पर्यटन विकासको लागि इमान्दार भएर काम गर्न महानगरपालिकालाई आग्रह


ललितपुर।

पाटन पर्यटन विकास संस्थाले ललितपुरमा घुम्न आउने पर्यटकहरुको बसाई लम्ब्याउने कुरामा ध्यान दिन ललितपुर महानगरपालिका समक्ष आग्रह गरेको छ ।
संस्थाको २९ औं स्थापना दिवसको अवसरमा मंगलबार स्थानीय कनिबहालमा आयोजित एक समारोहमा संस्थाका अध्यक्ष दिलेन्द्रराज श्रेष्ठ र उपाध्यक्ष कृष्णलाल महर्जनले महानगरपालिकाका मेयर समक्ष सो आग्रह गरेका हुन्।

संस्थाका अध्यक्ष श्रेष्ठले महानगरपालिकाले पर्यटन विकासको लागि गरेको खर्च परिणाममुखी नभएको उल्लेख गर्दै संस्थाको अनु्भव र महानगरपालिकाको स्रोत र साधनलाई मिलाएर लग्नुपर्नेमा पनि जोड दिए।

संस्थाका उपाध्यक्ष कृष्णलाल महर्जनले पाटनमा आउने पर्यटनहरुले मुस्किलले दुई घण्टा बिताउने गरेको जनाउँदै यहाँको सबै सम्भावनाहरु राजधानीको छायाँमा परेको विचार व्यक्त गरे ।‘ ललितपुरमा आउने पर्यटकको संख्या घटिरहेको छ । आउने पर्यटकहरु यसो ‘साइड सिन’ हेरेर फर्किन्छन्।ललितपुरको विकासको लागि महानगरपालिकाले इमान्दार प्रयत्न गरोस्।दिल खोलेर स्रोत र साधन परिचालन गरोस्।’ उपाध्यक्ष महर्जनले भने।

प्रत्युत्तरमा मेयर चिरिबाबु महर्जनले पर्यटन विकासको लागि संस्थासंग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘संस्थाले दिएको सल्लाह, सुझाव भुँईमा नपोख्ने गरी कार्यान्वयन गर्दछौं ।’ मेयर महर्जनले भने।

सो अवसरमा पाटन दरबार क्षेत्रका पहिलो पथप्रदर्शक धर्मरत्न शिल्पकार, पहिलो रेष्टुरा खोल्ने एवं संस्थाका पूर्वअध्यक्ष गुणमुनी शाक्यलाई सम्मान गरिएको थियो।

यस अघि सो समारोहको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेका थिए।

सो अवसरमा ललितपुर क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले ललितपुरको मूर्त र अमूर्त संस्कृति, रोमाञ्चकारी पर्यटन र रैथाने खानालाई प्रवद्र्धन गर्ने गरी आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने बताए।