३१ युट्युब काउन्सिलको कारबाहीमा


काठमाडौं ।

प्रेस काउन्सिल नेपालले पछिल्ला १५ दिनमा पत्रकार आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युबलगायत सामाजिक सञ्जाललाई कारबाही गरेको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले सञ्चारमाध्यमका रूपमा दर्ता÷सूचीकरण भएका वा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको हो।

मिडियाअन्तर्गत सूचीकृत भएका यस्ता ३ वटा माध्यमलाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न, सामग्री स्थगन गरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ । हेल्लोटिभी टिभी नेपाल फेसबुक पेज, पीएनपी मिडिया र नागरिकपत्र युट्युब च्यानल यस्तो कारबाहीमा परेका हुन्।

काउन्सिलले हिंसा, आतंकलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई भ्रमपूर्ण, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने माध्यममाथि कारबाही अघि बढाएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, मिडियासम्बन्धित नभएका तर मिडियाकै शैलीमा अश्लील सामग्री सम्प्रेषण गर्ने २८ वटा युट्युब च्यालनलाई त्यस्ता सामग्री तत्काल हटाउन तथा थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरिएको काउन्सिलले जनाएको छ । गत आर्थिक वर्षमा काउन्सिलले यस्ता ४३ वटा विभिन्न माध्यमलाई कारबाही गरेको छ ।

‘प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको समेत विशेष अनुगमन गरिरहेको छ’ –काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैबीच काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबको नियमनका लागि छुट्टै मापदण्डअनुसार कारबाही गरिएको बताउनुभएको छ।

‘डिजिटल प्लेटफर्मका कुनै पनि माध्यमबाट आधारहीन, एकपक्षीय, भ्रामक र पूर्वाग्रही सामग्री दिन मिल्दैन। केही समयदेखि हामीले त्यस्ता माध्यमबाट प्रसारित मिथ्या सामग्रीलाई सच्याउन, सम्पादन गर्न र आवश्यकताअनुसार अन्य कारबाही थालेका हौं’, उहाँले भन्नुभयो– ‘युट्युब माध्यमलाई नियमन र कारबाही गर्न बेग्लै मापदण्ड जारी गरेका छौं। सञ्जाललाई दुरुपयोग होइन, सदुपयोग गर्न र सञ्चार क्षेत्रको प्रवद्र्धनका लागि जुट्न हामी सबै केन्द्रित हुनुपर्छ । पत्रकारिताको रचनात्मक प्रयोगका लागिसमेत यो जरुरी छ।’