सूचना प्रविधिको सही प्रयोग हुन नसक्दा ठगिइन् सांसद


काठमाडौँ। 

 सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने घटना मुलुकमा बढी रहेको छ । खास गरी भाइवर, इमो, ह्वाट्अप, फेसबुक मार्फत ठगी गर्ने गिरोहले सर्वसाधारण जनतालाई ठगी गरेको समाचार बेला बेलामा सार्वजनिक हुने गरेको छ ।

 प्रहरीले त्यसरी ठगी गर्ने गिरोहलाई बेला –बेलामा पक्राउ गरी कारबाही गरेको घटना पनि सार्वजनिक हुने गरेको छ । पछिल्लो पटक यस्तै गिरोहको चंगुलमा संघीय सांसद हसिना खातुन परेकी छन् ।

ह्वासअपमा फोन गरी विदेशबाट सामान आएको र भन्सारमा अड्किएकाले उक्त सामान छुटाउन पैसा चाहिने भन्दै सांसद खातुनसंग १ लाख रुपियाँ  ठगी गरेपछि उनले प्रहरीमा उजुरी गरेकी छन् ।

सांसद नै ठगिएपछि सर्वसाधारण नागरिकलाई गिरोहले सजिलै फसाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका  एक अधिकृतले नेपाल समाचारपत्रलाई बताए ।

ती अधिकृतका अनुसार सांसद खातुनलाई विदेशबाट पार्सल आएको र पार्सल छुटाउन पैसा लाग्ने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति गरिब परिवारका भएकाले सांसदसंग ठगी गरेको पैसा उठाउन सक्ने अवस्था पनि नरहेको ती अधिकृते जानकारी दिए ।

जनता समाजवादी पार्टीकी समानुपातिक सांसद रहेकी  खातुनलाई गठी गर्ने गिरोह पक्राउ गरेको प्रहरीले  उनीहरुबिरुद्ध ठगी मुद्दा चलाउने तयारी गरेको छ ।