भारतको केरलामा भीषण पहिरो, ९३ जनाको मृत्यु


काठमाडौँ।

दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ९३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पहिरोमा दर्जनौँ मानिस फसेकोआशङ्का गरिएको छ।

केरलाको वायनाड जिल्लाका विभिन्न स्थानमा मङ्गलवार सबेरै पहिरो गएको थियो।

प्रभावित स्थानमा खोज तथा उद्धार अभियान चलिरहेको बीबीसीली जनाएको छ। । तर ठूलो वर्षा तथा एउटा महत्त्वपूर्ण पुल भत्किएका कारण उद्धारकार्य प्रभावित भएको बताइएको छ।

केरलाका मन्त्री एके शशीन्द्रनले क्षतिको विविरण आउन अझै केही समय लाग्ने बताएका छन्।

केरलाकी स्वास्थ्यमन्त्री वीणा जर्जले स्थानीय अस्पतालहरूमा कम्तीमा ७० जना घाइतेलाई लगिएको बताएकी छन्।अहिलेसम्म १०० जनाजतिको उद्धार भएको छ।
वायनाडमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने छिमेकी मलपुरम जिल्लामा चलियार नदीमा बगेका नौवटा शव फेला परेका थिए।वायनाड र छिमेकी जिल्लामा उच्च सतर्कता कायम गरिएको छ।

चौधमध्ये १० जिल्लामा शैक्षिक संस्थाहरू बन्द भएका छन्।

वायनाड पश्चिम घाट पर्वतशृङ्खलामा पर्ने पहाडी जिल्ला हो। उक्त भेगमा मनसुनमा पहिरो गइरहन्छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत घोषणा गरेका छन्।

यसअघि प्रभावित स्थानबाट करिब १० किलोमिटर टाढा पुथुमालामा सन् २०१९ मा पहिरोका कारण १७ जनाको ज्यान गएको थियो।