीले न्यूयोर्कबाट हिपहपको शुरुवात गरेका थिए।

जसका कारण संगीतको र्‍याप विधामा अश्वेत र्‍यापरको वर्चस्व थियो। एमिनेम त्यस्ता व्यक्ति हुन्, जसले यो विधामा अश्वेतको वर्चस्व तोडे र यो विधालाई संगीतको मूलधारमा चिनाए। अफ्रिकन अमेरिकनहरूले र्‍यापको माध्यमबाट आफूहरूमाथि गोराहरूबाट भएको दमन र विभेदबारेमा बोल्थे भने एमिनेमले निम्नमध्य वर्गका गोराकोे आवाजको प्रतिनिधित्व गरे। उनी आफ्ना गीत संगीतका कारण चर्चा र विवादमा आउने गर्छन्।

-एमिनेमको बाल्यकाल निकै संघर्षपूर्ण रह्यो। एमिनेम शिशु अवस्थामै रहँदा उनका पिताले उनी र उनकी आमलाई त्यागे। बाल्यकालमा एमिनेमसँग स्थायी घर थिएन। उनकी आमाको अस्थिर जागिरका कारण उनीहरू एक ठाउँबाट अर्को ठाउँमा सरिरहन्थे। उनीहरू मुस्किलले एउटा घरमा एक वर्ष बस्थे। उनले वर्षमा ३ वटासम्म स्कुल परिवर्तन गर्नुपरेको थियो।

-उनी १४ वर्षका हुँदा नै स्थानीय कार्यक्रममा गाउने गर्थे। कक्षा नौमा तीन पटकसम्म फेल भएपछि एमिनेमले १७ वर्षको उमेरमा पढाइ छाडेका थिए।

-पढाइमा कमजोर उनी अंग्रेजी भाषामा भने अब्बल थिए। उनी राति घन्टौंसम्म डिक्सनरी पढ्ने गर्थे। ताकी र्‍याप गाउँदा आफूलाई शब्दहरू छिटोछिटो आऊन् ।

-उनका कान ठूला भएकाले सानामा उनका आफन्तले मिक्की भनेर बोलाउने गर्थे। उनी स्पाइडरम्यानका फ्यान हुन्।

-एमिनेमलाई स्कुलमा साथीहरूले बुलिङ गर्थे। एकपटक जब उनी नौ वर्षका थिए, उनलाई साथीहरूले यति नराम्रोसँग कुटपिट गरे । जसका कारण उनले एक हप्ताभन्दा बढी कोमामा बिताए। त्यसपछि उनले मस्तिष्क क्षति र स्मरण शक्ति गुमाउने एम्नेसिया रोगसँग संघर्ष गर्नुप¥यो।

-रिहानासँगको सहकार्यमा लभ द वे यू लाईको भिडियोले ठूलो सफलता प्राप्त गरेको थियो।

-उनी सन् २००२ मा रिलिज भएको फिल्म एट माइलको मुख्य भूमिकामा थिए। त्यो फिल्मले अलग पहिचानका लागि संघर्ष गरिरहेको युवाको कथा भन्छ।

-संसारभर उनका दुई २० मिलियनभन्दा बढी रेकर्ड बिक्री भइसकेका छन्। उनको रिकभरी एलबम आठ मिलियनभन्दा बढी बिक्री भएको छ।

-एमिनेमको मृत्युबारे विभिन्न अफवाह फैलिएका थिए। चारपटक उनी दुर्घटनामा परेर मृत्यु भएको र एकपटक अत्यधिक लागुऔषध सेवन गरेर मृत्यू भएको अफवाह फैलिएको थियो।

-एमिनेम र उनकी आमाको सम्बन्धमा बेलाबेला आँधीहुरी आउने गर्दथ्यो। उनकी आमाले सन् १९९९ मा अँएको पहिलो एलबम द स्लिम स्याडी एलपीमा समावेश गीतमा आफ्नो चरित्र हत्या गरेको भन्दै मानहानीको मुद्दा हालेकी थिइन्।