पृतनापतिलाई प्रधान सेनापतिको सम्बोधन- सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्नु होला


काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शार्माले ‘भर्चुअल’ माध्यम मार्फत पृतनापतिहरूलाई सम्बोधन गरेका छन् ।प्रधान सेनापतिले आफ्नो ४१ वर्ष लामो सैनिक सेवा एवं प्रधान सेनापतिको ३ वर्षे कार्यकालको उत्तरार्धमा पृतनापतिहरूलाई सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा उनले आफ्नो कार्यकालमा नेपाली सेनालाई प्राप्त संविधान प्रदत्त जिम्मेवारीका साथै नेपाल सरकारबाट प्राप्त थप जिम्मेवारी कुशलतापूर्वक वहन गर्न पुर्‍याएको योगदानका लागि पृतनापति लगायत अन्तर्गतका सकलदर्जालाई धन्यवाद दिए । उनले व्यक्ति केन्द्रीत आकस्मिक योजनाहरु भन्दा पनि बस्तुगत अन्तर्क्रिया, तार्किक बहस र विस्तृत पुष्ट्‍याइँ सहितको सामुहिक योजनाहरुले हाम्रो बुझाई साथै गराइमा प्राथमिकता पाउने हुँदा नै नेपाली सेना समस्त नेपाली जनताको आड र भरोसाको धरोहर रहेको तथ्यलाई अवगत गराउँदै सदैव राष्ट्रिय सुरक्षा एवं राष्ट्र हित अनुरूप असरदार रूपमा कार्य गर्न निर्देशन दिए ।

प्रधान सेनापतिले नेपाली सेनाले अनुसरण गर्दै आएको सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै एक भरोसादार एवं प्रभावकारी सङ्गठनको रूपमा स्थापित गराई राख्न भावी नेतृत्वलाई समेत आफूलाई जस्तै साथ सहयोग दिई रहनु हुनेछ भन्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा उनले हाल मनसुनका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोमा सकलदर्जाले पुर्‍याएको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उच्च हौसलाका साथ विपद् प्रतिकार्यमा लागि रहन निर्देशन समेत दिए ।

बलाधिकृत रथी श्री अशोक राज सिग्देल युद्धकार्य विभागका निमित्त विभागीय प्रमुख लगायत रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको आजको कार्यक्रममा पृतनापतिहरूले प्रधान सेनापति समक्ष विद्यमान विपद् प्रतिकार्यमा फौजको परिचालन लगायत समसामयिक विषयमा प्रस्तुतीकरण मार्फत संक्षिप्त जानकारी गराएका थिए ।