पढाइ राम्रो पार्ने केही बानी


विद्यार्थीले आफ्नो पढाइलाई प्रभावकारी बनाउन केही राम्रा बानी बसाल्नुपर्ने हुन्छ, जसले गर्दा थोरै समय पढेर पनि राम्रो परिणाम प्राप्त गर्न सकियोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् : प्रभावकारी अध्ययनका लागि हरेकपटक पढ्न बस्दा केके सिक्ने भन्ने निर्धारण गर्नुपर्छ । कुनै विषय वा पाठ यति समयमा सिकिसक्छु भन्ने लक्ष्य निर्धारण गरेर पढ्ने थालेमा निश्चय नै उपलब्धि हासिल हुन्छ ।

पढ्नकै लागि छुट्टै स्थान व्यवस्था गर्नुहोस्ः पढ्नका लागि ध्यान केन्द्रित गर्न र छोटो समयमा धेरै कुरा सिक्न शान्त र स्वच्छ कुनै एक निश्चित स्थानको व्यवस्था गर्नु प्रभावकारी हुन्छ । नियमितरूपमा एकैठाउँमा बसेर पढ्ने गर्दा त्यस ठाउँमा पुग्नासाथ मस्तिष्क बढी सक्रिय हुने र सहजै ध्यान केन्द्रित हुने हुन्छ ।

समय निर्धारण : पढ्न बस्दा निश्चित समय निर्धारण गर्ने र बिचबिचमा पाँच सात मिनेट विश्राम लिने गर्नुपर्छ । हरेक आधा घन्टा वा ४५ मिनेटमा केही क्षण विश्राम लिने गर्दा मस्तिष्कले थकानको महसुस गर्दैन र स्मरणशक्ति तेजिलो हुन्छ ।

फरक विधिको उपयोग : कुनै पनि पाठ पढ्दा त्यसलाई सारांशमा बुझ्ने, कुनै शब्द, वाक्यांश वा वाक्यमा त्यो पाठलाई संक्षेपीकरण गरेर बुझ्ने प्रयास गर्दा छिटो सिकिने र नबिर्सिने हुन्छ ।

नियमित मूल्याङ्कन गर्ने : आफूले पढेको विषयलाई आफूले कति बुझेको छ वा कति सम्झिएको छ भनेर बेलाबेलामा आफैँले मूल्याङ्कन गर्नुपर्छ । त्यसका लागि पुस्तक नहेरी लेख्ने वा बुझेको कुरा मनमनै पढेर दोहो¥याउने गर्नुपर्छ ।

प्रविधिको प्रयोग गर्नुहोस् : आफ्ना पाठ अझ राम्ररी बुझ्न र फरक ढंगले लेख्ने क्षमता विकास गर्न इन्टरनेटको प्रयोग गरी विभिन्न एप र अनलाइनमार्फत प्राप्त हुने जानकारीको पनि उपयोग गर्नुपर्छ ।

प्रभावकारी समय व्यवस्थापन : विद्यार्थीले आफ्नो पढाइका अलवा विभिन्न क्रियाकलापमा सहभागी हुनुपर्ने र घरका अन्य जिम्मेवारी पनि लिनुपर्ने हुनसक्छ । त्यसकारण आफ्नो अध्ययनका लागि निश्चित समयावधि निर्धारण गरेर अन्य कामको पनि जिम्मेवारी बहन गर्नुपर्छ । अनावश्यक कार्यमा समय व्यतित गर्नु हुन्न, तर खेल्ने र आराम गर्ने समय भने निश्चित गर्नुपर्छ ।

स्वस्थ जीवनशैली अपनाउने : विद्यार्थीले शारीरिक र मानसिकरूपमा स्वस्थ रहन स्वस्थ जीवनशैली अपनाउनुपर्छ, जसले गर्दा आफ्नो अध्ययन प्रभावकारी होस् । खानेकुरामा फलफूल र सागपात एवं हरिया तरकारी, गेडागुडीको मात्रा पर्याप्त हुनुपर्छ । बढी चिया कफी पिउने वा धूमपान, मद्यपान गर्ने बानी गर्नुहुँदैन । स्वस्थ रहन नियमित व्यायाम र सरसफाइमा पनि ध्यान दिनुपर्छ ।

समूहगत अध्ययन : बेलाबेलामा कक्षाका मिल्ने साथी समूह बनाइ सामूहिक अध्यन र मूल्याङ्कन गर्ने गर्दा पढाइमा रहेका आफ्ना कमजोरी सच्याउन, शंका निवारण गर्न र पढाइ, लेखाइका नयाँ विधि सिक्न सहयोग गर्छ ।

पर्याप्त निन्द्रा : धेरै विद्यार्थी निन्द्रा माया मारेर पढ्ने गर्छन् । मस्तिष्कलाई प्रभावकारी बनाउन करिब आठ घन्टा निन्द्रा पुग्ने गरी सुत्न आवश्यक छ । निन्द्रा पुग्नेगरी सुतेमा थोरै समयमा पनि धेरै सिक्न सकिन्छ । जाँचका बेलामा पनि रातभरि पढेर तयारी गर्नुभन्दा पहिलेदेखि नै तयारी अवस्थामा रहेर निन्द्रा पुग्नेगरी सुतेर जाँच दिन जानुचाहिँ प्रभावकारी हुन्छ । राम्रो निन्द्राका लागि मोबाइल, कम्प्युटर वा टेलिभिजनको स्क्रिनमा दिने समय कम गरी ब्यायामका क्रियाकलापलाई समय दिनुपर्छ ।